विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, कसले मार्ला बाजी ?

विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, कसले मार्ला बाजी ?

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन्।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए।

जारी विश्वकपको लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ। अष्ट्रेलिया लिग चरणमा २ खेल हारेपछि लयमा फर्किएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन उसले कडा मेहनत गर्नुपरेको थियो। विश्वकपको इतिहासले भारतभन्दा अष्ट्रेलिया बलियो देखाउँछ।

अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ।भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो। सन् २००३ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो।

Europass CV in Nepal

मार्चको २३ तारिखमा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको उपाधि भिडन्तमा टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले २ विकेटको क्षतिमा ३५९ रनको विशाल योगफल तयार गरेको थियो।

अस्ट्रेलियाका लागि कप्तान रिकी पोन्टिङले नटआउट १४० रन जोडेका थिए।३६० रनको लक्ष्य पछ्याएको भारत ३९.२ ओभरमा २३४ रनमै अलआउट हुँदा १२५ रनको फराकिलो अन्तरले पराजित भएको थियो।अस्ट्रेलियाले त्यसयता २००७ को फाइनलमा श्रीलंका र २०१५ को फाइनलमा न्युजिल्यान्डलाई हराएर विश्वकपमा पाँच पटक च्याम्पियन बन्ने इतिहास लेखायो।

भारतले भने सन् २०११ मा घरेलु मैदानमा भएको उपाधि भिडन्तमा श्रीलंकालाई हराएर दोस्रो उपाधि जित्यो।सन् २००३ पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि एकअर्कासँग भिड्दैछन्। एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारतको कीर्तिमान राम्रो छैन।

दुवै टोलीले अहिलेसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् भने ८३ जितसहित अस्ट्रेलिया भारतभन्दा (५७ जित) अगाडि छ। विश्वकपमा दुवै टोलीले एकअर्कासँग १३ खेल खेलेका छन् र यहाँ पनि अस्ट्रेलिया ८–५ ले अगाडि छ।

भारतीय भूमिमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा छ। भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा दुवै टोलीले समान ३३-३३ खेल जितेका छन्। साथै यस वर्ष दुई टोलीबीच खेलिएका ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ।

जारी विश्वकपमा भारत अपराजित छ। भारतले समूह चरणमा नौ र सेमिफाइनल गरी लगातार १० खेलमा जित निकालेको छ। अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराएर बदला लिइसकेको छ।