कतारमा हुने विश्वकप फुटबलका लागि दर्ता भए विश्वभरबाट ८३१ खेलाडी

कतारमा हुने विश्वकप फुटबलका लागि दर्ता भए विश्वभरबाट ८३१ खेलाडी

काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन्। कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन्।

विश्वकपका लागि मंगलबारसम्म टिम लिस्ट दर्ता गर्नुपर्ने समय थियो। त्यसै अनुसार सहभागी ३२ वटै राष्ट्रले टिम घोषणा गरिसकेका छन्। मंगलबार फिफाले सबै टिमको सूची सार्वजनिक गर्दै कूल ८३१ खेलाडी रहेको जनाएको छ। इरानले २५ सदस्यीय टिम घोषणा गरेको छ भने बाँकी सबैले २६ जनाको टोली घोषणा गरेको छ। विश्वकपमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भए पनि इरानले २५ जनाको टोली घोषणा गरेको हो।

यसअघि २३ जनाको टोली रहँदै आएकोमा यस पटक संख्या बढाइएको हो। कोभिड–१९ पछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी राख्न थालिएको थियो र विश्वकपमा पहिलो पटक हरेक टिममा २६ खेलाडी राखिएको हो।

विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी लगातार पाँचौ पटक विश्वकप खेल्ने तयारीमा छन्। त्यसमध्ये मेसीले अहिलेसम्म विश्वकपमा १९ खेल खेलेका छन्। यदि उनको टिम अर्जेन्टिना कतार विश्वकपको फाइनल पुगेमा र मेसीले सबै ७ खेल खेलेका उनी सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुनेछन्। अहिले विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान जर्मनीको लोथर म्याथ्युजको नाममा छ।

कतार विश्वकपका खेल्नका लागि घोषणा भएकामध्ये सबैभन्दा पाका खेलाडी क्यानडाका अतिबा हुचिनसन हुन्। ३९ वर्ष २८५ दिनका उनी सबैभन्दा पाका कप्तानसमेत हुन्। यस्तै सबैभन्दा युवा खेलाडी जर्मनीका युसोफा माउकोको हुन्। उनी १८ वर्षका छन्। यस्तै सबैभन्दा कान्छा कप्तान इंग्ल्याण्डका ह्यारी केन हुन्। उनी २९ वर्ष ११५ दिनका भए।

यसैगरी सबैभन्दा बुढा प्रशिक्षक नेदरल्याण्ड्सका लुइ भान हाल हुन्। उनी ७१ वर्ष १०४ दिनका भए। सबैभन्दा कान्छा प्रशिक्षक अर्जेन्टिनाका लिओनल स्कालोनी ४४ वर्ष १८८ दिनका भए। अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी र कप्तान मेसीले २००६ को विश्वकपमा सँगै खेलेका थिए।