दाङ हत्याकाण्ड : हत्यारालाई फाँसी हुनुपर्छ भन्दै युटुबमा अन्तर्वार्ता दिनेले नै हत्या गरेको पुष्टि

दाङ हत्याकाण्ड : हत्यारालाई फाँसी हुनुपर्छ भन्दै युटुबमा अन्तर्वार्ता दिनेले नै हत्या गरेको पुष्टि

दाङमा किशोर किशोरी हत्यमा नयाँ तथ्य फेला परेको छ। दाङका रोशनी महतरा र शरद आचार्य हत्यामा नजिकैका शिकारीहरुले  बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो।

उनीहरु असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए। साढे दश बजेपछि सम्पर्कबिहिन थिए।आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्नका घर बाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना ब्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए।

Europass CV in Nepal

बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिककैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए। सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।

शनिबार दिउँसो नै प्रहरीले पत्रकार सम्मेलन गरि घटनामा संलग्न चार जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ। पक्राउ परेका चारै जना दमारगाउँका स्थानीय हुन्।

रोशनीको बायाँ हातमा करेन्टले जलेको स्पष्ट खत थियो। पोष्टमार्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो।पोष्टमार्टम रिपोर्टपछि प्रहरी थप अन्यौंलमा पर्‍यो र नयाँ ढंगले घटना अनुसन्धान गर्न सुरू गर्‍यो। घटना अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको थियो।

बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परि रोशनी र शरदको एकसाथ मृत्यु भएपछि उक्त धराप थाप्ने चार जनाले सोही दिन राति आपसमा सल्लाह गरेर उनीहरूको शव व्यवस्थापन गरेका थिए।

त्यसरी घटनास्थलमै रोशनी र शरदको शबहरू छोड्दा बँदेल मार्न थापेको धरापमा परि उनीहरूको मृत्यु भएको गाउँ समाजले थाहा पाउने र त्यसले आफूहरूलाई अप्ठेरो हुने निस्कर्षपछि उनीहरूले दुबैको शब ब्यबस्थापन गरेको प्रहरी अधिकारीले जानकारी दिए।

‘विद्युतीय धरापमा परि दुबैको मृत्यु भएपछि उनीहरूका बीचमा सल्लाह अनुसार घर गएर बोरा र खन्नलाई फरूवा ल्याएछन्,’ ती प्रहरी अधिकारीले भने, ‘त्यहीँ बोरामा राखेर शब जंगलबीचको चिरोमा लगेर फरूवाले खनेर माटोले पुरेको तथ्य उनीहरूले स्वीकार गरिसकेका छन्।’

त्यसपछि उनीहरूले शब बोकेर लगेका बोराहरू जलाएको प्रहरीले बताएको छ।यसअघि पक्राउ परेकामध्येहरू सामाजिक सञ्जाल र युटुवमा हत्या विरूद्ध चर्को आवाज उठाउँदै आएका ती प्रहरी अधिकारीले बताए। ‘यो घटनामा जो चोर उसैको ठूलो स्वर भने जस्तै देखियो,’ ती प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्न ब्यक्तिमध्ये केहीले हत्यारालाई फाँसीको सजाय हुनुपर्छ भन्दै युटुबमा अन्तर्वार्तासमेत दिएका छन्।’

यसअघि पनि प्रहरीले चिनजानकै र नकिजकै ब्यक्तिबाट उनीहरुको हत्या भएको आशंका गर्दै आएको थियो। हालसम्म उनीहरुको हत्या भएको दाबी हुँदै आएको थियो।रोशनी र शरदको करेन्टबाट मृत्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरुको टाउको र शरीरका बिभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।

त्यहीँ घाउ चोटका आधारमा प्रहरीले उनीहरूको हत्या भएको बताउँदै आएको थियो। उनीहरू दुबैको टाउको र अनुहारका साथै शरदको अण्डकोषमा पनि गम्भीर चोट थियो। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ।

शरदकी मावली हजुरआमा असोज २८ गते स्थानीय दमारगाउँ अस्थायी प्रहरी चौकीमा र २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर नाति हराएकोबारे लिखित निवेदन दिँदै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

बुबासँग आमाको छोडपत्र भएकाले शरद आमासँगै मामा घरमा बस्दै आएका थिए। रोशनी र शरद स्थानीय अम्बापुर माविमा कक्षा ८ र ९ मा पढ्ने गर्थे। रोशनीका आमा बुवा र दाजुसमेत छिमेकी देश भारतमा रोजगारीका लागि गएका थिए। दुई बहिनी मात्रै घरमा बस्दै आएका थिए।