मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

अर्थतन्त्र : नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने गभर्नरको चेतावनी

Himali Patrika 1 मिनेट पढाइ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्यधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् ।

उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए । श्रीलंकाले लिटेसँग लडाई गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको भन्दै गभर्नर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था हुने दाबी गरे ।

उनले भने,‘अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिटेन्स आएको छ । त्यो पैसाले आयात गरेका छौं । त्यो खाँचो छ । उत्पादन छैन । नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौं । आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुप¥यो नी ? त्यो योजना हाम्रो हुनुप¥यो । त्यति गर्न सकेनौँ । त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझै गयो भने हामीलाई भोलि समस्या पर्छ । त्यस कारण हामी सबै सतर्क र सजक रहौं भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौं । जनताले दुःख गरेर ल्याएको सम्पती बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन् ।

त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनु प¥यो । त्यो गरियो भने दैनिक आयात गरेर खानुपर्ने समस्या अन्त्य हुन्छ । तर यस्ता कुरालाई इग्नोर गरौं भने आजको दिन सम्झनुस् । हिजो लिटेसँग लडाई गर्दा पनि नभएको चुनौती अहिले श्रीलंकाली जनतामा भएको छ। त्यो लेभलको समस्या भोगेर बस्नुभएको छ । हामी यो कुरामा साच्चै सतर्क हुन जरुरी छ । मौद्रिक नीति देश र समग्र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने छौं ।’

गभर्नर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताए । मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनुरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले दिएको मार्ग दिएको बताए । उनले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको र अझै बढ्नसक्ने बताए । गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने बताए ।

गभर्नर अधिकारीले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने ल्याउन चुनौतीपूर्ण भएपनि राष्ट्र बैंकले ल्याएर सबैका मागलाई सम्बोधन गरेको बताए । उनले राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने गरेको बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।