मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
सुदूरपश्चिम प्रदेश

चिनियाँले बनाए भारतले बिजुली किन्दैन, त्यसैले पश्चिम सेती निर्माण गर्ने जिम्मा भारतलाई : प्रधानमन्त्री देउवा

Himali Patrika 1 मिनेट पढाइ

मङ्गलवार आफ्नो गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभामा बोल्दै देउवाले त्यसका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्को हप्ता हुने भेटमा कुराकानी गर्ने बताए।

उनले सकेसम्म सम्झौता नै गर्ने आफ्नो योजना रहेको सुनाए।

देउवाले भने, “चिनियाँ कम्पनीले बनाएको परियोजनाबाट उत्पादित बिजुली भारतले किन्दैकिन्दैन। त्यसैले भारतीय कम्पनीलाई दिएर बनाउने हो।”

सरकारी अध्ययन टोलीले नेपाल आफैँले बनाउन नसकिने राय दिएपछि आफू त्यो निष्कर्षमा पुगेको उनको भनाइ छ।

चुनावमा आश्वासनको पुलिन्दा

उनले लुम्बिनीमा मोदीसँग भेट हुने र त्यसबारे टुङ्गोमा पुर्‍याउने बताए।

जलाशययुक्त उक्त परियोजनाबाट ७५० मेगावाट बिजुली उत्पादन हुने अस्ट्रेलियाको एउटा कम्पनी स्मेकको अध्ययनले देखाएको छ।

जानकारहरूका अनुसार चिनियाँ कम्पनी थ्री गोर्जेजले अधिकतम ६०० मेगावाट बिजुली उत्पादन गर्न सकिने बताएको थियो।तर पछि उक्त कम्पनीले पनि हात झिकेपछि चार दशकदेखि चर्चामा रहेको उक्त परियोजनालाई अहिले सत्ता पक्षीय नेताहरूले चुनावी मुद्दाको रूपमा उठाइरहेका छन्।

राष्ट्रिय महत्त्वको उक्त परियोजना बाहेक देउवाले अन्य थुप्रै विषयहरूमा गृहजिल्लाका बासिन्दालाई आश्वासन दिए।
राजधानी डडेलधुरा ‘ल्याउन सकिने’
व्यवस्थित बसपार्क बनाउनेदेखि बाटो विस्तार र प्रदेशको राजधानी लगायतका विषयमा पनि उनले आफ्ना योजना सुनाए।

आफूले दिएको आश्वासन पूरा नगरेको भनी आरोप लगाउने गरेको कुरा सुनेको भन्दै उनले त्यसको बचाउ गरे।त्यसमध्येको एउटा विषय थियो प्रदेश राजधानीको प्रसङ्ग। देउवाले भने, “पालमुनि सभा हल बनाउन सकिन्छ? त्यसको लागि पूर्वाधार चाहियो नि। त्यो बनेपछि राजधानी डडेलधुरा आउन सक्छ नि। तर मेराविरुद्ध झूटा कुरा गरिरहेका छन्, फटाहाहरू।”

उनले आउँदो बजेटमा जिल्लाको निम्ति धेरै बजेट छुट्ट्याउने आश्वासन पनि दिए।

विद्रोहीको चुनौती

डडेलधुरामा कांग्रेस छाडेर नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवारी दिएकाहरूले नेकपा एमालेसँग गठबन्धन गरेका छन् भने कांग्रेस एक्लै चुनाव लडिरहेको छ।
सातवटा पालिकामध्ये दुई वटामा कांग्रेस बीपीले एमालेलाई समर्थन गरेको छ।

अन्य तीन वटामा कांग्रेस बीपीबाट प्रमुख एमालेबाट उपप्रमुख अनि दुईवटा पालिकामा एमालेबाट प्रमुख र कांग्रेस बीपीबाट उपप्रमुख उम्मेदवार छन्।

कांग्रेसबाट विद्रोह गरेर त्यसरी चुनौती दिइरहेकाहरूलाई लक्षित गर्दै देउवाले “बाटो बिराएकाहरू घर फर्किनूस्” भनी आग्रह गरे।

अन्य जिल्लाका चुनावी सभामा सत्ता गठबन्धनको पक्षमा वकालत गर्दै आएकाले देउवाले गृहजिल्लाको भाषणमा त्यसबारे उच्चारण समेत गरेनन्।

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।