लन्डनमा १६ वर्षदेखि बस कुदाउँदै नेपाली मूलका मेय, मतदाताले सोध्ने गर्छन्– ‘तिमी यो काम पनि गर्छौं ?’

लन्डनमा १६ वर्षदेखि बस कुदाउँदै नेपाली मूलका मेय, मतदाताले सोध्ने गर्छन्– ‘तिमी यो काम पनि गर्छौं ?’

लन्डन । झट्ट हेर्दा विकास, विलासिता र बिन्दास मात्र देखिने लन्डनको कथा वास्तविक जीवनमा अलिक फरक छ । चाहे राजनीतिज्ञ हुन्, चाहे सर्वसाधारण, यहाँ काम नगरी बस्ने विरलै भेटिन्छन् ।

त्यसको एउटा उदाहरण हुन्, लन्डन बरो अफ हाउन्स्लोका ५६ औं मेयर नेपाली मूलका विष्णु गुरुङ । नेपालमा स्थानीय प्रतिनिधि पदमा पुगेपछि सकेसम्म लाभ लिने प्रवृत्ति देखिएभन्दा फरक लाग्छ उनको दैनिकी । ६३ वर्षीय मेयर गुरुङ सोमबारदेखि शुक्रबारसम्म बिहान ४ बजे उठेर १ बजेसम्म बस कुदाउन जान्छन्, अनि आफ्नो ड्युटी सकेर मेयर अफिस पुग्छन् ।

सन् २००५ देखि लन्डनमा बस चलाउन थालेका उनी यसअघि दुई पटक काउन्सिलर र एक पटक डेपुटी मेयर भए । मेयर भएपछि पनि उनले काम भने छाडेका छैनन् । लन्डनमा गुरुङले २६७, २८५, ४९०, एच२८, एच२६, आर७० र आर ६८ रुटका बस चलाउँछन् ।

‘मेरो त ब्रेड एन्ड बटरको जोहो बस चलाउने जागिरबाटै हुन्छ,’ मेयर गुरुङले कान्तिपुरसँग भने, ‘मेयर पद सकिएपछि पनि लन्डनमा त बाँच्नुपर्‍यो । त्यसैले मैले आफ्नो काम कहिल्यै छोडिन् ।’ बेलायतमा सबैले कामको इज्जत र सम्मान गर्ने र भेदभाव नभएकाले पनि आफू बस चालकका रूपमा बढी दत्तचित्त भएको उनको भनाइ छ । ‘अर्को कुरा यसले मलाई जनताको सेवा र भेटघाट गर्ने अवसर दिएको छ । मलाई कामप्रति गर्व छ,’ उनले थपे, ‘कामको दबाब त हुन्छ, तर सबै कुरा इच्छाशक्ति नै रहेछ ।’

‘तिमी यो काम पनि गर्छौ ?’ बस हाँकिरहँदा आफ्नै मतदाताले पनि अचम्म मान्दै सोध्ने गरेका उनको अनुभव छ । बेलायतमा काम गर्दा न कसैले खिसी गर्छन् न विभेद नै । ‘बस चलाउँदैमा मेरो इज्जत घट्दैन । बरु काम नगरी बेनिफिट खानेको के इज्जत ?’ मतदातालाई उनले उल्टै प्रश्न गर्ने गरेको सुनाए ।

आफ्नो काउन्सिलका प्रतिनिधिमध्ये कोही व्यापारी, कोही रेल चालक र कोही इन्जिनियर रहेको पनि उनले सुनाए । मेयर गुरुङले तलबबापत वार्षिक ११ हजार २ सय पाउण्डमात्र पाउँछन् । व्यक्तिगत खर्चका लागि स्पेसल रेट अफ एलाउन्स (१३ हजार पाउन्ड) र काउन्सिलमा हुने कार्यक्रम, मेयर च्यारिटी (सिभिक इभेन्ट) आदिका लागि वार्षिक २५ हजार पाउन्ड थप पाउँछन् ।

‘हामीलाई गाडी सुविधा हुँदैन । अफिस प्रविधिमैत्री भएकाले हातबाटै काम हुन्छ । कोभिड पनि भएकाले ५० प्रतिशत काम त घरैबाट हुन्छ,’ उनले भने, ‘प्रत्यक्ष बैठक र कुनै कागजातमा हस्ताक्षर गर्नु परेमात्र म अफिस जान्छु ।’ बेलायती सेनामा १९ वर्षभन्दा बढी समय बिताएर अवकास लिएका गुरुङले पल्टनमा छँदा मेकानिकल इन्जिनियरका रुपमा काम गरेका थिए ।

सन् १९९५ मा अवकाश लिएपछि उनले हङकङमा करिब एक दशक रोयल इलेक्ट्रिकल एण्ड मेकानिकल 
इन्जिनियर्स इन्सट्रक्टरको काम गरे । सन् २००४ अन्त्यमा बेलायत फर्केपछि उनले गाडी बनाउने काम छाडेर बस हाँक्न सुरु गरे । उनी बेलायतको प्रमुख प्रतिपक्षी दल लेबरबाट काउन्सिलर र मेयर हुने एकमात्र नेपाली मुलका हुन् । सन् २०१२ मा पार्टीको सदस्य भएका उनले दुई वर्षमै सन् २०१४ मा हानवर्थ पार्कको काउन्सिलरमा निर्वाचित भए ।

सन् २०१४ देखि २०१५ सम्म डेपुटी मेयर बने । उनले सन् २०१८ मा फेरि सोही वडाबाट काउन्सिलर जिते । २०२१ को मेमा मेयर बनेका उनको कार्यकयल आगामी मेमा सकिदैछ । तर, तेश्रो पटक काउन्सिलरमा उठ्ने चाहना भने उनले छोडेका छैनन् । सन् २००५ मा हान्स्लो गोर्खा नेपलिज कम्युनिटी स्थापना गरेका उनी एक दशकदेखि आर्मड फोर्सेस च्यारिटी संस्था साफाको नर्थ वेष्ट लन्डन डिभिजन सेक्रेटरीसमेत छन् । कान्तपुरबाट