संविधानको रक्षा र जनताको जीवनस्तर बदल्न मेरो उम्मेदवारी : रेखा शर्मा

संविधानको रक्षा र जनताको जीवनस्तर बदल्न मेरो उम्मेदवारी : रेखा शर्मा

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदैछ । उम्मेदवारहरु चुनावी प्रचारप्रसारको क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच तीब्र प्रतिस्पर्धा हुने धेरैको आँकलन छ ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने दुबै उम्मेदवारले यसअघि पनि सांसद तथा मन्त्रीको रुपमा भूमिका निर्वाह गरिसक्नुभएको छ ।  पोख्रेल लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री समेत हुनुहुन्छ भने शर्मा पूर्वसामान्य प्रशासन मन्त्री हुनुहुन्छ । उनै शर्मासँग चुनावी एजेण्डाको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक

तपाइँको चुुनावी प्रचारप्रसार कस्तो चल्दैछ ?

Europass CV in Nepal

आगामी मंंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेकी छु । अहिले हामी गठबन्धनको साझा चुनावी एजेण्डासहित चुनावी मैदानमा छौं । दैनिकजसो मतदाताको घरदैलोमा पुगिरहेका छौं । भेटघाट र चुनावी सभाहरु भइरहेका छन् । घरदैलो अभियानकै रुपमा चलेको छ । चुनाव प्रचारप्रसारका क्रममा मतदाताका कुरा सुन्ने, हाम्रा एजेण्डा मतदातालाई सुनाउने काम भइरहेको छ । जनताका अपेक्षा, सुझाव र प्रतिवद्धताले उत्साहित बनाएको छ ।

के भन्छन् नि मतदाता ?

चुनावी प्रचारप्रसारको क्रममा उम्मेदवार पुुग्दा मतदाताले आफ्ना समस्या, विकास र अभावका कुरा पोख्ने गर्नुभएको छ । आफ्नो भूगोलका दुुःखसुुखका कुरा छन् । मतदाताले आफ्नो गाउँ ठाउँको विकास खोजिरहनुभएको छ । जनतालाई विकास चाहिएको छ । निर्वाचनको सरगर्मी बढेसँगै मतदाताहरु उत्साहित पनि देखिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं. २ मा तीन स्थानीय तहका २७ वटा वडा छन् ।

म २७ वटै वडामा पुगिसकेकी छु । एक चरणको भेटघाट सकिइसकेको छ । भेटघाटका क्रममा मैले सोचे अनुुरुपकै प्रतिक्रिया मतदाताबाट पाएको छु । मतदाताहरुमा वैचारिक आस्था विचार रहन्छ । भेटघाटका क्रममा मतदाताहरुले संविधानको रक्षा, अग्रगमन र जनताको भावना र मर्म बुझ्नेलाई मत दिन्छौं भन्ने खालका भावना प्रष्ट रुपमा देखिएको छ ।

तपाइँका चुनावी एजेण्डा के–कस्ता छन् ? निर्वाचनका बेला गरिएका प्रतिबद्धता निर्वाचनपछि पूरा हुन्छन् भनेर विश्वास गर्ने आधार के हो ?

हाम्रो पहिलो एजेण्डा नै संविधानको रक्षा हो । हामीले लामो राजनीतिक संघर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिगमनकारीका कारण खतरामा परेको सबैलाई थाहा छ । नेपाली जनताले गरेको लामो राजनीतिक संघर्ष, त्याग तपस्या र बलिदानको जगमा संविधानसभामार्फत नेपालको संविधान प्राप्त भएको हो ।

संविधान जारी भएपश्चातको पहिलो निर्वाचनमा नेपाली बामपन्थी राजनीतिक शक्तिलाई बलियो जनमत प्राप्त भएको पनि थियो तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत दुई दुईपटक गैरसंवैधानिक ढंगले संसद विघटन गरेर अघिल्लो निर्वाचनका बेला जनताले दिएको दुई तिहाई नजिकको जनमतको अपमान मात्र गरेनन् प्रतिगामीहरुसँगको साँठगाँठ बढाएर मुलुकलाई पछाडि फर्काउने दुष्प्रयास गरे ।

यही पृष्ठभूमिमा संविधानको रक्षार्थ अग्रगमन पक्षधरहरुको गठबन्धन बन्न पुग्यो । अब राजनीतिकरुपमा पछाडि फर्कन खोज्नेहरुलाई परास्त गरी मुलुकमा समृद्धिको नयाँ यात्रा तय गर्ने हो । यो कुरा सामान्यरुपमा सबै जनताले बुझिसकेका छन् । त्यस्तै अहिले जनताको जीवनस्तरसँग जोडिएका एजेण्डाहरु हाम्रा प्राथमिकतामा छन् । नागरिकहरुको जीवनस्तर सहज बनाउने र बदल्ने गरी काम गर्ने हाम्रा योजना छन् । बस्ती–बस्तीमा खानेपानी, सिंचाई, बाटो, नाला, विद्युत, पोललगायत विकास निर्माणको अभावको समस्या छन् । हेर्दा सामान्य देखिए पनि त्यसको प्रभाव निकै गहिरो र गम्भीर बनिरहेको छ ।

हामीले गर्न सक्ने काम जो जनताको दैनिकीसँग जोडिएको छ, त्यो काम गर्ने बोलिरहेका छौं । यहाँ किसानको खेतमा सिंचाईका लागि पानी छैन । समयमा मल बिउ छैन, स्वास्थ्य, शिक्षा र सुरक्षामा उस्तै समस्या छन् । यी सबै हल गर्ने योजनासहित हामी अघि बढेका छौं । जनताको दैनिक जनजीविका कसरी सुधार गर्न सकिन्छ त्यो कुरालाई हामीले प्रधान मानेका छौं ।

त्यस्तै अलपत्र परेको सडक पूर्वाधार निर्माण तत्काल सुचारु गर्ने, लमही–तुुलसीपुर फोरलेन कम्तिमा दुई वर्षमा पूरा गर्ने, माडी डाइभर्सनका कुरा हाम्रा योजनाभित्र छन् । कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै दाङलाई आर्थिक रुपमा सबल बनाउने दीर्घकालीन योजना छन् ।

तपाइँको निर्वाचन जित्ने आधार चाहिँ के हो ?

निर्वाचनको मत परिणाम कहाँ पर्छ भन्ने गणितीय हिसाव किताब गरेर अहिले ठ्याक्कै भन्न सकिदैन । मतभारका हिसावले हाम्रो गठबन्धन नै प्रतिस्पर्धीभन्दा अघि देखिन्छ । मतदाताहरुको लहरका हिसाबले हेर्दा हामीले जित्छौं, यसमा कुनै शंका छैन । एजेण्डाका हिसाबले पनि हामीले जितेका छौं । मतदाताहरुले बुुझेको कुरा के छ भने संविधान रक्षाका लागि गठबन्धनको जन्म भएको हो । अधिकार नै गुम्ने खतरामा परेपछि जनता सजग भएको देखिन्छ । हाम्रा एजेण्डा, क्षमता, प्रतिबद्धता र जनताप्रतिको समर्पण नै हामीले निर्वाचन जित्ने आधार हुन् ।

तपाइँ नेकपा एमालेका महासचिवसँग चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ । ‘हेभिवेट’ का कुरा पनि सुनिन्छ । तपाइँ महिला पनि हुनुुहुन्छ । महिला भएको हिसाबले पनि सजिलो असजिलो कस्तो अनुभव भइरहेको छ ?

हेभिवेट कसलाई भन्ने ? चुुनाव लड्ने एजेण्डाले हो, पदले होइन । यो कुरा आम मतदाताले बुझ्नुभएको छ । हामीले लिएका एजेण्डा जनताको पक्षमा छन् । राष्ट्रियताको पक्षमा छन् । समृद्धि र विकासका पक्षमा छन् । पदले निर्वाचन जित्ने भए यसअघि पनि कैयौ पटक मन्त्री भएका व्यक्तिले पनि निर्वाचनमा पराजय भोग्नुपरेको छ ।

मेरो प्रतिस्पर्धी स्वयं तत्कालीन समयमा दाङ क्षेन नं. ३ बाट निर्वाचनमा पराजय हुनुभएको हो । त्यतिबेला पनि पदका हिसावले उहाँ उच्च स्थानमा हुनुहुुन्थ्यो तर एजेण्डाका हिसावले हामी नै अहिले अग्रस्थानमा छौं । पार्टीभित्रको ठूलो पदका कारणले निर्वाचन जित्न सकिन्छ भन्ने भ्रम मात्रै हो । अब कुरा रह्यो महिलाको, आज म जहाँ छु त्यो हामीले गरेको संघर्षमार्फत प्राप्त भएको अधिकारले दिएको हो ।

म उम्मेदवारका रुपमा रहँदै गर्दा दाङवासी महिला दिदी बहिनीहरु निकै उत्साहित बन्नुभएको छ । हिजो जनयुद्ध र जनआन्दोलनमा महिलाहरुले बन्दुक र झोला मात्रै बोकेनन् बन्दुक र झोलासँगै बच्चासमेत बोकेर हिडेका हुन् । पारिवारिक, सामाजिक दायित्व सँगसँगै निर्वाह गर्दै कठिन राजनीतिक संघर्षमा होमिएर जित्ने ल्याकत हामीसँग छ भनेर हामीले पुष्टि गरिसकेको कुरा हो । महिला भएको हिसाबले मेरो क्षमतामा प्रश्न उठाउने ठाउँ छैन ।

हिजो संविधानसभाका बेला, सदनभित्र र सरकारमा रहँदा पनि मैले न्याय, समानता र विकास समृद्धिका एजेण्डामा दरिलो अडान लिएर काम गरेकी छु । आज पनि आम महिलाले सामना गरिरहेका समस्याहरु मलाई गहिरोसँग अनुभूति छ र ती समस्या हल गर्ने दरिलो आँट पनि मसँग छ । महिला उम्मेदवार हुनुको नाताले मैले यो देशको बहुमत जनसंख्यामा रहेका महिलाको भावनाको समेत ठीकढंगले प्रतिनिधित्व गर्न सक्छु भन्ने लाग्छ । आम महिला मतदाताले यो कुरा राम्रोसँग बुझ्नु भएको छ र मलाई साथ दिनुहुन्छ भन्नेमा मलाई विश्वास छ ।

मतदाताहरुलाई थप केही भन्नुु छ कि ?

म के भन्छु भने हामीले राजनीतिक आन्दोलन २००७ सालदेखि गर्दै आइरहेका छौं । जब मुलुकले राजनीतिकरुपमा स्थायित्व पाउँछ तब मात्रै समृद्धिको यात्रा अगाडि बढाउन सकिन्छ । हामीले अब मुलुकलाई समृद्धितर्फ लैजानुुपर्नेछ । जनतादेखि गाउँ, बस्ती सबैका मुहार फेर्नु छ । यो निर्वाचन व्यक्ति चुनिने निर्वाचन मात्र होइन । राजनीतिक उपलब्धिको रक्षा र जनताको जीवनस्तर बदल्दै मुलुकलाई अग्रगमनमा लैजान पनि हामीलाई मत दिनु हुन अनुरोध गर्छु । यो क्षेत्रको विकास, समृद्धि, प्राप्त अधिकारको रक्षाका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने मेरो प्रतिबद्धता छ ।

Europass CV in Nepal