थोरै सन्तान जन्माउने चलन र विदेश बसाइले घटायो जनसंख्या वृद्धिदर

थोरै सन्तान जन्माउने चलन र विदेश बसाइले घटायो जनसंख्या वृद्धिदर

काठमाडौं । काठमाडौं नयाँ बानेश्वरकी ईश्वरी थापाकी सात वर्षकी छोरी छिन् । थापा दम्पतीले अर्को सन्तान नजन्माउने निर्णय लिइसके र स्थायी बन्ध्याकरण समेत गरिसके ।‘धेरै सन्तान जन्माएर दुःखले हुर्काउनुभन्दा एउटालाई नै राम्रो लालनपालन र शिक्षा दिने सोच हो,’ ईश्वरी भन्छिन् । पछिल्ला वर्षमा यसैगरी एक वा बढीमा दुई जना सन्तानमा चित्त बुझाउने दम्पतीको संख्या बढ्दो छ । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण भेगमा पनि दुई भन्दा बढी सन्तान जन्माउनेको संख्या घट्दो छ ।

यो तथ्यलाई राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले पनि पुष्टि गर्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा एउटा परिवारमा औसतमा ४.३२ जना रहेका छन् । यस्तो संख्या २०६८ सालमा ४.८८ जना रहेको थियो ।

धेरै बच्चा जन्माइने मधेश प्रदेशमा २०६८ सालमा एउटा परिवारमा औसतमा ५.८० जना सदस्य रहेका थिए । २०७८ को प्रारम्भिक नतिजामा त्यहाँ पनि परिवारको आकार घटेर औसत ५.१५ जनामा झरेको छ ।

कणर्ालीमा २०६८ सालमा एउटा परिवारमा ५.४३ जना सदस्य रहेकामा २०७८ मा ४.६२ मा झरेको छ । यसले धेरै बच्चा जन्माउने प्रवृत्तिमा कमी आएको पुष्टि गर्ने केन्द्रीय तथ्यांक विभागको ठहर छ ।

२०६८ को जनगणनामा भन्दा २०७८ मा नेपालको जनसंख्या करिब २७ लाखले बढेको छ । यसको अर्थ नेपालमा एक वर्षमा करिब २ लाख ७० हजार जनसंख्या थप हुन्छ । २०६८ सालमा जनसंख्याको वृद्धिदर १.३५ प्रतशित थियो, तर अहिले ०.९३ प्रतिशतमा झरेको छ ।

२०६८ सालकै वृद्धिदर कायम रहेको भए २०७८ सालको जनसंख्या ३ करोड भन्दा बढी हुने थियो । तर, राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले त्यस्तो देखाएन । जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मै सीमित रहृयो ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्माका अनुसार २०६८ सालकै दरमा जनसंख्या बढेको भए सालाखाला ५१ वर्षमा जनसंख्या दोब्बर हुने थियो । तर, २०७८ को जनसंख्या वृद्धिदर ०.९३ मा झरेकाले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्नेछ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार २०६८ सालमा एक महिलाले औसतमा ३ जीवित बच्चा जन्माउने गरेकी थिइन् । तर, सन् २०१९ मा गरिएको बहुसूचक सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाले २ जनामात्र जीवित बच्चा जन्माएको पाइएको छ । अझ शहरी क्षेत्रमा यो संख्या अझ कम छ । लामिछानेका अनुसार काठमाडौं उपत्यकामा एक महिलाबाट औसतमा एक जनाभन्दा पनि कम बच्चा जन्मिएको तथ्यांक सो सर्वेक्षणबाट आएको थियो । सोही सर्वेक्षणसँग मेल खानेगरी यस पटक जनसंख्या वृद्धिदर पनि व्यापक घटेको विभागले बताएको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय बसाइसराइको असर

जनसंख्याका प्राध्यापक महेन्द्रप्रसाद शर्मा जनसंख्याको वृद्धिदर घटनुका अनेक कारण भए पनि नेपालमा कम बच्चा जन्माउने प्रवृत्ति र बसाइसराइका कारण जनसंख्या वृद्धिदर घटेको हो । ‘मूल रुपमा प्रजनन दर घट्नु र बसाइसराइ बढ्नु नै जनसंख्या वृद्धिदर घट्नुको कारण हो,’ शर्मा भन्छन् ।

तथ्यांक विभागका निर्देशक लामिछाने जनसंख्याको वृद्धिदर कम घट्नुमा अन्तर्राष्ट्रिय बसाइसराइले प्रमुख भूमिका निर्वाह गरेको छ । २०६८ सालको तुलनामा २०७८ सालमा पुरुष मात्र नभई महिला विदेशिने क्रम पनि बढेको छ । २०७८ मा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको छ । यसरी विदेशिने महिला प्रजनन क्षमता बढी हुने उमेरकै छन् । जसले गर्दा नेपालमा बच्चा जन्मने दर कम हुने निर्देशक लामिछाने बताउँछन् ।

तथ्यांकअनुसार २०६८ सालमा २ लाख ३७ हजार ४ सय महिला विदेशमा बसोबास गरेकामा २०७८ मा यो बढेर ४ लाख ६ हजार १ सय ३ पुगेको छ । २०६८ सालमा १६ लाख ८४ हजार २९ जना पुरुष विदेशमा बसोबास गर्ने गरेकामा अहिले बढेर १७ लाख ६३ हजार ३ सय १५ जना पुगेको छ ।

जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले २१ लाख ६९ हजार नेपालीहरु अक्सर देशबाहिर नै बस्छन् । नेपालमा सक्रिय जनसंख्या बालबालिका र वृद्धवृद्धाको तुलनामा धेरै रहेको प्राध्यापक शर्मा बताउँछन् । करिब ५३-५४ प्रतिशत सक्रिय जनशक्ति रहेको अनुमान छ ।

शर्माका अनुसार यस्ता सक्रिय जनशक्तिले नेपालभित्रै काम पाएको भए यहीँ काम गर्थे, बिहेबारी गर्थे, सन्तान जन्माउँथे । अहिले त धेरै युवा देशबाहिर छन्, यसले गर्दा विवाह नगरेकाहरुको बिहे हुने उमेर बढ्यो, विवाह भएकाहरु पनि घर छोडेर गएपछि बच्चा जन्मिने अवस्था रहँदैन ।

‘प्रजनन क्षमता बढी हुने उमेर समूहका जहान जति धेरै सँगै बस्छन्, बच्चा जन्मिने सम्भावना पनि उत्तिकै बढी हुन्छ,’ उनी भन्छन्, ‘अहिले बसाइसराइको दर पनि उच्च छ । शहरमा बस्ने भएपछि त्यहाँको आर्थिक जीवन महँगो हुन्छ । त्यसैले मान्छेले धेरै सन्तान जन्माउन चाहँदैनन् ।’

कम बच्चा जन्माउने चलन

त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागका अर्का प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ जनसंख्या वृद्धिदर खस्किनु अपेक्षित नै भएको बताउँछन् । भारत र बंगलादेश जस्ता देशमा पनि पनि जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा कम भइसकेको उनको भनाइ छ ।

‘मान्छेहरु देशबाहिर जाने र उतै बस्नेदेखि शिक्षा, स्वास्थ्यको सुविधा र जनचेतनामा आएका परिवर्तनहरुको प्रभावले पनि जनसंख्या वृद्धिदर घट्न पुगेको हो,’ डा. गुरुङ भन्छन् ।

अहिले धेरै बच्चा जन्माउन नचाहने दम्पत्तिको संख्या अधिक हुनुमा शिक्षा, स्वास्थ्य, स्याहारमा लाग्ने ठूलो खर्च कारकमा रुपमा रहेको विज्ञहरुको विश्लेषण छ ।

बाल बच्चा हुर्काउन खर्च लाग्नेदेखि उनीहरुसँग बिताउन अभिभावकसँग पर्याप्त समय नहुनेसम्मका कारणले व्यवस्थापन गर्न सम्भव हुने संख्यामा मात्रै बच्चा जन्माउनतर्फ लागेको डा. गुरुङ बताउँछन् ।

नेपालमा १० वर्षको अवधिमा २७ लाख जनसंख्या बढ्दा परिवार संख्या भने १३ लाख ३३ हजार ५ सय ५७ ले बढेको छ । एकल परिवारमा बालबालिकाको स्याहार-सुसार गर्न संयुक्त परिवारमा जस्तो सहज अवस्था हुँदैन । यसको प्रभावले कम बच्चा जन्माउने परिपाटीलाई प्रोत्साहन गरेको तथ्यांक विभागको पनि ठहर छ ।

खासगरी शहरी इलाकामा महिला र पुरुष दुबै काममा जानुपर्ने हुँदा त्यसको स्वभाविक प्रभाव बच्चा जन्माउने दरमा पर्न जान्छ । रोजगारीमा लागेका परिवारले योजना बनाएरै पारिवारिक संरचना तय गर्ने भएकाले विगतमा जस्तै जनसंख्या बढ्नबाट रोकिएको अनुमान तथ्यांक विभागका अधिकारीहरुको छ ।

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख डा.डम्बर चेम्जोङ बढ्दो शहरीकरणले डोर्‍याएको जनजीवनलाई जनसंख्याको वृद्धिदर घटनुको कारण मान्छन् । शहरी क्षेत्रमा ढिलो विवाह गर्ने, कतिपयले विवाह नै नगर्ने, विवाह गरेपनि सन्तान नजन्माउने, एउटा सन्तान जन्मेपछि अर्को नजन्माउने क्रम बढिरहेकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

‘एक दशक अघिसम्म पनि छोरालाई मात्रै सन्तान मान्ने जमात बढी थियो । जसका कारण छोरा नजन्मेसम्म सन्तान जन्माइरहनेहरु थिए । अहिले छोरीलाई सन्तान मानेर एउटा भए अर्को नजन्माउने शिक्षित जमात बढ्दै गएको छ,’ उनी भन्छन् ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ यस पटकको जनसंख्या वृद्धिदरको प्रवृत्ति हेर्दा पहिलो सन्तान जन्मिएपछि नै छोरा र छोरी जे जन्मिएपनि परिवारले स्वीकार गर्न थालेको देखिने बताउँछन् । विगतमा धेरैजसो अभिभावकम छोराको आसमा धेरै छोरी जन्माउने प्रचलन थियो । जसले जनसंख्या वृद्धिदरमा भूमिका खेल्थ्यो । अहिले छोराको आसमा धेरै छोरी नजन्माउने र पहिलो पटक जे जन्मिए पनि स्वीकार गर्ने परिपाटी विकास भएका कारण वृद्धिदर कम भएको हुन सक्ने उनको विश्लेषण छ ।

जनस्वास्थ्यविद डा. लक्ष्मी तामाङ पनि डा. चेम्जोङ र महानिर्देशक श्रेष्ठको तर्कमा सहमत छिन् । तर, शहरी क्षेत्रको शिक्षित परिवारमा बच्चा जन्माउने दर घटेपनि ग्रामीण क्षेत्रमा अपेक्षित दरमा नघटेको उनको विश्लेषण छ ।

अब जन्मदर घटाउन भन्दा पनि जन्मान्तरको लागि जोड दिनुपर्ने डा. तामाङ बताउँछिन् । ‘जन्मदर घटाउँदा लोपोन्मुख समुदायमा प्रभाव पर्‍यो भने यसले नकारात्मक असर गर्छ । यसले भविष्यमा सक्रिय जनशक्तिको संख्यामा पनि प्रभाव पार्छ,’ उनी भन्छिन् ।

सन्तान उत्पादनको दर कम हुँदा सकारात्मक तथा नकारात्मक दुबै प्रकारको प्रभाव पार्ने अर्थविद केशव आचार्य बताउँछन् । ‘कम सन्तान हुँदा अबका बालबालिकाले राम्रो शिक्षा, राम्रो हेरविचार पाउँछन्, तर यसकै कारण भविष्यमा उत्पादनमा सक्रिय हुनसक्ने श्रमशक्ति कम हुन्छ,’ उनी भन्छन् ।

सक्रिय जनशक्ति कम हुँदा चीनमा जस्तो समस्या देखिन सक्ने सम्भावना हुने उनी बताउँछन् ।

‘नेपालमा पनि अहिले नै उद्योगीहरुले जनशक्तिको अभाव भयो भनिरहेका छन्, भएका श्रमशक्ति धेरै विदेशमा छन्, यसले भविष्यमा जनशक्ति अभावको समस्या हुनसक्ने सम्भावना पनि हुन्छ,’ अर्थविद् आचार्य भन्छन् । साभार : अनलाइनखबरबाट