दोहा । पाँच मिनेटको अन्तरमा दुई गोल गरेसँगै एसियाली राष्ट्र साउदी अरेबियाले उत्कृष्ट पुनरागमनमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको छ ।पहिलो हाफमा १-० ले पछि परेको साउदी अरेबिया दोस्रो हाफ सुरु भएको चार मिनेटपछि नै खेलमा फर्किएको थियो ।
४९औं मिनेटमा साहेल अल सेहेरीले गरेको गोलमा साउदी अरेबिया खेलमा फर्किएको थियो ।त्यसको पाँच मिनेट पछि सलिम अल दस्वारीले गरेको गोलमा साउदी अरेबियाले अग्रता लिएको थियो ।यससँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सन् २०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना अपराजित रहँदै आएको थियो ।
साउदी अरेबिया र अर्जेन्टिना विश्वकपमा पहिलो पटक आमने सामने भएका थिए । जहाँ साउदी अरेबियाले बाजी मारेको हो । यससँगै समूह सी मा सुखद सुरुआत गर्ने दुई पटकको विश्वविजेता अर्जेन्टिना लक्ष्यले पूर्णता पाएन ।
यसअघि पहिलो हाफमा कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियोे ।१०औं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । आठौं मिनेटमा साउदीका रक्षक अल बुसायाहीले पाराडेजलाई बक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।
२८औं मिनेटमा लौटारो मार्टिनेज अर्जेन्टिनाले दोस्रो गोल गरेको थियो । तर, भिडियो सहयाक रेफ्रि (भिएआर) ले अफसाइड भएको भन्दै मार्टिनेजको गोललाई मान्यता दिएन ।
सन् १९५०, अमेरिका १–० इंग्ल्यान्ड
इंग्ल्यान्ड पहिलोपल्ट विश्वकपका लागि छनोट भएको थियो । इंग्ल्यान्डलाई उपाधिको बलियो प्रत्याशी पनि मानिएको थियो । तर यही इंग्ल्यान्ड त्यस्तो अमेरिकी टिमविरुद्ध पराजित रह्यो, जसका खेलाडी यताउता जम्मा गरेर बनाइएको थियो । बेलो होरिजोन्टेमा भएको खेलमा अमेरिकाका लागि जो गेटजेन्सले विजयी गोल गरे ।
सन् १९६६, उत्तर कोरिया १–० इटाली
पार्क डु–इक अचेल विश्वकप इतिहासको दन्तेकथाका नायक भएका छन् । उनकै गोल मदतमा उत्तर कोरियाले इटाली जत्तिको टिमलाई हराएको थियो । यो हार पनि कस्तो भने इटाली प्रतियोगिताबाटै बाहिरियो । घर फर्केयता इटालीका खेलाडीलाई रोममा उसका समर्थकले स्वागत गरेका थिए गोलभेंडा फालेर । यही उत्तर कोरिया इसिबोप्रेरित पोर्चुगलविरुद्धको क्वाटरफाइनलमा पराजित रह्यो ।
सन् १९८२, अल्जेरिया २–१ पश्चिम जर्मनी
स्पेनमा भएको विश्वकपमा अल्जेरियाको प्रतिष्ठा सुरुमा थियो, केही गर्न नसक्ने टिमका रूपमा । आखिरमा उत्तरी अफ्रिकी देशले पहिलोपल्ट विश्वकप खेलिरहेको थियो । तर यही अल्जेरियाले अन्तत: पश्चिम जर्मनीलाई हराएको थियो । उसका लागि रबाह मादजर र लाख्दर बेलाउमीले गोल गरे । पश्चिम जर्मनीका लागि भने कार्ल हेन्ज रुमेनिङ्गले हराएको थियो । पछि पश्चिम जर्मनीले विवादास्पद रूपमा अस्ट्रियालाई १–० ले हरायो । यो नतिजापछि ती दुवै टिम दोस्रो चरण पुगे । भनिन्छ, त्यो नतिजाका लागि दुवैले फाइदा पुग्ने गरेर खेलेका थिए ।
सन् १९९०, क्यामरुन १–० अर्जेन्टिना
डिएगो म्याराडोनाको नेतृत्वमा अर्जेन्टिना इटालीमा भएको विश्वकपमा डिफेन्डिङ च्याम्पियनका रूपमा पुगेको थियो । त्यसको चार वर्षअगाडि म्याराडोनाकै चमत्कारिक खेलपछि अर्जेन्टिना विजेता बनेको थियो । तिनै म्याराडोनाले पनि अर्जेन्टिनालाई क्यामरुनविरुद्धको खेलमा हारबाट जोगाउन सकेनन् । मिलानको सान सिरोमा भएको खेलमा विजयी गोल गरेका थिए, फ्रान्कोइस ओमाम–बियिक । त्यस खेलको अन्त्यमा क्यामरुन ९ खेलाडीमा सीमित रहेको थियो । क्यामरुनी टिम क्वाटरफाइनलसम्म पुगेको थियो ।
सन् २००२, सेनेगल १–० फ्रान्स
सन् १९९८ को विश्वकप तथा सन् २००० को युरो विजेता फ्रान्सलाई दक्षिण कोरिया र जापानमा भएको विश्वकपमा उपाधिका लागि फेरि बलियो प्रत्याशी मानिएको थियो । तर पहिलोपल्ट विश्वकप खेलिरहेको सेनेगेलले फ्रान्सको चुनौतीलाई सुरुमै कमजोर बनाइदियो । पापा बोउबा डिओपले खेलको एकमात्र गोल गरे र प्रसिद्ध अप्रत्याशित नतिजा सम्भव पारे । फ्रान्स अन्तत: पहिलो चरणबाटै बाहिरियो ।