फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित हात पारेको छ।समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएको हो।पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले पराजित अर्जेन्टिनाका लागि आजको खेलमा मेसी र फर्नान्डेजले एक एक गोल गरे।
मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल गरेका थिए। यससँगै मेसीले विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्याएका छन्।पहिलो गोल गरेका मेसीले दोस्रो गोलका लागि पास उपलब्ध गराए। उनले ८७ मिनेटमा दिएको पासमा इन्जो फर्नान्डेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए।
जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा पुग्ने आसा जीवितै राखेको छ। समूहमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३ अंक भएको छ। शीर्ष स्थानको पोल्यान्डको ४ अंक छ भने साउदीले ३ अंक र मेक्सिकोले १ अंक जोडेका छन्।
पहिलो हाफमा गोल नहुँदा अर्जेन्टिनामाथि दबाब बढेको थियो। ६४ मिनेटमा मेसीले बायाँ खुट्टाले पासलाई नियन्त्रण दिँदै पहिलो टचमै मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआलाई कुनै मौका नदिइ २० यार्डबाट गोल गरे।८८ हजार दर्शक उपस्थित रंगशालामा अर्जेन्टिनाले दर्शकको भरपुर साथ पाएको थियो। अब समूहको अन्तिम खेलमा पोल्याण्डविरुद्धको जितले अर्जेन्टिनालाई नकआउट चरणमा पुर्याउनेछ।
दोस्रो हाफपछि अतिरिक्त खेलाडीको रूपमा प्रवेश गरेका इन्जोले ८७ मिनेटमा गोल गरे। मेसी विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। अब उनीभन्दा अगाडि गार्बियल बाटिस्टुटा मात्र छन्। बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका छन्।
पछिल्लो विश्वकपमा अर्जेन्टिनाले गरेको १६ मध्ये १० गोलमा मेसीको प्रत्यक्ष योगदान रहेको छ। उनले यसअवधिमा ७ गोल आफैले गरेका छन् भने ४ वटा गोलका लागि पास मिलाइदिएका थिए।
मेक्सिकोसँगको जितपछि समूह ‘सी’ मा ३ अंक जोडेर अर्जेन्टिना माथि उक्लिएको छ। उसले आज हारेको भए प्रतियोगिताबाट बाहिरिने थियो। अब अर्जेन्टिनाले अन्तिम खेल पोल्याण्डसँग खेल्ने छ। पोल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ।
मेक्सिको अब समुहको फाइनलमा साउदी अरेबियाको बिरूद्ध अगाडि बढ्ने मौका पाउनको लागि अधिकतम गोल गरेर जित्न आवश्यक छ। पहिलो खेलमा पोल्यान्डसँग गालरहित बराबरी खेलको मेक्सिकोले अन्तिम खेलमा साउदी अरबको समाना गर्नेछ ।