बालुवाटार बैठक छाडेर बालकोट लागे प्रचण्ड, प्रचण्डले भने– गठबन्धन संकटतिर गयो

बालुवाटार बैठक छाडेर बालकोट लागे प्रचण्ड,  प्रचण्डले भने– गठबन्धन संकटतिर गयो

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिंदैन भनेजस्तो गरेपछि कुरा मिलेन ।’बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

Europass CV in Nepal

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’

प्रचण्डले भने– गठबन्धन संकटतिर गयो

सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।

माओवादी नेताहरुको छलफल चलिरहँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई भेटेपछि प्रचण्डले नेताहरुलाई सुनाए, ‘गठबन्धन संकटतिर गयो ।’

एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।कांग्रेसबाट यस्तो प्रस्ताव आएको भन्दै प्रचण्डले प्रतिपक्षमा बस्ने कि अरु विकल्पमा जाने भनेर नेताहरुलाई सोधेका माओवादी केन्द्रका एक नेताले बताए ।

बैठकमा केही नेताले प्रधानमन्त्री पदकै लागि गठबन्धन तोडेको सन्देश जानु राम्रो नहुने बताएका छन् । राष्ट्रपति र सभामुख पद लिएर भएपनि गठबन्धन जोगाउनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।

केही पदाधिकारीले भने कांग्रेसले धोका दिएको भन्दै विकल्प खोज्नुपर्ने धारणा राखेका थिए । ‘गठबन्धन जोगाउन प्रयास गरौं, कांग्रेससँग फाइनल कुरा गर्ने भनेर नेताहरु बालुवाटार जानुभएको छ,’ ती पदाधिकारीले भने, ‘के हुन्छ भन्न सकिन्न ।’