राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोटप्रति खबरदारी, श्रेणी मिचिएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोटप्रति खबरदारी, श्रेणी मिचिएको आरोप

२२ मंसिर, काठमाडौं । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ताले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले खबरदारी गरेका हुन् ।

बिहीबार धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्द सूची तय गरेको भन्दै त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताए ।

Europass CV in Nepal

‘हामीले ‘डिजिटल डेमोक्रेसी’ भनेर जसरी आकाश थर्किने गरी बोलेका थियौं,’ उनले भने, ‘त्यसैले हामीले खाली ध्यानाकर्षण गराएको हो । बिग्रियो भने त बिग्रियो त । तीन करोड नेपालीको पार्टी हो यो । रोग लाग्नुभन्दा अगाडि नै हामीले हरेक चिजको उपचार गर्नुपर्छ ।’ रास्वपाका कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेको बताएका छन् ।

खस आर्यबाट सबै पुरुष

राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्य समुदायबाट सबै पुरुष पठाउने तयारी गरेको छ । रास्वपाले निर्वाचन आयोगमा पठाएको बन्द सूचीमा पुरुषतर्फ खस आर्य डोलप्रसाद अर्याल, गणेश कार्की र दीपक बोहोरा अगाडि थिए । त्यस्तै महिलातर्फ डा.चन्दा कार्की, निशा डाँगी र चन्द ऐर चाँदनी अगाडि थिए ।

प्रत्यक्षमा खस आर्य समुदायबाट तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएका छन् । रास्वपाले ३३ प्रतिशत पुर्‍याउन क्लस्टरबाट ४ महिला पठाएर खस आर्यमा तीन जना पुरुष मात्रै पठाउन लागेको हो ।

पुरुषबाट अर्याल, कार्की र बोहोरा सांसद बन्ने छन् । रास्वपाबाट समानुपातिक सांसद तय गर्ने जिम्मेवारी पाएका केन्द्रीय सदस्य महेश्वर घिमिरेले पनि खस आर्य समुदायबाट पुरुष मात्रै पठाउने संकेत गरे । यसबाट समानुपातिक सूचीमा रहेका खस आर्य तर्फका महिला असन्तुष्ट बनेका छन् ।

‘र्‍याङकिङ’ नमानिएको गुनासो

रास्वपाले समानुपातिकको बन्द सूचीमा राख्ने नामका लागि प्रारम्भिक छनोट गरेको छ । त्यसमा ल्याएको मतका आधारमा बन्द सूचीमा राख्नेहरुको क्रम तय गरिएको थियो ।आयोगमा त्यही क्रम अनुसार नै नाम पठाए पनि अन्तिममा १३ जना सांसद छान्दा भने त्यसलाई ख्याल नगरिएको कतिपयको गुनासो छ । जस्तै– मधेशी कलस्टरबाट समानुपातिकतर्फ मनिष झा सांसद बन्दैछन् । तर, चुनावमा पाएको मतमा मधेशी समुदायतर्फ नै लक्ष्मी तिवारी मनिष भन्दा अगाडि छिन् । आयोगमा पठाएको सूचीमा तिवारी ६ नम्बर छिन् भने झा ९ औं स्थानमा छन् ।

यसैगरी खसआर्य समुदायबाट डा. चन्दा कार्की र निशा डाँगी आयोगमा पठाएको सूचीमा गणेश कार्की र दीपक बोहोरा भन्दा अघि छन् । अरु धेरै उम्मेदवार पनि सूचीमा अघि भए पनि सांसद बन्ने सूचीमा नपर्ने देखिएको छ ।

घिमिरेले चुनाव गरेर क्रम संख्या तय गरेको र त्यही आधारमा सांसद पठाउने बुझाइ यसअघि बनेको बताए । तर, अब केन्द्रीय समितिबाट हुने निर्णय नै अन्तिम हुने उनको भनाइ छ । ‘हाम्रो दलले केन्द्रीय कमिटीबाट अनुमोदन गरेर लैजान्छ,’ घिमिरेले भने, ‘जे जस्तो निर्णय हुन्छ, त्यहीँ हुन्छ ।’

यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवारहरु

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा राना मगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. गणेश कार्की (खस आर्य पुरुष)

१०. दीपक बोहरा (खस आर्य पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)