यी हुन् कतार विश्वकप उपाधिका ३ ठूला दाबेदार

यी हुन् कतार विश्वकप उपाधिका ३ ठूला दाबेदार

४ मंसिर, काठमाडौं । ३२ राष्ट्र, २९ दिन, ६४ खेल र अन्तिममा १ विजेता । २२ औं संस्करणको फिफा विश्वकप आइतबार राति कतारमा सुरु हुँदैछ । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकप फुटबलको महाकुम्भमा कतारले आयोजककै रुपमा विश्वकपमा डेब्यू गर्दैछ ।

विश्वका उत्कृष्ट ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप फुटबलको उपाधि कसले जित्ला अहिले सबैभन्दा ठूलो चासोको विषय बनेको छ । डिसेम्बर १८ अर्थात पुस ३ गते विश्वकपले विजेता पाउनेछ । तर अहिले भने कसले जित्ला भन्ने सबैतिर चासो र कौतुहलता छ ।

सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिल २ दशकपछि फेरि विश्वकप जित्ने लक्ष्यमा छ । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्ने इटली र ब्राजिलको कीर्तिमान बराबरी बनाउन चाहन्छ । अन्तिम पटक विश्वकप खेलिरहेका लिओनल मेसीको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्दै मेसीको अन्तिम विश्वकप सम्झनलायक बनाउन चाहन्छ ।

Europass CV in Nepal

यस्तै चार पटकको विजेता जर्मनीदेखि पूर्व विजेताहरु स्पेन र इंग्ल्याण्ड पनि च्याम्पियन बन्ने लक्ष्यमा छन् । कुनै उपाधि नजिती फिफा वरियताको शीर्ष स्थानमा पुगेको बेल्जियमको गोल्डेन जेनेरेसन पहिलो पटक विश्वकप जित्न प्रयास गरिरहेको छ । तीन पटक फाइनल पुगेर पनि पराजित भएर उपविजेतामा ह्याट्रिक गरेको नेदरल्याण्ड्स अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

यसबाहेक एसिया र अफ्रिकन राष्ट्रहरु पनि विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो पटक जाडो मौसममा हुने लागेको विश्वकपका लागि युरोपका ठूला लिगहरु सबैलाई ब्रेक दिइएको छ । घाइते भएका केही स्टार खेलाडीहरु यसपटक विश्वकपमा देखिने छैनन् । केही टिममा परेर पनि अन्तिम समयमा घाइते भए ।

यी कतार विश्वकपका मुख्य तीन दाबेदार

१. ब्राजिल सदाबाहर दाबेदार :

ब्राजिल विश्वकप फुटबलको सदाबाहर दाबेदार हो । यसको प्रमाण पनि उत्तिकै बलियो छ । ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ । अर्को विशेषता भनेको ब्राजिलले अहिलेसम्मको सबै २१ विश्वकप खेलेको छ र सबै विश्वकपमा छनोट हुने एक्लो टिम हो ।

यस्तै ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा रहँदै कतार पुगेको छ । फिफाले २७ अक्टोबर २०२२ मा जारी गरेको वरीयतामा ब्राजिलले बेल्जियमलाई पछि पारेको हो ।

ब्राजिलिलयन टिममा उत्कृष्ट खेलाडीहरुको भिड नै छ । धेरैले ब्राजिलको यो टिमलाई उत्कृष्ट टिम मानेका छन् । ब्राजिलको अट्याकमा यति धेरै विकल्प छन् । जसमा स्टार नेमारदेखि भिनिसियन जुनियर, रिचार्लिसन, गाब्रीएल जेसस, रोड्रिगो, गाब्रीएल मार्टिनेली देखि भेट्रान थियागो शिल्भा, डानी अल्भ्स, एलिसन बेकर, कासेमिरो, फाबिन्हो लगायत छन् ।

प्रशिक्षक टिटेका लागि पहिलो रोजाईँमा खेलाउनका लागि पनि विकल्पहरु छन् ।

सन् २००२ मा एसियन राष्ट्र जापान र दक्षिण कोरियामा संयुक्त रुपमा आयोजना विश्वकप आयोजना हुँदा च्याम्पियन बनेको ब्राजिल दुई दशकपछि विश्वकप एसियामा पर्काउँदा त्यही इतिहास दोहोर्‍याउन चाहन्छ ।

खेलकुद तथ्यांक कम्पनी अप्टाले गरेको विश्लेषणले पनि ब्राजिल कतार विश्वकपको सबैभन्दा ठूलो दाबेदारको रुपमा रहेको सार्वजनिक गरेको छ ।

२. फ्रान्स साविक विजेता

फ्रान्स साविक विजेताको हैसियतमा कतार पुगेको छ । विश्व वरियतामा चौथो स्थानमा छ । सन् २०१८ मा रुसमा भएको विश्वकप उपाधि जित्दै दुई दशकपछि पहिलो उपाधि जितेको फ्रान्स पनि कतार विश्वकपको दाबेदारको रुपमा छ ।

फ्रान्स चार वर्षअघि जितेको उपाधि रक्षा गर्दै इटली (१९३४ र १९३८) र ब्राजिल (१९५८, १९६२) पछि लगातार दुई पटक विश्वकप जित्ने कीर्तिमान बनाउन चाहन्छ । विश्वकै मूल्यवान खेलाडी किलियन एम्बाप्पे लगायत नाम चलेका खेलाडीसहित कतार पुगेको फ्रान्सलाई त्यसका लागि पहिला समूह चरण पार गर्नुपर्ने हुन्छ ।

दाबेदार हुँदाहुँदै पनि दुई विषय भने फ्रान्सको पक्षमा छैन । एउटा साविक विजेताको रुपमा प्रदर्शन अर्को स्टार खेलाडीहरुको चोट ।

पछिल्लो दुई दशकलाई हेर्ने हो भने विश्वकपमा साविक विजेताको प्रदर्शन बिर्सनलायक नै छ । सन् २००६ मा ब्राजिल क्वार्टरफाइनल पुग्नुबाहेक १९९८ देखि यताको विजेताले समूह चरण पार गर्न सकेको छैन ।

१९९८ मा च्याम्पियन बनेको फ्रान्स आफै पनि चार वर्षपछि २००२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

विश्व च्याम्पियन बनेपछि फ्रान्सले २०२१ नेशन्स कप जितेको थियो । तर युरो कपको अन्तिम १६ बाटै बाहिरिएको फ्रान्सले पछिल्लो नेशन्स लिगमा भने राम्रो प्रदर्शन गर्न सकेन । डिडियर डेसच्याम्पसको टोलीले पछिल्ला ६ खेलमा जम्मा एक खेलमात्र जितेको छ ।

विश्वकप सुरु हुने दिन बिहानै फ्रान्सलाई अर्को झट्का लागेको छ । बालोन डे’ओर विजेता भेट्रान फरवार्ड घाइते हुँदै विश्वकपबाट बाहिरिए । सन् १९९८ पछि पहिलो पटक विश्वकपमा बालोन डे’ओर विजेता देखिने छैनन् ।

यसअघि नै मिडफिल्डका खम्बाद्वय पउल पोग्बा र एन गोलो कान्टेको चोट प्रान्सको लागि अर्को टाउको दुख्ई बन्नेछ । यी दुई यसअघि नै विश्वकपबाट बाहिरिसके । यस्तै विश्वकपका लागि घोषणा गरिएको टिममा समावेश भएका डिफेण्डर प्रेसनेल किम्बेम्पे र फरवार्ड क्रिस्टोफर एनकुन्कु पनि चोटकै कारण विश्वकपबाट बाहिरिसकेका छन् ।

यति हुँदाहुँदै पनि फ्रान्सको परवार्ड लाइनमा एमबाप्पे, भेट्रान ओलिभर जिरुड र एन्टोनी ग्रिजमन छन् ।

मिडफिल्डमा नयाँ खेलाडीहरु एडुवार्डो कामाभिंगा, ओर्लियन चुवामेनी छन् । मिडफिल्डमा एड्रियन र्‍याविओट, युसुफ फोफानामा फ्रान्स निर्भर छ ।

कप्तान ह्युरो लोरिस गोलकिपिङमा छन् भने डिफेन्समा बेन्जामिन पाभार्ड, लुकास र थियो हर्नान्डेज दाजुभाइ, जुल्स कोन्डे, विलियन सालिबा लगायत छन् ।

३. अर्जेन्टिना जित्ने भावना

वर्तमान विश्वकप फुटबलका सुपर स्टारमध्ये एक लिओनल मेसी । मेसीकै कारण अर्जेन्टिनाको कतार विश्वकपको उपाधि दाबेदारको रुपमा छ । पाँचौं पटक विश्वकप खेल्दै कीर्तिमान बराबरी गर्न लागेका ३५ वर्षीय मेसीले कतार विश्वकप आफ्नो लागि अन्तिम हुने बताइसकेका छन् ।

मेसी अहिले नेतृत्तव कर्ताको रुपमा परिपक्क बनिसकेका छन् । अर्जेन्टिनाका अन्य खेलाडीहरु पनि मेसीका लागि जित्नुपर्छ भन्ने भावनामा छन् । पछिल्लो समय अर्जेन्टिनी टिम एकजुट देखिएको छ र टिम भावना उच्च छ । यसैको परिणाम हो अर्जेन्टिना २०१९ यता हारेको छैन । यस्तै कतार विश्वकपअघि अर्जेन्टिना लगातार ३६ खेलमा अपराजित छ । साउदी अरेबियाविरुद्ध पहिलो खेलमा हार टारे अर्जेन्टिनाले ३७ खेलमा अपराजित हुने इटलीको कीर्तिमान बराबरी गर्नेछ ।

अर्कोतर्फ अर्जेन्टिना कोपा अमेरिकाको साविक विजेता पनि हो । ब्राजिललाई उसैको मैदान १-० ले पराजित गर्दै अर्जेन्टिनाले गत वर्ष कोपा जित्दै २९ वर्षको उपाधि खडेरी तोडेको थियो । त्यही प्रदर्शन र नतिजालाई दोहोर्‍याउन चाहन्छ अर्जेन्टिना । कोपा र युरो विजेताबीच खेलाइएको फिनाल्सियामा पनि अर्जेन्टिनाले इटलीलाई हराएर उपाधि जितेको थियो । यसले पनि अर्जेन्टिना किन विश्वकपको दाबेदार हो भनेर पुष्टि गर्छ ।

दुई पटकको च्याम्पियन अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा डिएगो म्यारडोनाको प्रेरणादायी प्रदर्शनमा विश्वकप जितेको थियो । त्यसपछि उपाधि दाबेदार बन्दै आएपनि ‘ला अल्बिसेलेस्टे’ ले उपाधि जित्न सकेको छैन ।

मेसीसहित टिम ३६ वर्षपछि अर्जेन्टिनालाई फेरि च्याम्पियन बनाउने लक्ष्यसहित कतार पुगिसकेको छ । अर्जेन्टिनाको अग्रपंक्तिमा मेसीसहित अनुभवी एन्जल डि मारिया र राइजिङ स्टार जुलियन अल्भारेज हुनेछन् । उनीहरुलाई एन्जल कोरेअ, पाउलो डिबलाको साथ हुनेछ ।

जिओभानी लो सेल्सो चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । तर अर्जेन्टिनी मिडफिल्डमा लिएन्ड्रो परेडास, रोड्रिगो डे पउल, युवा स्टार एन्जो परेज छन् । उनीहरुलाई एजेक्वेल पालासिओस र एलेक्सिस म्याक एलिस्टरले साथ दिनेछन् ।

अर्जेन्टिनालाई कोपा जिताउन उत्कृष्ट प्रदर्शन गरेका एमिलियानो मार्टिनेजले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा प्रिमियर लिगमा खेल्ने लिसान्ड्रो मार्टिनेज र क्रिस्टियन रोमेरोसहित भेट्रान निकोलस ओटामेन्डी, निकोलस मोनिटेल र निकोलस ट्याग्लिफिको छन् ।

फुटबल पण्डितहरुले अर्जेन्टिनी टिमलाई कम्प्याक्ट टिमको रुपमा विश्लेषण गरेको छ ।

क्लब फुटबलमा सबै उपाधि जितेका मेसीले गत वर्ष कोपा जितेर राष्ट्रका लागि पनि उपाधि चाखिसके । यसअघि चार पटक विश्वकप खेल्दा सन् २०१४ मा फाइनल पुगेपनि जर्मनीसँग पराजित हुँदा मेसीनजिक पुगेर पनि टाढिए । यस पटक विश्वकप जित्दै आफ्नो ट्रफी क्याबिनेटमा विश्वकप ट्रफीलाई पनि समावेश गर्ने मेसीको लक्ष्य छ । त्यसका लागि टिम एकजुट छन् ।

मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अनी मेक्सिकोका कप्तान आन्द्रेस गुएर्ड्राडो र गुइलेर्मो ओचाओ कीर्तिमानी पाँचौं पटक विश्वकप खेल्दैछन् । यसअघि चार खेलाडीले यो उपलब्धी हासिल गरेका थिए भने यस पटक एकै संस्करणमा उक्त सूचीमा चार खेलाडी थपिनेछन् ।