काठमाडौँ । साउदी अरबले विकाशील देशहरुको समूह ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)मा प्रवेश गर्ने चाहना व्यक्त गरेको छ । साउदी अरब २ दिने भ्रमणपछि दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामफोसाले साउदी राजकुमार मोहम्मद विन सलमानले आफूसँगको भेटमा त्यस्तो चाहना व्यक्त गरेको बताए ।
‘साउदी राजकुमारले साउदी अरब ब्रिक्सको अंग बन्ने चाहना व्यक्त गरेका छन्,’ राष्ट्रपति रामफोसाले भने, ‘ब्रिक्समा संलग्न हुन चाहने साउदी अरबमात्रै होइन अन्य देशले पनि चाहेका छन् ।’ साउदी अरबले अर्को वर्ष ब्रिक्स सम्मेलन आयोजना गर्दै छ । यसअघि अर्जेन्टिनाले पनि ब्रिक्समा सहभागी चाहेको बताएका थिए । चीनले अर्जेन्टिनासहित विभिन्न देशलाई सहभागी गराएर ब्रिक्सलाई विस्तार गर्न चाहन्छ ।
साउदी राजकुमार सलमानले साउदी अरबले ‘ब्रिक्स’को नाममा कुनै परिवर्तन नचाहेको पनि राष्ट्रपति रामफोसले बताए । ‘ब्रिक्सको एसले साउदी अरब र साउथ अफ्रिका दुवैको नाम हुन्छ,’ रामफोसाले भने । अमेरिकासँगको सम्बन्ध चिसिएको समयमा साउदी अरबले विकाशील राष्ट्रहरुको समूहमा प्रवेश गर्न चाहाना सार्वजनिक भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य कम गराउन अमेरिका साउदी अरबले कच्चा तेलको उत्पादन बढाओस् भन्ने चाहन्छ । तर पछिल्लो समय साउदी अरबसहितका पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशको समूह ओपेकसहित अन्य देशहरुले बजारमा मूल्यलाई स्थिर बनाउने भन्दै उत्पादन कटौती गर्ने निर्णय गरेको छ । सो निर्णयपछि रियाद र वासिंगटनबीच वाकयुद्ध सुरु भएको छ । विश्वको १८ ठूलो अर्थतन्त्र भएको साउदी अरब संसारमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश हो ।
सन् २००१ मा गोल्डम्यान स्याक्सका अर्थशास्त्रीले विश्वको उदाउँदो अर्थतन्त्रलाई जनाकारी गराउन ब्रिक (ब्राजिल, रुस, भारत र चीन) को प्रयोग गरेका थिए । २००९ मा ब्रिकको पहिलो सम्मेलन भएको थियो । त्यसको एक वर्षपछि दक्षिण अफ्रिकालाई सो समूहमा संलग्न गराएर ब्रिक्स बनाइएको थियो । ब्रिक्सले विकसित राष्ट्रहरुको समूह ‘जी सेभेन’लाई सन्तुलन राख्ने तयार पारिएको हो । उनीहरुले वैकल्पिक विश्व व्यवस्थाको पक्षमा धारणा राख्दै आएका छन् ।