अमेरिकामा अर्को सिग्नेचर बैंक पनि टाट पल्टियो, पराकम्प विश्वभर आउने संकेत

अमेरिकामा अर्को सिग्नेचर बैंक पनि टाट पल्टियो, पराकम्प विश्वभर आउने संकेत

काठमाडौँ । अमेरिकामा सञ्चालनमा रहेको अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ । त्यहाँको नियामक निकायले आइतबार साँझ विज्ञप्ति निकालेर सिग्नेचर बैंक बन्द भएको घोषणा गरेको हो । अमेरिककै ठूला बैंकमध्येको एक सिलिकन भ्याली बन्द भएको २ दिन पछि सिग्नेचर बैंक पनि बन्द भएको घोषणा गरिएको छ ।

अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले आइतबार संयूक्त विज्ञप्ति जारी गर्दै सम्भावित बैंकिङ संकट रोक्नका लागि न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको जानकारी दिएका हुन् । यो बैंक बन्द भएसँगै अमेरिकामा तेस्रो ठूलो बैंकिङ असफलता (दुर्घटना) भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने पनि नियामक निकायहरुले बताएका छन् । क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकमध्ये सिग्नेचर बैंक पनि एक हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ ।

Europass CV in Nepal

यो बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिनाभर ३८ वटा निजी ग्राहक कार्यालय भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो । बैंकको स्थापना सन् २००१ मा स्थापना भएको थियो ।

अमेरिकी बैंक बन्द प्रभाव : सुनको मूल्य दुई दिनमा २३ सयले बढ्यो

सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । साताको पहिलो दुई दिनमा २३ सय रुपैयाँले प्रतितोला मूल्य बढ्दा नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख तीन हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख तीन हजार ५ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य वृद्धि हुनुमा अन्तराष्ट्रिय बजार नै प्रमुख कारण हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार अमेरिकाको सिलिकन भ्याली बैंक डुबेपछि लगानीकर्ताहरु बैंकबाट निक्षेप झिकेर सुनमा लगानी बढाइरहेका छन् ।

एक्कासी सुनको माग बढ्दा मूल्य बढेको अनुमान गरिएको छ । पहेलो धातुमा गरिने लगानी जोखिमका बेला संसारभर मान्य हुने भएकाले वित्तीय प्रणालीमा संकटको अवस्था उत्पन हुँदा तथा ठूलो द्वन्द्वको पूर्वसन्ध्यामा सुनमा लगानी वृद्धि हुने गर्दछ ।