काठमाडौँ। विश्वकै रङ्गमञ्चका रुपमा हेरिदिएको कतार विश्वकप अहिले लाखौं लाख पर्यटकले भरिएका छन्। त्यै लाखौं पर्यटकलाई आकर्षक गर्ने रङ्गशाला निर्माण गर्न लाखौं आप्रवासी कामदारहरूले न्यून ज्यालामा पसिना बगाएका छन्। फुटबल हेर्न दोहाको बाहिरी भागमा रहेको क्रिकेट स्टेडियम भित्र सयौँ पुरुषहरू भेला हुन्छन्।
उक्त ठाउँ फुटबल पिचहरू र भलिबल कोर्टहरू सहितको रमाइलो लेआउट हो। त्यहाँ ठूलो स्क्रिनमा फिफा विश्वकप खेलहरु प्रसारण गर्दछ। जव हाफ टाइम हुन्छ तब भारतीय भारतीय साङ्गीतिक कार्यक्रम हुने गर्दछ।
कुरा एसियन टाउनमा अवस्थित “औद्योगिक फ्यान जोन” को हो। जुन अनिवार्य रूपमा आप्रवासीहरूका लागि कतारको मल हो। कतारमा करिब २९ लाख जनसंख्या छ। जसमध्ये अधिकांश कम पारिश्रमिक पाउने आप्रवासी कामदार वा विदेशीहरू छन्। कतारी नागरिकको संख्या ३ लाख ८० हजार मात्र छ। एसियन टाउन “लेबर सिटी” नजिकैको किनमेल र मनोरञ्जन कम्प्लेक्स छन् जो सन् २०१५ मा खोलिएको थिए। राज्यको विश्व कपको लागि महत्वपूर्ण निर्माण परियोजनाहरूलाई सहयोग गर्ने करिब ७० हजार आप्रवासी कामदारहरूलाई समायोजन गर्दछ।
दोहाको यस क्षेत्रमा लाखौं मजदुरहरू बस्छन्। यद्यपि यो विश्वकप खेल सञ्चालन गर्नको लागि उनीहरूको महत्त्वपूर्ण भूमिका निभाएका छन्। कतार सहर दोहाको बीचमा यात्रा गर्ने प्रशंसकहरूले भरिएका धेरै फ्यान जोनहरू आप्रवासी कामदारहरूको लागि सीमाभन्दा बाहिरको विषय बनेको छ। त्यस्ता रमाइला ठाउँमा छिर्नका लागि सरकारले जारी गरेको हाया कार्ड चाहिन्छ जुन म्याचको टिकट किने पश्चात मात्र उपलब्ध हुन्छ।
खेल हेर्नका लागि तयार गरिएका हजारौँको सङ्ख्यामा खाली सिटहरू देखेकोभएता पनि उनीहरूले कतारमा हुने कुनैपनि खेलको टिकट किन्न नसक्ने कामदारहरु बताउँछन्। कतार सरकारले आफ्ना नागरिकहरुका लागि ४० कतारी रियालमा टिकट उपलब्ध गराएको थियो भने विदेशी नागरिकहरूका लागि सामान्य अवस्थामा ८ सय कतारी रियल सम्म तिर्नुपर्ने हुन्छ जुन सामान्य श्रमिकका लागि झन्डै एक महिनाको तलब हो।
कतारको औद्योगिक क्षेत्र अर्थात् इन्डष्ट्रियल एरिया जहाँ भारत, नेपाल, बंगलादेश, फिलिपिन्स, केन्या र युगान्डाका पुरुषहरू एक आपसमा मिलेर सहअस्तित्व स्वीकार गरेर बसेका छन्। उनीहरूले ठुलो स्क्रिनमा खेलको मजा लिंदै आएका छन्। निर्माण कामदारलाई लक्षित गर्दै फिफाले आफ्नो ब्रान्ड संकेत बोर्ड मार्फत लेखेको छ एउटा सन्देश, अंग्रेजी, अरबी र हिन्दीमा लेखिएको छ “सबैभन्दा राम्रो फिफा विश्व कप प्रदान गर्नुभएकोमा तपाईंको योगदानको लागि धन्यवाद।”
‘विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’
मेरो नाम सिर्मिता पासी । घर नेपालगञ्ज उप-महानगरपालिका वडा नं १७ । मेरा श्रीमान् रामसागर पासीको रोजगारीका लागि कतार पुगेका बेला २०७९ जेठ अन्तिम साता ‘हार्ट एट्याक’ भएर मृत्यु भयो ।
बिहान ८ बजेतिर कुरा गर्दा छाती दुखिरहेको छ भन्नुभएको थियो । मैले चेकजाँच गरेर औषधि खानु भनेकी थिएँ । हुन्छ भन्नुभएको थियो । त्यसपछि फोन आएन । एकै पटक १२/१ बजेतिर मृत्यु भयो भन्ने खबर आयो ।
के भएर मृत्यु भयो भन्दा ‘हार्ट अट्याक’ भएर भन्ने खबर आयो । हामीलाई त्यही मात्रै थाहा छ । त्यस बाहेक अरू केही थाहा छैन । मृत्युको खबर आएपछि मैले हारगुहार गरें । गाउँकै नेताहरूको पहलमा १०-१२ दिनपछि शव आयो । काम गर्ने कम्पनीले किरिया खर्चसम्म पनि दिएन ।
किरिया गर्नका लागि पनि ऋण नै खोज्नु पर्यो । इन्स्योरेन्सको १० लाख बल्ल हामीले पायौं । तर त्यो पैसा पनि मैले पाइनँ । श्रीमतीको बिश्वास हुँदैन, स-साना बच्चा छन्, भोलि बच्चा छोडेर अर्काे विवाह गरेर गई भने बच्चाको विचल्ली हुन्छ भनेर आफन्तहरूले बच्चाहरूकै नाममा बैंक खाता खोलेर राखिदिएका छन् ।
मेरा दुई बच्चा छन्, ९ वर्षकी अर्चना र ६ वर्षको अंकित । कच्ची घर बाहेक जग्गा-जमिन छैन । मैले अरूको खेतबारीमा ज्याला–मजदुरी गरेर गुजारा चलाउँदै आएकी छु । घर बनाउने र जग्गा किन्नका लागि पैसा जुटाउन श्रीमान् विदेश जानुभएको थियो ।
मासिक १० प्रतिशत ब्याजमा २ लाख ऋण दिएर जानुभएको थियो । सुरुमा जाँदा २ लाख ३० हजार खर्च लागेको थियो । छुट्टीमा आएर फेरि जाँदा पनि थप १ लाख लागेको थियो । श्रीमान्ले कतारमा ४ वर्ष नै लेबरको रूपमा काम गर्नुभयो । श्रीमान्ले काम गर्ने कम्पनीले कतारमा बिश्वकप फुटबलका लागि खेल खेलाउने ठाउँ बनाउने काम गथ्र्यो ।
नेपालबाट कतार पठाउने नेपालगञ्जमै एजेन्ट भएको लक्की म्यानपाबर कम्पनीले महिनाको १२÷१३ सय कतारी रुपैयाँ तलब हुन्छ भनेको थियो । तर, कतारमा पुगेपछि ६-७ सय मात्रै दियो । झन्डै दुई सालसम्म मासिक ६-७ सयमै काम गर्नुभयो । कमाइ नै कम भएका कारण विदेश जाँदा लिएको ऋण पनि तिर्न सकेनौं । ऋण लिएको २ लाखमा ब्याज माथि ब्याज थपिंदै गएर अहिले त ५-६ लाख पुगिसक्यो होला ।
मैले कत्ति पनि पढेकी छैन । मेरा बुवाआमाहरू धेरै नै गरिब हुनुहुन्छ त्यसैले हामीले पढ्नै पाएनौं । मैले पनि पढ्न पाइनँ । मेरा बच्चाहरूले राम्रोसँग पढ्न पाउन् भन्ने सोचेकी थिएँ ।
श्रीमान् विदेश गएर पैसा कमाएपछि बच्चालाई राम्रोसँग पढाउने, घर बनाउने र खेतीपातीका लागि जग्गा किन्ने सोच थियो । तर कमाउन गएका श्रीमान्को कतारमै मृत्यु भएपछि विदेश जाँदा लिएको ऋणसम्म तिर्न सकेकी छैन । श्रीमान्को मृत्यु भएसँगै सबै चाहना यत्तिकै भए ।
अहिले कतारमा फुटबल भइरहेको छ भन्ने सुनें । रंगशाला बनाउन मेरो श्रीमान्ले रगत–पसिना बगाउनुभयो । एउटा स्वस्थ मान्छे कतारमा काम गर्दागर्दै ‘हार्ट अट्याक’ हुने अवस्थामा पुग्नुभयो । मेरो श्रीमान्को मृत्यु भयो । रंगशाला पनि बन्यो । खेल हेरेर सारा मानिस रमाउँछन् होला तर म र मेरो परिवारका लागि रंगशाला र विश्वकप रमाइलो कुरा रहेन, हामी त रुन्छौं मात्रै ।
गरिब भए पनि आफ्नै देशमा मजदुरी, मिहिनेत गरेको भए हुने, न यति धेरै ऋण लाग्थ्यो न त श्रीमान् नै गुमाउनुपर्थ्यो । मैले श्रीमान्लाई विदेश पठाएर ठूलो गल्ती गरें । बिन्ती छ अरू कसैले पनि श्रीमान्, भाइ, छोरालाई विदेश नपठाउनुहोला । त्यहाँ ठगिने समस्या हुँदोरहेछ । अनि सरकारले पनि विदेशमा काम गर्ने मजदुरहरूको पीडा सुन्दो रहेनछ ।