काठमाडौं । सेनेगललाई २–० गोलको नतिजामा पराजित गर्दै कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ । अल थुमामा स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभि क्लासेनलले गोल गरे ।
गोल गर्ने केहि अवसर पाए पनि फिनिसिङमा चुक्दा दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । खेलको ८४औँ मिनेटमा नेदरल्यान्ड्सका मिडफिल्डर गाक्पोले अफ्रिकन च्याम्पियनविरुद्ध उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । फ्रान्क डि योङले दिएको क्रसमा बक्सभित्र अनमार्क रहेका गाक्पोले हेडरमार्फत सुन्दर गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।
इन्जुरी समयमा क्लासेनलले गोल गर्दै नेदरल्यान्ड्सको जित २–० ले सुनिश्चित गरे । जितसँगै सन् २०१०को उपविजेता नेदरल्यान्ड्स तीन अंक जोडेको छ । शुक्रवार हुने इक्वेडरविरुद्धको खेलमा जित हासिल गरे एक खेल अगावै नेदरल्यान्ड नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित सेनेगलले शुक्रवार आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए अन्तर्गत आइतबार सम्पन्न उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलको नतिजामा पराजित गरेको इक्वेडरको पनि तीन अंक रहेको छ ।
वेल्स र अमेरिकाले अंक बाँडे
कतारमा जारी फिफा विश्वकपमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति सम्पन्न समूह बी को दोस्रो खेलमा वेल्सका लागि कप्तान ग्यारेथ बेलले गोल गरे भने अमेरिकाका टिमोथी वेहले गोल गरे ।
खेलको ३६औँ मिनेटमा वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा बनाएको अग्रता बचाइ राख्न नसक्दा अमेरिका अंक बाँड्न बाध्य भएको हो । खेलको ८२ औँ मिनेटमा बेलले पेनाल्टीमा गोल गर्दै वेल्सका लागि बराबरी गोल फर्काएका थिए । यस बराबरीसँगै वेल्स र अमेरिकाको समान एक एक अंक भएको छ । समूह ुबीु मा सोमबार साँझ सम्पन्न खेलमा इङ्गल्यान्डले इरानलाई हराएको थियो ।