दोहा। कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ ।
स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना सुखद् सुरुवात गर्नेत तयारीछ । मेसीले यो प्रतियोगितामा नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन् । अर्जेन्टिनालाई मेसी सहित, लौटारो मार्टिनेज, डि मारिया,पाउलो डिबला जस्ता खेलाडीको साथ छ ।
साझ पौने सात बजे हुने खेलमा डेनमार्क र ट्युनिसिया खेल्नेछन् । यसैगरी राति पौने दश बजे मेक्सिको र पोल्यान्डबीच भिडन्त हुनेछ । पौने एक बजे फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।
समूह सी को अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् । चारै देशको कतार विश्वकपमा पहिलो खेल हो । यता, समूह डी मा समेत फ्रान्स र अस्ट्रेलिया तथा डेनमार्क र ट्युनिसियाको पहिलो खेल रहेको छ । सोमबार भएको खेलमा इङ्ग्ल्यान्ड र नेदरल्यान्डले जित निकाल्दा वेल्स र अमेरिकाले अंक बाढेका थिए ।
सुखद सुरुआतको लक्ष्यमा अर्जेन्टिना
सात पटकका बलोन डी अर विजेता लियोनल मेसीमाथि सधै लाग्दै आएको अरोप हो, क्लब फुटबलका अब्बल उनी प्रमुख प्रतियोगितामा राष्ट्रका लागि स्वभाकिक खेल कहिले खेल्दैनन् ।
गत वर्ष ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेपछि मेसीको आलोचना केही मत्थर भएको छ । त्यसो त अर्जेन्टिनाले सन् २०१९ मा कोपा अमेरिकामै ब्राजिललाई नतिजा सुम्पिएपछिका ३६ खेलमा अपराजित यात्रा कायम राखेको छ ।
कोपा अमेरिकामा पाएको सफलता र लगातारको अपराजित यात्राले सन् १९८६ पछि पहिलो पटक कतार विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्यलाई थप बल दिएको छ। सन् १९७८ र १९८६ को विश्व विजेता अर्जेन्टिनाले मंगलबार समूह ‘सी’ मा एसियाली मुलुक साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकप २०२२ मा आफ्नो यात्राको थालनी गर्नेछ ।
मेसीले यसअघि नै यो आफ्ना लागि अन्तिम विश्वकप सहभागिता हने संकेत गरिसकेका छन् । सन् २०१४ उनकै कप्तानीमा अर्जेन्टिना ब्राजिल विश्वकपको फाइनलमा प्रवेश गरे पनि जर्मनीसँग निराश भएको थियो । त्यसैले आफ्नो अन्तिम सहभागितामा मेसी अर्जेन्टिनाको दाबेदार छबीलाई न्याय दिन चाहन्छन् ।
अर्जेन्टिना रुस विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग निराश भएको थियो । यता साउदी अरेबिया भने दाबेदार टोली अर्जेन्टिनालाई स्तब्ध पार्दै विश्वकप यात्राको सुखद थालनी गर्ने योजनामा छ । विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् । तर साउदी अरेबियाका रक्षकलाई मेसीको गति रोक्न सहज भने हुनेछैन ।
अर्जेन्टिनाका लागि साउदी अरेबिया समूह सी मा अन्य टोलीको तुलनामा कमजोर टोली हो । यस समूहमा मेक्सिको र पोल्यान्ड पनि रहेका छन् ।
सन् १९९४ को विश्वपकको समूह चरण पार गर्नु नै साउदी अरेबियाका लागि सबै भन्दा ठूलो उपलब्धी हो । त्यसयता साउदी अरेबियाको सहभागिता समूह चरणमा सीमित हुँदै आएको छ । समूह ‘सी’ कै अर्को खेलमा मंगलबार नै पोल्यान्ड र मेक्सिको भिड्दै छन् ।