मोदीयुगमा नेपालीभाषीलाई अवसर, यी तीनलाई पद्मश्री

मोदीयुगमा नेपालीभाषीलाई अवसर, यी तीनलाई पद्मश्री

काठमाडौं, २३ कात्तिक । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाली भाषीले महत्वपूर्ण अवसर र सम्मानहरु पाइरहेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीमा नेपाली भाषीहरुको आकर्षण जति बढेको छ त्योसँगै अवसर पनि पाएका छन् ।

भाजपाका महत्वपूर्ण पदहरुमा नेपाली भाषीले अवसर पाउन थालेका छन् । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक संघमा पनि नेपाली भाषी महत्वपूर्ण जिम्मेवारीमा छन् ।

नेपाली भाषीले मोदी युगमा महत्वपूर्ण सम्मानहरु पाउन थालेका छन् । भारतको चौंथो ठूलो पदक मानिएको पद्मश्री पाउने नेपाली भाषी बढ्न थालेका छन् । सन् २०२० र २०२१ को पद्मश्री एकैपटक प्रदान गरिएको छ । जसमा तीनजना नेपाली भाषी परेका छन् । एकजना साहित्यकार र दुईजना खेलाडीले पद्मश्री पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा पद्मश्रीले सम्मान गरेका हुन् । सम्मान पाउनेहरुमा लीलबहादुर क्षेत्री, जीतु राई र तरुणदीप राई छन् ।

Europass CV in Nepal

लीलबहादुर क्षेत्री

क्षेत्रीले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानवापत् पद्मश्री पाए । क्षेत्री नेपाली भाषाका प्रख्यात लेखक हुन् । उनी विभिन्न सामाजिक, शैक्षिक, साहित्यिक र सांस्कृतिक संस्थामा आवद्ध छन् ।

भारतको आसामका स्थायी बासिन्दा क्षेत्री ८८ वर्षका भए । आसामको गुवाहिटीमा जन्मिएका उनले नेपालमा जगदम्बा श्री पुरस्कार पनि प्राप्त गरेका थिए ।
क्षेत्रीको बसाईं उपन्यास चर्चित छ । उनको ब्रम्हपुत्रको छेउछाउ, अतृप्त, दोबाटोलगायत कृति चर्चित छन् ।

जीतु राई

राई संखुवासभामा जन्मिएका हुन् । परिवारका पाँच दाजुभाईमध्ये चौंथा राई गोर्खा सैनिकमा भर्ती भए । त्यसपछि उनी भारतमै बसाईं सरे ।

राईले खेलकुद क्षेत्रमा पुर्याएको योगदानवापत् पद्मश्री पाएका छन् । उनले सन् २०१६ मा खेलरत्न अवार्ड पाइसकेका छन् । १० मिटर र ५० मिटर एयर पेस्तोलका सुटर राईले अन्तर्राष्ट्रिय पदक विजेता पनि हुन् । उनी भारतको गोर्खा सैनिकमा कार्यरत छन् ।

३४ वर्षीय राई भारतीय सैनिकको ११ गोर्खा राइफल्समा सुवेदार मेजर छन् । २०१४ को एशियाली खेलमा उनले एक स्वर्ण र एक रजत जितेका थिए ।

तरुणदीप राई

तरुणदीप राई आर्चरीका ओलम्पिक खेलाडी हुन् । भारतीय सैनिक राईले १९ वर्षकै उमेरमा आर्चरीको अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा भाग लिन थालेका थिए । २०१० को एशियाली खेलमा भारतलाई रजत पदक दिलाएका थिए । सिक्किमको नाम्चीमा जन्मिएका राई ३७ वर्ष भए । उनी अझै खेलमा सक्रिय छन् ।

Europass CV in Nepal