मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अन्तराष्ट्रिय

दक्षिण कोरियाको इतिहासमा पहिलोपटक राष्ट्रपति पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गरिएको छ। दक्षिण कोरियाको इतिहासमा पहिलोपटक कुनै राष्ट्रपति पक्राउ परेका हुन्।

भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रूपमा मार्शल ल (सैनिक कानुन) सम्बन्धी प्रकरणमा उनलाई अनुसन्धान गरिरहेका छन्। यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भएको थियो, तर राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल बनाएको थियो। तर, यो पटक दोस्रो प्रयासमा बल प्रयोग गरी पक्राउ गरिएको बीबीसीले जनाएको छ।

गत ३ डिसेम्बरमा राष्ट्रपति योलले देशको सुरक्षा सुनिश्चित गर्न उत्तर कोरियाबाट आउने सम्भावित खतरालाई औंल्याउँदै मार्शल ल घोषणा गरेका थिए। तर, यो कदम आफ्नै पार्टीका नेताहरू र विपक्षी दलको कडा विरोधका कारण ६ घण्टाभित्र फिर्ता लिएका थिए।

यो विवादपछि १४ डिसेम्बरमा संसदले राष्ट्रपति योलविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको थियो। महाअभियोग प्रस्ताव पारित भएपछि उनी पदबाट निलम्बित भएका थिए। हाल यो मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ, जहाँ राष्ट्रपति पदबाट उनलाई हटाउने वा नराख्ने अन्तिम निर्णय हुनेछ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई सोधपुछका लागि तीनपटक उपस्थित हुन भनेको थियो। तर, उनी बारम्बार अनुपस्थित भएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।

पक्राउपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारीलाई गैरकानुनी भनेका छन्। तर, रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको उनले बताएका छन्। यस घटनाले दक्षिण कोरियाको राजनीति र कानूनी प्रणालीमा व्यापक बहस सिर्जना गरेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।