आज साउदी अरेबियासँग खेल्दै अर्जेन्टिना, यस्तो छ साउदिलाई जित्ने मेसीको योजना

आज साउदी अरेबियासँग खेल्दै अर्जेन्टिना, यस्तो छ साउदिलाई जित्ने मेसीको योजना

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह सी मा रहेको अर्जेन्टिनाले मंगलबार साउदी अरेबियासँग खेल्दैछ । २२ औं संस्करणको पहिलो खेलअघि कप्तान लिओनल मेस्सीले सम्भवत आफ्नो अन्तिम विश्वकपको लागि तयारी गर्दा आफू ‘ग्रेटेस्ट मोमेन्टमा’ रहेको बताएका छन् ।

३५ वर्षीय मेसीले अर्जेन्टिनाका लागि पाँचौं पटक विश्वकप खेल्दैछन् । जसको पहिलो खेल मंगलबार दिउँसो पौने ४ बजे लुसेल स्टेडियममा सुरु हुनेछ । सात पटकको बालोन डी’ओर विजेताले कहिल्यै विश्वकप जितेका छैनन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना सबैभन्दा नजिक पुगेको थियो । तर फाइनलमा जर्मनीसँग पराजित भयो ।

मेस्सीले भने, ‘यो सम्भवत मेरो अन्तिम विश्वकप हो, मेरो लागि ठूलो सपना पूरा गर्ने यो अन्तिम मौका हो ।’पेरिस सेन्ट-जर्मेनका फरवार्डले क्लब सिजनको बीचमा विश्वकप खेलाइरहँदा पनि आफूले कुनै विशेष शारीरिक तयारी नगरेको र आफूलाई फिट र तयार महसुस भएको बताए ।

Europass CV in Nepal

‘म शारीरिक रूपमा धेरै राम्रो महसुस गर्छु, मलाई लाग्छ कि म उत्कृष्ट क्षणमा छु, व्यक्तिगत र शारीरिक दुवै रूपमा र मलाई कुनै समस्या छैन’, मेस्सीले शनिबार आफ्नो टोलीका साथीहरूसँग छुट्टै हल्का प्रशिक्षण गरेका थिए ।

बार्सिलोना र पीएसजीसँग क्लब स्तरमा अनगिन्ती ट्रफीहरू जितेका मेसीले गत वर्ष मात्र आफ्नो अन्तर्राष्ट्रिय ट्रफीको खडेरी तोडेका थिए । अर्जेन्टिनाले ब्राजिललाई फाइनलमा हराएर कोपा अमेरिकाको उपाधि उचालेको थियो ।

‘यो सुन्दर कुरा हो कि अर्जेन्टिना बाहिरका धेरै मानिसहरूले हामी च्याम्पियन बनोस् भन्ने चाहन्छन् र यो धेरै जसो मेरो कारणले हो,’ मेस्सीले भने । ‘मेरो करियरमा मैले संसारभरि पाएको मायाको लागि म कृतज्ञ छु, र यहाँ कतारमा त्यसको यो अर्को उदाहरण हो ।’

विश्वकप अघि अर्जेन्टिना लगातार ३६ खेलसम्म अपराजित छ र साउदीसँग खेल्दा इटलीको नाममा रहेको ३७ खेलको अपराजित कीर्तिमानमा पनि अर्जेन्टिनाको नजर हुनेछ ।१८औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्ने लक्ष्यमा छ । छैटौं पटक विश्वकपमा पुगेको साउदी पनि नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

अर्जेन्टिना र साउदी अरेबियाबीच हालसम्म जम्मा चार खेल हुँदा अर्जेन्टिना अपराजित छ । चारमध्ये अर्जेन्टिनाले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको थियो ।समूह सी मा रहेको अर्जेन्टिनाले साउदीपछि मेक्सिको र पोल्याण्डसँग खेल्नेछ । मेक्सिको र पोल्याण्डबीच मंगलबार राति पौने १० बजे खेल हुनेछ ।