किसान आन्दोलनका नाममा मधेसमा तनाव बढाउँदै सिके राउत

किसान आन्दोलनका नाममा मधेसमा तनाव बढाउँदै सिके राउत

रोहित महतो

पछिल्लो केही समयदेखि प्रदेश-२ का विभिन्न जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीका गतिविधिका कारण तनाव बढेको छ। आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। राउतका कार्यकर्ता हातमा लाठी बोकेर बन्द गराउन हिँडेका थिए।

पूर्व-पश्चिम राजमार्ग बन्द गराइरहेका सिके राउतका कार्यकर्तालाई हटाउन खोज्दा भएको झडपमा प्रहरीले अश्रुग्यास र रबरका गोली हानेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार झडपमा परी ८ जना प्रहरी र ५ जना आन्दोलनकारी घाइते भएका छन्। घाइते भएकामध्ये दुई जनालाई रबरको गोली लागेको छ। सिके राउतका कार्यकर्तालाई सडकबाट हटाउन प्रहरीले ११ राउन्ड रबरका गोली र १६ राउन्ड आश्रुग्यास हानेको थियो। सिके राउत पक्षबाट घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

Europass CV in Nepal

यसअघि पुस १५ र १६ गते सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ सिके राउतका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए। बन्द गराउँदै हिँड्ने २१ जनालाई प्रहरीले नियन्त्रण लिएर पछि छोडेको थियो।

पुस १४ गते सिके राउतका कार्यकर्ताले रौतहटको गौर नगपालिका -३ मा २ वटा सवारी साधनमा तोडफोड गरेका थिए। पुस १३ गते पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले सिरहामा आमहड्ताल गरेको थियो। त्यो दिन उनीहरूले प्रहरीका दुई वटा सवारी साधन तोडफोड गरेका थिए। पुस ११ र १२ गते पनि उनीहरूले सिरहाको मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग बन्द गरेर झन्डै २० वटा सवारी साधनमा तोडफोड गरेका थिए।

जनमत पार्टीले आफ्ना यी गतिविधिहरूलाई किसान आन्दोलनको नाम दिएको छ। किसानका माग सरकारले पूरा नगरेको भन्दै उसले विभिन्न जिल्लामा राजमार्ग बन्दको घोषणा गरेको छ। यो आन्दोलनको सुरूवात हुन्छ पुस ६ गते सिरहाको औरही गाउँपालिका-५ मा भएको एउटा घटनाबाट।

उक्त गाउँपालिकाले ६५० बोरा गहुँको बिउ स्थानीय किसानलाई बाँड्ने भनेर किनेको थियो। ४० किलोग्रामका ती बोरामध्ये ३२५ बाँडिसकिएको थियो बाँकी आधा बाँड्न बाँकी थियो। गाउँपालिकाको वडानम्बर ३ का किसानलाई बाँड्न भनेर बिउ वडा नम्बर ५ को प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो।

बिहान ११ बजे बाँड्ने भनिएको बिउ बाँड्न गाउँपालिकाका कर्मचारी नआएपछि हो-हल्ला भयो। उपस्थित किसानले ‘लुटेर’ बिउ लगेर गए।

बिउ लुट्नेमा संग्लनहरूलाई प्रहरीले पक्राउ गर्‍यो। तीमध्ये एक जना जनमत पार्टीका सदस्य मिथलेश यादव पनि थिए। आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा जनमत पार्टीले त्यसपछि विभिन्न कार्यक्रम गर्‍यो र अहिले यो बढ्दै-बढ्दै राजमार्ग बन्दसम्म पुगेको छ।

आइतबार घाइते भएका आफ्ना कार्यकर्तालाई अस्पतालमा भेट्न पुगेका राउतले सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले बर्बर दमन गरेको बताए।

‘प्रहरीले बन्द गर्न नदिएर दमन गर्न थालेपछि स्थानीय जनता ओर्लिए। त्यसपछि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेको छ। रबरको गोली मात्र नभएर अर्को गोली पनि चलाएको हामीले पाएका छौँ,’ उनले भने, ‘यो नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाएको उदाहरण हो।

दमन बन्द नभए किसान आन्दोलन नयाँ तरिकाले अझै सशक्त रूपमा अघि बढ्ने र बन्द गर्न आफूहरू बाध्य हुने उनको भनाइ थियो। जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले आफूहरूले किसानका जायज माग राखेर आन्दोलन गरिरहेको बताए।

सिंहले किसान कार्डको व्यवस्था, किसानको लागि पेन्सन, बालीनालीको स्वत: बीमा, कृषि मिटरको बिजुली नि:शुल्क, मलखाद र बिउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिबापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानीलगायत माग राखेर आफूहरूले आन्दोलन गरिरहेको बताए।

‘अहिले किसानले गहुँको बिउ र मलखाद पाएनन् भने तपाईंहरू चैत-वैशाखमा के खानुहुन्छ? हामीले किसानका मुद्दा उठाएर आन्दोलन गरेका हौं,’ उनले भने,‘सरकार हाम्रा मागको बेवास्ता गर्दै दमनमा उत्रिएको छ।’

उनले आन्दोलन घोषणा गर्नुअघि सरकारका विभिन्न निकायलाई आफ्ना मागबारे ज्ञापन पत्र बुझाएको बताए। कहिले-कहिले क-कसलाई ज्ञापन पत्र बुझाइएको हो भन्नेचाहिँ उनले खुलाउन सकेनन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनमत पार्टीले केन्द्र सरकारलाई आफ्ना मागहरू राखेको र आफूहरूसमक्ष केही कुरा नराखेको बताए। जनमत पार्टीका महासचिव सिंहले पनि प्रदेश सरकारले आफ्ना मागहरू पूरा गर्न नसक्ने भएकाले केन्द्र सरकार यी विषय सम्बोधन गर्नु पर्ने बताए।

‘प्रदेश सरकारले हाम्रा मागमा केही गर्न सक्दैन। केन्द्र सरकारले उच्च स्तरीय समिति बनाउनुपर्छ,’ सिंहले भने,‘हाम्रा माग सुनुवाइ नभएसम्म आन्दोलन जारी रहन्छ।’ धनुषाका प्रजिअ बास्तोलाले आज मुख्यमन्त्री लालबाबु राउतसँग समेत कुरा भएको बताए।

‘मुख्यमन्त्रीज्युले राजनीतिक रूपमा गर्नुपर्ने कुरा हामी गर्छौं, राजमार्ग अवरूद्ध हुन नदिनु भन्नुभयो,’ उनले भने। केन्द्र सरकारले भने सिके राउतको पार्टीले गरिरहेका हिंसात्मक गतिविधि नियन्त्रण गर्न सिडिओ कार्यालयलाई नै जिम्मा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा कायम गर्न सिडिओ कार्यालयहरूलाई निर्देशन दिइएको बताए।

‘उहाँहरूका के माग छन् त्यो सम्बन्धित मन्त्रालयले हेरिरहेको होला। हाम्रो काम शान्ति सुरक्षा कायम गराउने हो,’ कोइरालाले भने,‘कसैले राजमार्गमा बन्द, हड्ताल गर्न र सार्वजनिक/निजी सवारीमा क्षति पुर्‍याउन पाउँदैन। त्यस्तो गर्नेलाई कानुनअनुसार कारबाही गर्न हामीले सिडिओ कार्यालयलाई निर्देशन दिएका छौं।’ साभार: सेतोपाटी 

 

Europass CV in Nepal