चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका छन् ।
लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठको ५ हजार ९३५ मत आएको छ ।
लामिछानेले प्रतिस्पर्धी दुई उम्मेद्वारले ल्याएको कुल मतभन्दा पनि धेरै मत ल्याएका छन् । चितवन–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन् । ढकालले १४ हजार २९९ मत ल्याउँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ र एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत ल्याएका छन् । चितवन–३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा छन् ।
चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे १० हजार ६३२ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालको ६ हजार ६७२ र सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा.भोजराज अधिकारीको ६ हजार ५०३ मत आएको छ । एमालेले समर्थन गरेको कांग्रेसका केन्द्रीय सदस्य रहँदा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरलाको चार हजार ३११ मत आएको छ ।
काठमाडौंमा घण्टी बज्दा एमाले १ सीटमा खुम्चियो, कांग्रेस र स्वतन्त्र पार्टी प्रतिस्पर्धीमा
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १० वटा सीट रहेको राजधानी काठमाडौंका सबै क्षेत्रको मतगणना लगभग सकिँदा ५ सीट जितेर कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह,३ मा सन्तोष चालिसे,४ मा गगन थापा,५ मा प्रदीप पौडेल र १० मा राजेन्द्र केसी विजयी भएका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार रहेका क्षेत्रमध्ये ६ नम्बरमा भीमसेनदास प्रधान मात्र पराजित भएका छन् ।
काठमाडौंमा घण्टीको उदयले सबैभन्दा ठुलो धक्का नेकपा एमालेले व्यहोरेको छ । २०७४ सालको निर्वाचनमा काठमाडौंका १० मध्ये ६ सीटमा जितेको एमाले यस पटक एक सीटमा खुम्चिएको छ ।
काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठबाहेक एमालेका अरू सबै उम्मेदवार पराजित भएका छन् । काठमाडौं १ बाहेक सबै क्षेत्रमा कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेदवारको मुख्य प्रतिस्पर्धी एमाले बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार भने प्रतिस्पर्धामै आउन सकेनन् ।
त्यस्तै पहिलो पटक चुनावी मैदानमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ५ मध्ये ४ सीट जितेर सानदार प्रदर्शन गरेको छ । काठमाडौं २ मा सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले जित निकाल्दा ती सबै क्षेत्रमा मुख्य प्रतिस्पर्धी एमाले बन्यो । यस्तै काठमाडाैं ६ मा शिशिर खनाल जित नजिक पुगेका छन् । केही मत गन्न बाँकी भएपनि प्रतिस्पर्धी भन्दा धेरै अगाडि रहेकाले खनालकाे जित निश्चित छ । काठमाडौंको समानुपातिक मतमा भने घण्टी पहिलो नम्बरमा छ ।