दिल्ली । भारतको उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको सोमबार निधन भएको छ । उनी ८३ वर्षका थिए ।
समाजवादी पार्टीले ट्विट गर्दै गुरुग्रामस्थित मेदान्त अस्पतालमा यादवको निधन भएको जनाएको छ । उनलाई अक्टोबर २ देखि उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनको सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । आइतबार अस्पतालले मुलायमसिंह यादवको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको र उनलाई जीवन रक्षाका औषधि दिएको जानकारी गराएको थियो ।
सन् १९३९ नोभेम्बर २२ मा उत्तर प्रदेशको इटावामा उनको जन्म भएको थियो । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उनी ३ पटक मुख्यमन्त्री बनेका थिए । ७ पटक लोकसभा र १० पटक उत्तर प्रदेश विधानसभाको सदस्यको रुपमा यादव निर्वाचित भएका थिए । उनी भारतको पूर्वरक्षामन्त्री समेत हुन् ।