अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताएका छन्।बिहीबार शपथ ग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए।उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए।
उनले भने,‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ। जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ। अरूको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ। नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो।
राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ। वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ। राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ। मैले देखेको दुई जना हुनुहुन्छ। रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ।’ अर्थमन्त्री शर्माले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरे।