दोहा। कतार विश्वकपको उद्घाटन आइतबार साँझ हुँदै छ। अल बेत रंगशालामा स्थानीइ समयअनुसार ५ बजेर ४० मिनेटमा सुरु हुने उद्घाटन समारोह ३० मिनेटको हुने छ त्यसपछि कतार र इक्वेडेर पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्।
समारोहमा चर्चित दक्षिण कोरियन पप गायक जङ कुकको प्रस्तुती रहने छ। उनले कतार विश्वकपको अफिसियल गित ‘ड्रिमर्स’ गाउनेछन्। उनलाई कतारी गायक फहाद अल कुबैसीले पनि साथ दिनेछन्। मानवीयता, सम्मान र समावेशीमार्फत असमानतताहरुलाई एकै ठाउँमा जम्मा गरेको थिममा उद्घाटन समारोह रहने बताइएको छ।
प्रतियोगितामा सहभागी हुने ३२ वटै टोलीका सस्कृतीलाई सम्बोधन हुने गरि पनि प्रस्तुती रहने छ। आयोजकले प्रतियोगिताका लागि छुट्याइएको ३१ लाखमध्ये २९ लाख टिकट विक्री भइसकेको बताएको छ।
यो प्रतियोगिता ५ अर्बले हेर्ने अनुमान आयोजकको छ। यसअघि रुस विश्वकप ३ अर्ब ५० करोडले हेरेको आयोजकको दावी थियो। उद्घाटन हुने अल बेत घुमन्तेहरुले अरबमा आफु बस्न प्रयोग गर्ने टेन्टको थिममा बनाइएको रंगशाला हो। यो रंगशाला कतार विश्वकपका लागि प्रयोग हुने ८ मध्ये दोस्रो ठुलो रंगशाला रहेको छ।
दावेदार टोलीबीच कुन चरणमा हुनसक्छ जम्काभेट ?
विश्वकप फुटबलको २२औं संस्करण आइतबारदेखि कतारमा सुरु हुँदैछ । पहिलो चरणमा ४/४ टोलीको ८ वटा समूह रहेका छन् । समूहका विजेता र उपविजेता नकआउट चरण अर्थात प्रि-क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगिताको खेल तालिका आइसकेकाले कुन टोलीले कुन चरणमा कोसँग खेल्छ भन्ने अनुमान लगाउन गाह्रो छैन ।
समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन्। समूह ‘बी’मा इङ्ल्यान्ड, इरान, वेल्स र अमेरिका रहेका छन् । अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘सी’मा छन् । समूह ‘डी’मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन् ।
स्पेन, कोस्टारिका, जापान र जर्मनी समूह ‘ई’मा रहेका छन् । समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया रहेका छन् । समूह ‘जी’मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन छन् । समूह ‘एच’मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।
प्रि-क्वार्टरफाइनलमा समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता तथा समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताबीच प्रतिस्पर्धा हुनेछ । यस्तै समूह ‘सी’को विजेताले समूह ‘डी’को उपविजेतासँग तथा समूह ‘सी’को उपविजेताले समूह ‘डी’को विजेतासँग खेल्नेछ ।
समूह ‘ई’को विजेताले समूह ‘एफ’को उपविजेता तथा समूह ‘ई’को उपविजेताले समूह ‘एफ’को विजेतासँग खेल्नेछ भने समूह ‘जी’को विजेता समूह ‘एच’को उपविजेतासँग र समूह ‘जी’को उपविजेता समूह ‘एफ’को विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा फ्रान्स, ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेन यसपटक पनि बलिया उपाधि दावेदार हुन् । नेदरल्यान्ड्स, इङ्ल्यान्ड, पोर्चुगल, क्रोएसिया र बेल्जियम पनि उपाधि दावेदार हुन् । स्पेन र जर्मनी तथा क्रोएसिया र बेल्जियम एकै समूहमा रहेकाले यीमध्ये एक टोलीमात्र समूह विजेता हुन सक्छ ।
यी १० वटै टोली समूह विजेता बन्दै अगाडि बढेको अवस्थामा फाइनलसम्म पुग्दा कसले कोसँग भेट गर्नेछ भनेर भन्न सकिने अवस्था छ । अर्जेन्टिनाले प्रि-क्वाटरफाइनलअन्तर्गत डिसेम्बर ३ तारिखमा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियामध्ये एक टोलीसँग खेल्नेछ ।
यस्तै क्वार्टरफाइनलमा डिसेम्बर ९ तारिखमा नेदरल्यान्ड्स र सेमिफाइनलमा डिसेम्बर १३ तारिखमा ब्राजिल र स्पेन वा जर्मनीमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलले प्रि-क्वार्टरफाइनलमा डिसेम्बर ५ तारिखमा घाना, उरुग्वे र दक्षिण कोरियामध्ये एकसँग खेल्नेछ। डिसेम्बर ९ तारिखमा स्पेन वा जर्मनीविरुद्ध ब्राजिलले क्वार्टरफाइनल खेल्नेछ ।
त्यसअघि स्पेनले प्रि-क्वार्टरफाइनलमा ५ डिसेम्बरमा क्यानडा, मोरक्को र क्रोएसियामध्ये एकसँग खेल्नेछ । फ्रान्सले प्रि–क्वार्टरफाइनलमा डिसम्बेर ४ तारिखमा साउदी अरब, मेक्सिको र पोल्यान्डमध्ये एकसँग खेल्नेछ । उसको क्वार्टरफाइनलमा भेट इङ्ल्यान्डसँग हुनसक्छ डिसेम्बर १० तारिखमा ।
सेमिफाइनलमा उसले डिसेम्बर १४ तारिखमा बेल्जियम वा क्रोएसिया र पोर्चुगलबीच हुने खेलको विजेतासँग खेल्नेछ । जर्मनीले समूह विजेता बनेको हकमा प्रि-क्वार्टरफाइनलमा बेल्जियम वा क्रोएसियामध्ये एकसँग खेल्न सक्नेछ । उसले क्वार्टरफाइनलमा ब्राजिल र सेमिफाइनलमा अर्जेन्टनासँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्सले प्रि-क्वार्टरफाइनलमा इरान, अमेरिका र वेल्समध्ये एकसँग खेल्नेछ । उसले क्वार्टरफाइनलमा अर्जेन्टिना तथा ब्राजिल र स्पेन वा जर्मनबीच हुने खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।
इङ्ल्यान्डले प्रि-क्वार्टरफाइनलमा इक्वेडर, सेनेगल र कतारमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।क्वार्टरफाइनलमा उसको प्रतिस्पर्धा फ्रान्स तथा बेल्जियम वा क्रोएसिया र पोर्चुगलबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । बेल्जियम वा क्रोएसियाले प्रि-क्वार्टरफाइनलमा स्पेन वा जर्मनी, कोस्टारिका र जापानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै क्वार्टरफाइनलमा पोर्चुगल तथा सेमिफाइनलमा फ्रान्स र इङ्ल्यन्डमध्ये एकसँग खेल्नेछ। यस्तै पोर्चुगलले प्रि-क्वार्टरफाइनलमा सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा क्वार्टरफाइनलमा बेल्जियम वा क्रोएसियासँग खेल्नेछ । सेमिफाइनलमा इङ्ल्यान्ड र फ्रान्समध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।