कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। ​सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

Advertisement. Custom Text

गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे । सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरेका शाहीले जाँदा जाँदै आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।

त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो । शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।