प्रचण्ड गतिमा देशको सुशासन

प्रचण्ड गतिमा देशको सुशासन
  • अजयदीप शर्मा
  • शुक्रबार, ०५ साउन २०८०

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा वाम लोकतान्त्रिक सरकार बनेको ६ महिना बितेको छ । बितेको यो समयमा देखिएको परिणाम र नेतृत्वले लिएको पहलकदमी दुवै सकारात्मक छ । सुशासनका लागि चालिएका कदमहरू उच्च प्रशंसायोग्य छन् भने जनतालाई राहत प्रदान गरी इन्धनमा घटाइएको मूल्य, प्रशासनिक काममा लाग्नुपर्ने लाइन हटाइनुले सरकार जनचाहना अनुसार चलेको छ भन्ने कुरा देख्न सकिन्छ ।प्रचण्ड प्रधानमन्त्री भएदेखि उहाँमा देखिएको काम गर्ने इच्छाशतिले जुन परिणाम ल्याइरहेको छ, त्यसले जनतामा नयाँ आशा जगाएको छ ।

त्यस्तै सहरिया मध्यम वर्गमा उत्साह बढाएको मात्र छैन, प्रचण्डले अब केही गरेर देखाउँछन् है भन्ने विश्वास दिलाएको छ ।

गणतन्त्र प्राप्तिपछि जनताले आफ्नो पुरानो अवस्थालाई जसरी बदल्न चाहेका थिए, त्यस विपरीत व्यवस्थाप्रति नै प्रश्न चिन्ह खडा हुने गरी राजनीतिक दुरावस्थाले थोपरिदिएको जर्जर अवस्थालाई जनताले सहन गरिराखेका छन् । अवस्था यस्तो सम्ममा आइपुग्यो कि केही केही नगरे उपलब्धिसमेत गुम्ने खतरा बढ्यो ।

Europass CV in Nepal

यो गणतान्त्रिक व्यवस्थाको नीतिगत नेतृत्वकर्ता माओवादी नै हो । तर, कार्यान्वयनको अवस्थामा माओवादी कमजोर बन्न पुग्यो । माओवादी आफ्नै कारणले कमजोर बनेको स्थितिले जनतामा नैराश्यता बढ्यो । शान्ति प्रक्रिया सुरु भए यता जस्ता परिस्थितिहरू सिर्जना भए, ती सबैको हिस्सेदार माओवादी पनि भएकाले यो बेथितिलाई हटाएर देशलाई आशावादतिर डोर्‍याउने प्रमुख दायित्व पनि माओवादीकै हो । किनकि जनताको जीवन बदल्ने धेरै सपनाहरूको नेतृत्वकर्ता पनि माओवादी नै हो ।

तर, जनमतमा माओवादी खुम्चिँदै तेस्रो शक्तिमा पनि कमजोर बनेको स्थितिमा नेतृत्वको कला, क्षमता र योजनाले गर्दा यो अन्तिम अवसरका रूपमा सरकारको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डमा यस पटक केही गर्नेबाहेक दोस्रो कुनै चीज प्राप्त गर्ने लालसा देखिँदैन । प्रधानमन्त्रीमा भित्री अन्तःस्करणबाट केही कुराको बोध भएको देखिन्छ, जसले गर्दा कुनै भय बिनै प्रधानमन्त्रीका कारबाहीहरू विकृतिका डङ्गुरहरूमाथि केन्द्रित भएका छन् ।

राजनीतिप्रति जनतामा यतिविध्न वितृष्णा फैलिनुमा भ्रष्टाचार प्रमुख रहेको तथ्यलाई बुझेर सुशासनलाई सुव्यवस्थित नगरी देशलाई अघि बढाउन सकिदैन भन्ने कुरालाई पक्डेर नै प्रधानमन्त्रीले रकेट गतिमा दैनिक केही परिणाम निकाल्ने संकल्पमा आफूलाई हिँडाइरहेको अनुभूति अब जनताले गर्न थालेका छन् ।

हिजो प्रचण्डमाथि धारे हात लगाएर खनिने जमात आज प्रशंसक भएर प्रधानमन्त्रीको कदममा साथ दिई राखेको अवस्था छ । अझ आफू दुःखमा रहेको समयमा मिटरबाजीलाई कारबाही गर्न बनेको विधेयक संसदबाट सर्वसम्मत पारित गराउन सफल हुनुले सरकारको नेतृत्व प्रतिको विश्वासको कडी जोडिँदै गइराखेकोमा अब शङ्का गरिरहनु पर्ने ठाउँ छैन ।

प्रचण्ड नेतृत्वको सरकारले जस्तो गति पक्डेको छ, त्यसको सकारात्मक प्रभाव राजनीतिदेखि समाजका सबै अङ्गहरूमा देखिन थालेका छन् । पहिलो कुरा व्यवस्था प्रतिको विश्वास बढेको छ । सबै ठाउँमा जोरजर्वजस्ती र दण्डहीनता बढिरहेका वेला प्रतिगमनकारीहरू टाउको उठाउँदै यो व्यवस्था प्रति नै नकारात्मकता फैलाइरहेका वेला अन्याय गर्नेहरूलाई दण्डित गर्ने कानुन छ । र, लागू गर्ने सरकार छ भन्ने कुरा देखाइ दिदा मात्र पनि गणतन्त्रप्रति मान्छेको आस्था ताजगी भएर अंकुराएको देखिन्छ । जुन कुराले गणतन्त्रलाई कमजोर बनाउने चलखेललाई निरुत्साहित बनाएको छ ।

अर्को कुरा, अहिले केन्द्रीय सरकारमा पहिलेको तुलनामा धेरै गुणा कम भ्रष्टाचार भएको देखिन्छ, यो सकारात्मक पक्ष हो । दोस्रो कुरा नेतृत्वले दृढ इच्छाशतिm देखाएर काम गर्ने हो भने सबै कुरा सम्भव छ भन्ने कुरालाई प्रमाणित गरेको छ । नेताले इमानदार भएर काम गरे हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिन्छ । नभए भुटानी शरणार्थीदेखि मिटरबाजीलाई कारबाही गर्न कसरी सम्भव हुन्थ्यो होला र ?

यसरी अहिले बिग्रिएको अवस्थाको भागिदार बनेका नेताले सपार्न पनि सक्छन् भन्ने कुराको पुष्टयाई प्रचण्डले गर्न खोजेको देखिन्छ । जसले यो व्यवस्थाको परिकल्पना ग¥यो, ऊसँग मात्र यसलाई जोगाउने, समस्याको निकास दिने तथा विकास र समृद्धितिर लैजाने हुटहुटी र योजना रहेको हुन्छ ।

यो कोणबाट हेर्दा प्रधानमन्त्री प्रचण्डले विकृतिको दलदलबाट देशलाई बाहिर निकालेर अघि बढाउन जसरी कोशिस गरिरहनु भएको छ, त्यो अरुबाट गाह्रो पर्ने देखिन्छ । गरे जस्तो गर्नु र भित्रबाट रिलाइजेसन भएर गर्नुमा धेरै फरक पर्छ ।

अहिले सामाजिक सञ्जाललाई आफ्नो विचारको थलो मान्ने हावादारी राजनीतिले अहिलेको दुरवस्थाबाट देशलाई पार लगाउन सक्दैन, न कुराबाट मान्छे हँसाउने नेताले पार लाउन सक्छ । बरु कुशासन र भ्रष्टाचारलाई मेटाउन मुलुकको नेतृत्व गरिरहेको नेताको सारथि बन्न सके देश निर्माणको ढोका खुल्न सहज हुन्थ्यो ।

यतिवेला सरकारले गरेका कामप्रति जनतामा जति उत्साह देखिएको छ, त्यो उत्साह दलका नेता स्तरमा देखिँदैन । सरकारले एउटा कुनै फाइल खोल्दा नेताहरूको अनुहारको रंग उडिहाल्छ । त्यही कार्य गर्दा कार्यकर्तामा उत्साह देखिनु तर नेतामा वेचैनता बढ्नुले भ्रष्टाचारको फैलावट अझ व्यापक छ भन्ने कुरा दर्शाउँछ । माओवादी नै होस्, प्रधानमन्त्रीले त्यस्ता शंकाको फाइललाई झन् छिटो खोल्नु पर्दछ । देशलाई खोक्रो बनाउने नेता पाल्ने भन्दा तिनलाई सदर खोरमा पुर्‍याए देशले नयाँ युवा पङ्क्तिको नेतृत्व पाउने छ ।

सुशासनको क्षेत्रमा मात्र होइन, सरकारले सही कदम चाल्दा सबै क्षेत्रबाट सकारात्मक परिणाम देखिएका छन् । आर्थिक सुधार हुन थालेको छ भने सधैँ घाटामा गइरहेको आयल निगम मुनाफामा गएको छ । अर्बौंको बक्यौता रकम शून्यमा झैँ झरेको छ भने जनतालाई सुविधा पुग्ने राहतका कामहरू पनि अघि बढेका छन् ।

यसरी हेर्दा सरकार सही रूपमा अघि बढेको भए पनि केहीबाहेक अन्य मन्त्रालयमा कामको प्रभावकारिता बढेको देखिँदैन । र, प्रधानमन्त्रीको कामको गतिलाई पनि पक्डेको पनि देखिँदैन । यसको तादाम्यता मिलाउन सके मात्र सरकार पूर्ण रूपमा सफल रहन्छ । यी गरिरहेका कामका साथै शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका विकृतिलाई सुधार मात्र गरिदिने हो भने जनताले गणतन्त्रको सुखानुभूति गर्न पाउने थिए ।

Europass CV in Nepal