काठमाडौं। अमेरिकी दबाबपछि नेपाल टेलिकमले देखाउनका लागि मात्रै फाइभजी परीक्षण गर्ने भएको छ। चिनियाँ कम्पनी हुवावेको प्रविधि प्रयोगमा संशय जनाउँदै अमेरिकाले टेलिकमको फाइभजी परीक्षण रोक्न दबाब दिएको थियो।
त्यही दबाबका कारण आन्तरिक प्रयोग गर्ने गरि फाइभजी परीक्षण हुने टेलिकम उच्च स्रोतले बतायो। गत पुस १७ गतेबाट टेलिकमले फाइभजी परीक्षण थाल्ने घोषणा गरेको थियो। अमेरिकी दबाबपछि पुस १७ गतेबाट परीक्षण सुरु नभएपछि टेलिकमले आफ्नो वार्षिकोत्सवमा सफ्ट लन्च गर्ने भन्दै संचार मन्त्रालय तथा नियामक नेपाल दूरसंचार प्राधिकरणलाई मौखिक जानकारी गराएको स्रोत बताउँछ। टेलिकमले भने तयारी नपुगेको भन्दै फाइभजी परीक्षण रोकिएको जवाफ दिँदै आएको छ।
स्रोतका अनुसार टेलिकमले माघ २२ गते आफ्नो वार्षिकोत्सवमा आफ्नै लागि मात्रै फाइभजी परीक्षण गर्दैछ। टेलिकमले आफ्नो प्राविधिक उद्देश्यका लागि मात्रै वार्षिकोत्सवमा फाइभजी परीक्षण गर्ने तर, टेलिकम उपभोक्ताहरुले भने फाइभजी उपयोग गर्न भने पाउने छैनन्।
‘नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवमा फाइभजी सफ्ट लन्च गर्ने भनेर भनेको छ। प्रक्रिया चलिरहेको भन्दै छ। तर, नेपाल टेलिकमले दुई/दुई वटा बीटीएस टावर गरेर एक दुई ठाउँमा मात्रै परीक्षण गर्दैछ। यो भनेको टेलिकमको आफ्नै प्राविधिक उद्देश्यका लागि हो। उपभोक्ताले परीक्षणमा भाग नै लिन पाउँदैनन्,’ संचार मन्त्रालय स्रोतले भन्यो।
चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर गर्दै अमेरिकाले टेलिकमलाई पटकपटक फाइभजीबाट चिनियाँ कम्पनी हटाउन अनेक दबाब दिँदै आएको छ। त्यही दबाबका कारण पुस १७ गते गर्ने भनिएको फाइभजीको परीक्षण एकाएक रोकिएको थियो।
फाइभजीमा टेलिकमले अपनाएको कार्यशैलीप्रति अमेरिका सुरुदेखि नै रुष्ट हुँदै आएको छ। फोरजी रोलआउट गर्ने तयारी गर्दागर्दै फाइभजीमा पनि चिनियाँ कम्पनी हुवावे नै प्रयोग गर्ने टेलिकमको ‘बन्डलिङ’ एप्रोच प्रति अमेरिकी दूतावासले विरोध जनाउँदै आएको छ।
यो दबाबपछि टेलिकमले भने फाइभजी कम्प्याटिबल सेट पर्याप्त नभएको भन्दै पुस १७ गतेबाट थाल्ने परीक्षण अन्तिम समयमा आएर रोकेको जवाफ दिँदै आएको छ। जबकि बजारमा फाइभजी कम्प्याटिबल हुने स्मार्टफोन उपभोक्ताहरुले निर्वाध चलाइरहेका छन्।
उता अमेरिकी दूतावासले भने टेलिकम वा अन्य कुनै निकायलाई फाइभजी परीक्षण रोक्न अमेरिकाले कुनै प्रयास नगरेको दाबी गरेको छ।अमेरिकी दूतावासले फाइभजी परीक्षण रोक्न कुनै दबाब नदिएको बताएपनि डेटा सुरक्षाको पूर्वाधार निर्माण गर्दा प्राथमिकता दिन टेलिकम र सरकारलाई प्रोत्साहित गर्ने प्रतिक्रिया दिएको छ।