कतार विश्वकपमा नाच्न तयार छन् ब्राजिलियन खेलाडी, कस्तो होला सर्बियाविरुद्धको खेल ?

कतार विश्वकपमा नाच्न तयार छन् ब्राजिलियन खेलाडी, कस्तो होला सर्बियाविरुद्धको खेल ?

दोहा: कतारमा जारी विश्वकपमा नाच्ने मौका धेरै पाउनेमा ब्राजिलियन खेलाडी आसावादी छन्। पाँच पटकको विश्व विजेता बिहीबार राति सर्बियाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्ने तयारीमा छ। ब्राजिलियन टिमका गोलका लागि मात्रै होइन, सबै १० गोलका लागि डान्स सेलिब्रेसनको तयारी गरेका छन्।

‘साँच्चै भन्नुपर्दा हामीले १० गोलसम्मका लागि डान्स सेलिब्रेसन तयारी गरेका छौं,’ ब्राजिलियन फरवार्ड राफिन्हाले भने, ‘हामीले प्रत्येक खेलका लागि १० डान्स सेलिब्रेसनको तयारी गरेका छौं। पहिलो गोलका लागि एक… दोस्रो गोलका लागि अर्को… र तेस्रो गोलका लागि फेरि अर्को…. यदि हामीले १० गोलभन्दा धेरै गोल गर्यौं भने फेरि नयाँ खोज्नुपर्छ।’

मुख्य प्रशिक्षक टिटेले राफिन्हासहित ९ जना फरवार्ड सम्मिलित आक्रामक ब्राजिलियन टिमको तयार गरेका छन्। पछिल्लो दुई दशकमा ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाउने लक्ष्यमा रहेका टिटेको प्रशिक्षकको हकमा यो अन्तिम प्रतियोगिता हुनेछ।

अर्का खेलाडी भिनिसियस जुनियर हुन्, जो रियाल मड्रिडमा गोलपछि गरेको डान्सका कारण विवादमा समेत धकेलिएका थिए। स्पेन र युरोपमा आलोचन भए पनि त्यसको पर्बाह नगरी भिनिसियस र टिममेट रोडरिगो डान्स गरिरहे।

विश्वकपमा पनि सँगै नाच्ने मौका पाए, उनीहरूले दर्शकलाई मनोरञ्जन दिने कुनै कसर बाँकी राख्ने छैनन्। राफिन्हा र नेइमारले आलोचना भइरहँदा पनि भिनिसियसलाई खुलेर समर्थन गरेका थिए।

यो वर्ष ब्राजिलियन टिमका अग्र गोलकर्ता रिचार्लिसन पनि प्राकृतिकरुपमै टिमले गोल निकाल्न सक्नेमा आसावादी छन्।‘जब तपाई ब्राजिलियन टिममा ९ नम्बर जर्सी लगाउनुहुन्छ, तपाईँले चाहने सबै कुरा भनेकै गोल गर्नु हो,’ उनी भन्छन्, ‘र, यो टिमसँग गोल निस्कनेमा म विश्वस्त छु।’

टिटेले छानेका अरू फरवार्ड पेड्रो, एन्टोनी, गाब्रियल जिजस र गाब्रियल मार्टिनेली हुन्। बिहीबार राति सर्बियाविरुद्धको खेमला रिचार्लिसन, राफिन्हा र नेइमारले मौका पाउने सम्भावना छ। तर, टिटेले आक्रमणको सुरुआत कसरी गराउँछन् भन्ने हेर्न रोमाञ्चक हुनेछ।

टिटेले मिडफिल्डर लुकास पाक्वेटालाई वा भिनिसियसलाई अग्रपंक्तिमा राख्न सक्छन्।‘भिनिसियस हुँदा हाम्रो टिमको गति एकदमै छिटो हुनेछ, अर्कातिर पाक्वेटाले मिडफिल्डमा राम्रो सन्तुलन बनाउन सक्छन्,’ राफिन्हाले भने, ‘तर, जो सुकै पिचमा भए पनि ब्राजिलसधैँ आक्रमक शैलीमा हुन्छ।’

समूह ‘जी’मा परेको ब्राजिलले अन्य खेलमा स्वीटजरल्यान्ड र क्यामरुनको सामना गर्नेछ। सन् २००२ को फाइनलमा रोनाल्डोको नेतृत्वमा रहेको ब्राजिलले जर्मनीलाई पराजित गर्दै पछिल्लो पटक विश्वकप जितेको थियो।

गत वर्ष कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजित भएको ब्राजिल सन् २०१९ पछि पहिलो ठूलो उपाधि जित्ने तयारीमा छ। सन् २०१९ मा पेरुलाई फाइनलमा पराजित गर्दै ब्राजिलले कोपा अमेरिका जितेको थियो।