प्रकाश सपुतको ‘पिर’ जनयुद्धको गरिमालाई भ्रष्टीकरण गर्ने प्रयास : भुपेन्द्र वली

प्रकाश सपुतको ‘पिर’ जनयुद्धको गरिमालाई भ्रष्टीकरण गर्ने प्रयास : भुपेन्द्र वली

दाङ। हालै युट्युबमा रिलिज भएको गायक प्रकाश सपुतको गीत ‘पिर’ले निकै आलोचना खेपिरहेको छ। जनयुद्ध लडेका लडाकु महिलाहरू आर्थिक अवस्था बिग्रिएर देह व्यापारमा संलग्न भएकाछन् भन्ने भावसहित भिडियो देखाइएपछि माओवादी समर्थकहरूबाट विरोध जनाईएको हो। यसै सन्दर्भमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशका प्रमुख सचिव भुपेन्द्र वलीले आफ्नो प्रतिक्रिया राख्नु भएको छ। 

उहाँले  भारतमा हिन्दुत्व र आरएसएस अभियानलाई प्रभावकारी बनाउनका लागि विगतमा निक्कै चर्चित मानिएका ‘रंग दे बसन्ती’ , ‘ बाजिराव मस्तानी’, ‘टवाइलेट  एक प्रेम कथा’ जस्ता गीतहरू भारतीय जनता पार्टीलाई अघि बढाउँन अघि सारिएको जिकिर गर्दै गायक प्रकाश सपुतले जानीबुझी नगरेपनि वा अन्जनामा गरेपनि विपक्षी राजनैतिक दलहरुले त्यसै गर्ने प्रयास गरिरहेकाले गीत संशोधन हुन आवश्यक रहेको बताउनु भयो। यस्तो छ उहाँले फेसबुकमा गरेको टिप्पणी। 

प्रकाश सपुतको गीतबाट उठेका बहस बारे लागेका कुरा ,

१. पहिलो कुरा त साहित्य कला सिर्जना निरपेक्ष वा मात्र मनोरञ्जनका लागि कदापी हुँदैन । यस्को गतिलो उदाहरण हामी भारतमा हिन्दुत्व र आरएसएस अभियानलाई प्रभावकारी बनाउनका लागि विगतमा निक्कै चर्चित मानिएका ‘रंग दे बसन्ती’ , ‘ बाजिराव मस्तानी’, ‘टवाइलेट ः एक प्रेम कथा’ …..जस्तो फिल्महरु हेरे पुग्छ । जो निक्कै चर्चित र दर्शकले पनि मनपराए तर तिनको अन्तर्य बीजेपीलाई अघि बढाउने नै थियो । यसर्थ निर्वाचन अघि जानेर वा नजानेर आएको सपुतको ‘ पिर’ गितले पनि जनयुद्धको गरिमालाई भ्रष्टीकरण गर्ने प्रयास हो । सपुतले गरे वा नगरेपनि विपक्षी राजनैतिक दलले त्यसो गर्ने प्रयास गरिरहेकै छन् । यसर्थ यो संशोधन हुन आवश्यक छ ।

२. पिर शिर्षकको गितमा बहसको विषयवस्तु ति महिलाले गरेको यौन व्यवसाय भइदियो । पहिलो कुरा त यौन व्यवसाय कुनै रहर वा बाध्यताले गरिने व्यवसाय हैन । अन्य उपाय नहुँदा बाध्यतामक परिस्थितिमा मानिसले यौन व्यवसाय अंगाल्ने हो । यहाँनेर संसार बदल्छु भन्ने सपना देखाइएका जनयुद्धका योद्धा आफ्नै परिस्थितिलाई बदल्न नसकेर पेट पाल्नका लागि अन्य व्यवसायमा जस्तै जग्गा दलाली, खोला नाला तस्करी, भ्रष्टाचारमा संलग्नु हुँदा सामान्य जस्तै लाग्ने तर जनयुद्धकी एउटा महिलाले अन्य उपाय बन्द भएर यौन व्यवसायमा संलग्न हुँदा यत्रो आपती जनाउनुपर्ने नैतिकतामा हामी छौं ? यो गलत हो ? गलत हो भने गल्ती कस्को हो ?अझ महिला योद्धालाई वेश्यावृतिमा संलग्न गरेको देखाइयो भनेर आपत्ति छ । एउटी महिला यौन व्यवसायमा संलग्न हुनुले ( वेश्यावृति ?) आन्दोलनलाई बढी हानि गरिरहेको छ की अरुले ? ?

. गीतमा यौनकार्यमा तल्लीन हुन लागेका जनयुद्धका महिला योद्धा मात्र छैनन् , पुरुष पनि तयार छन् । महिलाप्रति आपती जनाउने कामरेडहरुले पुरुषको दृश्य प्रति खासै आपती जनाएको सुनिएन । यस्को अर्थ जनयुद्धका पुरुष कामरेडले चाँही त्यसो गर्न हुने तर महिला कामरेडले चाँही गर्न नहुने भन्ने अर्थ हो ? वा पुरुषले त्यसो गर्ने कुरा स्विकार्य भइसकेको हो ? यौनलाई महिलाको चरित्रसंग मात्र जोडने कुरा दास युगको पितृसतात्मक सामन्ती सोचको उपज भन्दा अरु केही हैन ।

यसर्थ विरोध गरे दुवै पक्षको गरौं । अनि आपत्ति यौन व्यवसाय गर्नु पर्ने अवस्था नै गलत हो भन्ने हो की जनयुद्धका योद्धाले यौन व्यवसाय गरेकोमा आपति हो ? अहिलेको विरोध जसरी जनयुद्धका योद्धाले गरेको गलत भनेजसरी आएको छ यो त झनै गलत छ । यस्ले अरु महिलाले गरे त ठिकै हो तर जनयुद्धका योद्धाले गरेको देखाइएको गलत हो भन्ने अर्थ राख्छ । जुन झनै गलत छ ।

४. जनयुद्धका गरिमा बुझाउनका लागि जनयुद्धको शान्तिपूर्ण अवतरण पछि छिटफुट बाहेक कति साहित्य, कला, सिर्जनाहरु लेखिए ? लेखिएनन् भने किन लेखिएनन् । महान जनयुद्ध बारे लेखिएको सकारात्मक साहित्यले समाजमा प्रभाव पानुपर्नेमा प्रकाश सपुत जस्ता कस्मेटीक कलाकारले सिर्जना गरेको कलाले किन हामीलाई बढी प्रभावित गरिरहेको छ ? माओवादी आन्दोलनमा साहित्यकारका कमी भएको हो की सिर्जना गर्नका लागि सोही बमोजिम आन्दोलनको अभाव भएको हो ?

अन्त्य
माओवादी आन्दोलन त कम्तिमा यति विषयमा बहस गर्ने र कुरा उठाउने क्षमता राख्छ । अन्य दलले त्यो गर्ने पनि नैतिकता उहिल्यै गुमाएर, पचाएर पनि यहाँसम्म आइसकेको परिस्थितिमा हो । यति बहस उठने कुराले पनि छिटफुट बाहेक माओवादी भित्र अझै पनि नैतिकता, आदर्श र विचारप्रति प्रतिबद्ध तप्का जीवन्त छ भन्ने जनाउँदछ ।