साउदीको मरभूमिमा लण्डनभन्दा १७ गुणा ठूलो अनौठो सहर बन्दै, आफ्नै चन्द्रमा हुनेछ, गाडीहरु आकाशमा उड्नेछन्

साउदीको मरभूमिमा लण्डनभन्दा १७ गुणा ठूलो अनौठो सहर बन्दै, आफ्नै चन्द्रमा हुनेछ, गाडीहरु आकाशमा उड्नेछन्

काठमाडौं। सहरमा घुमिरहेका रोबोट र हावामा उडिरहेका गाडीहरु अब फिल्ममा मात्र देखिने कुरा रहेन । साउदी अरेबियाले यस्तै साइ–फाइ सहर बनाउँदैछ जहाँ रोबोटले मानिसको सुरक्षादेखि लिदएर सेवा समेत गर्नेछन् । कार हावामा उड्नेछन्, कृत्रिम बादलले पानी पार्नेछन् । यो सहरमा कृत्रिम चन्द्रमा पनि हुनेछ जो हरेक रात उदाउनेछ । ५०० अर्ब डलरको लागतमा बन्ने यो सहर लण्डनभन्दा १७ गुणा ठूलो हुनेछ ।

साउदी अरेबियाको ताबुक राज्यमा यो सहर बसाइनेछ । यो सहरको नाम नियोम हो । जुन कम्पनीले यो प्रस्तावित सहरलाई किनेको छ र यसलाई बनाउने जिम्मा लिएको छ त्यो कम्पनीका योजना यति महत्वाकांक्षी छन् कि सहरमा प्रयोग हुने कैयौं प्रविधि अहिलेसम्म अस्तित्वमै छैनन् । बेलायतको अखबार द सनको एक रिपोर्टअनुसार नियोम सहर जोर्डन र मिस्रको सीमा नजिकै हुनेछ । यो सहर अबको ३ वर्षपछि २०२५ सम्म मानिसहरु बस्नको लागि बनेर तयार हुनेछ ।

Europass CV in Nepal

नियोम आफ्नो किसिमको पहिलो सहर हुनेछ जसलाई सौर्य ऊर्जा र वायु ऊर्जाबाट संचालन गरिनेछ । नियोमका अध्यक्ष साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका अनुसार यो सहर ड्रोन फ्रेण्डली र रोबोटिक्सको विकासको लागि एक केन्द्र बनेर उदाउनेछ । सहरको पूर्वयोजनाका दस्तावेजका अनुसार सहरमा उड्ने ट्याक्सी हुनेछन् । यी ट्याक्सी ठिक त्यस्तै हुनेछन् जस्तो ‘ब्लेड रनर’ र ‘ब्याक टु द फ्युचर २’ फिल्ममा देखाइएका थिए । साउदी अरेबियामा वर्षा हुँदैन तर क्लाउड सिडिङ प्रविधिको प्रयोग गरेर नियोममा बादल बनाइनेछन् र वर्षा पनि हुनेछ ।

 

सहरका लागि अरु पनि केही विचित्र प्रस्ताव गरिएका छन् । यहाँ जुरासिक पार्क शैलीमा डयनोसोर रोबोट पनि बनाइनेछ । रोबोट मार्शल आर्ट पनि बनाइनेछ जहाँ रोबोट मनोरञ्जनका लागि एक अर्कासँग लड्नेछन् । साउदी अरेबिया यो महत्वाकांक्षी परियोजनाद्वारा आफ्ना प्रतिद्वन्द्वी खाडी देशहरु युएइ र कतारभन्दा अगाडि जान चाहन्छ । उसले नियोमलाई विश्वका प्रतिभाशाली र सर्वश्रेष्ठ व्यवसायीहरुलाई आकर्षित गरेर प्रमुख वाणिज्य केन्द्र बनाउन चाहन्छ । योजना दस्तावेजमा उल्लेख भएअनुसार रोबोटले यी विदेशी व्यवसायीको घरको काम गर्नेछन् ।

साउदी अरब नियोममा एक कृत्रिम चन्द्रमा पनि बनाउन चाहन्छ जो यो परियोजनामा माइलस्टोन साबित हुन सक्छ । क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हालै आफूले सहरको प्रस्तावित सिल्भर बीच चन्द्रमाको प्रकाशमा जगमगाओस् भन्ने चाहेको बताएका थिए । यद्यपि यो कुन प्रविधिबाट गरिन्छ भन्ने विषयमा अझै प्रस्ट छैन । परियोजनाका निकट सूत्रले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै नियोममा सुरक्षित तरिकाले कृत्रिम चन्द्रमा बनाउने विषयमा इन्जिनियरहरुले अहिलेसम्म कुनै तरिका फेला नपारेको बताएको छ ।

साउदीले रियादमा फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ सम्मेलन २०१७ मा नियोम निर्माणको घोषणा गरेको थियो । कार्यक्रममा बोल्दै रोबोटिक्स फर्म बोस्टन डायनेमिक्सका सीइओ मार्क रोयबर्टले महानगरहरुमा रोबोटलाई सुरक्षाको लागि पनि उपयोग गर्न सकिने बताएका थिए । उनले रोबोटहरुले धेरै काम गर्न सक्ने बताउँदै सुरक्षा, लोजिस्टिक्स, होम डेलिभरी, बुद्ध र कमजोरको हेरचाहका काम रोबोटले गर्न सक्ने बताएका थिए ।

महत्वाकांक्षी महानगर नियोमको निर्माण हजारौं श्रमिकहरुले गरिरहेका छन् । यी श्रमिकहरुलाई कथित रुपमा खराब परिस्थितिमा राखिएको छ । ६ जना श्रमिकलाई सुत्नको लागि केवल १ कोठा दिइएको बताइएको छ । मानवअधिकार कार्यकताृहरुले पश्चिमी देशहरुमा साउदीको खराब मानवअधिकार रेकर्डका कारण यो परियोजनालाई बहिष्कार गर्न आह्वान गरेका छन् । इस्तानबुलमा वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको २०१८ मा हत्या भएपछि मानवअधिकार कार्यकर्ताको यो माग तीब्र भएको छ ।

रिपोर्टका अनुसार नियोम सहर बसाउनको लागि त्यहाँका आदिवासीहरुलाई जबरजस्ती हटाइएको छ । हुवैतेत जनजातिकी एलिया अल्हवेती पनि नियोम परियोजनाका कारण विस्थापित भएकी हुन् । उनले भनिन् ‘यो पूरै विपत्तिको स्थितिजस्तै छ र म निराश छु ।’ एलियाका भाइ अब्दुलरहीम अल हुवैतीले गत वर्ष यही परियोजनाका कारण ज्यान गुमाएका थिए । उनको घर भत्काइँदै गर्दा उनले घर बचाउने निकै कोसिस गरे र अन्ततः मारिए । एलिया अहिले बेलायतमा बस्छिन् । उनले मानवअधिकार हननको विषयमा पश्चिमी देशहरुको आलोचना गर्दै उनीहरुले पनि यो परियोजना रोक्ने कोसिस नगरेको आरोप लगाएकी छिन् ।

साउदीले नियोममा मदिराको अनुमति दिन अस्वीकार गरेको छैन । साउदी जस्तो रुढीवादी मुस्लिम देशको लागि यो कदम ऐतिहासिक हुनेछ । साउदीमा अहिले मदिरामा पूर्ण रुपमा प्रतिबन्ध छ । नियोम साउदीको तेलमा निर्भर अर्थव्यवस्थामा विविधता ल्याउन प्रिन्स सलमानको भिजन २०३० को हिस्सा हो । नियोमको आफ्नो कानुन हुनेछ जसलाई अहिले तयार गरिँदैछ ।

नियोमको टेक र डिजिटल होल्डिङ कम्पनीका सीइओ जोसेफ ब्रेडलीले नयाँ कानुन अनुसार मदिराको अनुमति दिइन्छ वा दिइँदैन भन्ने पुष्टि गरेका छैनन् । तर, उनले विदेशी प्रतिभा र पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकतालाई जो कोहीले बुझेको बताएका छन् । उनका अनुसार एक देखि २ वर्षमा नियोमको कानुनले मन्जुरी पाउनेछ । २०१७ मा क्राउन प्रिन्स बनेपछि प्रिन्स सलमानले धेरै सुधार गरेका छन् । यहाँ महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध हटाइएको छ । प्रिन्स सलमानले धार्मिक हस्तीहरुको शक्तिमा पनि अंकुश लगाएका छन् । डिसीनेपालबाट 

Europass CV in Nepal