नेपाललाई फाइदै फाइदा – भारतले बंगलादेशलाई भन्यो, नेपालबाट बिजुली ल्याउन दिन्छौं

नेपाललाई फाइदै फाइदा – भारतले बंगलादेशलाई भन्यो, नेपालबाट बिजुली ल्याउन दिन्छौं

काठमाडौं । भारतले बंगलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको छ । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो ।

बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत रहेको बताएका छन् ।

‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव मोमेनले भनेका छन् ।

Europass CV in Nepal

दुवैतर्फको प्रसारण लाइन निर्माण एकैसाथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिने परराष्ट्र सचिव मोमेनले जानकारी दिएको टीबीएस न्युजले जनाएको छ ।बंगलादेशी पक्षले प्रसारण क्षमता र सञ्जाललाई सुदृढ गर्न दुवै देश मिलेर काम गर्न सक्ने प्रस्ताव गरेको छ । ‘भारतीय पक्षले नेपाल–भारतबाट विद्युत् भारत–बंगलादेश सीमासम्म पुर्याउन सहयोग गर्न सक्छौं भन्यो,’ सचिव मोमेनले भने ।

बैठकमा भारतले बंगलादेशलाई प्रसारण लाइनको क्षमता र नेटवर्क बढाउन आग्रह गरेको छ । प्रसारणलाइनको क्षमता कमजोर रहँदा धेरै लाभ लिन सक्ने अवस्था नरहेको परराष्ट्र सचिवले मोमेनले बताए । प्रसारण क्षमता र नेटवर्कलाई सुदृढ गर्न भारत र बंगलादेश दुवैले मिलेर काम गर्न सक्ने पनि उनले बताए ।

बैठकमा भारत र बंगलादेशबीचको ऊर्जा पाइपलाइनको प्रगति, जसमार्फत बंगलादेशले भारतबाट डिजेल आयात गर्ने र भारतले बंगलादेश हुँदै एक उत्तरी प्रान्तबाट अर्को प्रान्तमा इन्धन पुर्याउने विषयमा पनि छलफल भएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

‘समग्रमा हामीले दुई देशबीचको ऊर्जा र ऊर्जा क्षेत्रमा सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल गरेका छौं, जसले गर्दा हामीले भएका सम्झौतालाई तोकिएकै समयमा कार्यान्वयन गर्न सकियोस्,’ सचिव मोमेनले भनेका छन् ।

 

Europass CV in Nepal