मुस्ताङमा नेपाली कांग्रेसले निकाल्यो विजयी जुलुस, भक्तपुर २ मा कांग्रेस ४३२ मतले अगाडी

मुस्ताङमा नेपाली कांग्रेसले निकाल्यो विजयी जुलुस, भक्तपुर २ मा कांग्रेस ४३२ मतले अगाडी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसले मुस्ताङमा विजयी जुलुस निकालेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली सोमबार निर्वाचित भएका हुन्।देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये मुस्ताङबाट पहिलो मतपरिणाम आएको हो । २९ वर्षीय गौचनले एमालेका पूर्वसांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

सार्वजनिक मत परिणाम अनुसार गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । नवनिर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रोमी गौचन थकालीका छोरा हुन् ।

२०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका छन् ।

Europass CV in Nepal

२०७४ मा मुस्ताङमा तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक योगेश कांग्रेस र माओवादी केन्द्र लगायत गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए ।

काठमाडौं-४ मा गगन थापालाई झिनो अग्रता
काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाए

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाएका छन् । पछिल्लो परिणामअनुसार थापाले ४ हजार ११२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भने ३ हजार ६८० मत पाएका छन् । बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।