पाँच सिट क्षमता भए पनि २३ यात्रु बोकेको जिप दुर्घटना हुँदा बझाङको मस्टा गाउँपालिकामा आठजनाको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । बुधबार साँझ ४:३० बजे मस्टा– १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र ००१ च ११७ नम्बरको जिप सोही वडाको तुफानडाँडानजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका अधिकांश सुर्मादेवी मेला हेरेर घर फर्किँदै गरेकाहरू छन् । जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा मस्टा– २ का १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १६ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी, ३७ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी दत्सिका कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र शुक्लाफाँटा– ७ का झरेन्द्र बोहराको मृत्यु भएको छ ।
घाइते हुनेहरूमा मस्टा– २ का आठ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, जिपचालक ३५ वर्षीय राजेश रोकाया, चार वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत र २१ वर्षीया निन्दा ओखेडा छन् । त्यस्तै, मष्टा– १ का ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ बर्षीय वीरबहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह छन् । गम्भीर घाइते पाँच जनालाई नेपालगञ्ज रेफर गरिएको छ भने ११ घाइतेको जिल्ला अस्पतालमै उपचार भएको छ ।
क्षमताभन्दा धेरै यात्रु बोकेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । ‘दुर्घटनामा परेको बोलेरो जीपको सिट क्षमता पाँच जनाको मात्रै हो । तर, बालबालिकासमेत गरी २३ यात्रु गाडीमा थिए,’ उनले भने, ‘खराब ग्रामीण कच्ची सडकमा क्षमताभन्दा झण्डै पाँच गुणा बढी यात्रु हाल्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ नयाँपत्रिकाबाट