काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित सकिएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल गरेको थियो ।
अर्जेन्टिनाको जितमा लियोनेल मेसीले महत्वपूर्ण भूमिका खेलेका थिए । मेसीले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए भने ८७औँ मिनेटमा इंजो फेर्नानडेजले गरेको गोल असिस्ट पनि गरेका थिए ।
विश्वकपको पहिलो खेल साउदी अरेबियासँग हारेर दबाबमा परेको अर्जेन्टिनालाई नकआउटचरणमा पुग्न बाँकीका दुवै खेल जित्नै पर्ने अवस्थामा मेक्सिकोविरुद्धको यो खेल जितेर उत्कृष्ट कम्ब्याक गरेको छ ।
समुह सी मा रहेको अर्जेन्टिनाको यो जितपछि २ खेलमा ३ अंक भएको छ । यस समुहमा पोल्याण्ड २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना २ खेलमा ३ अंकसहित दोस्रो र साउदी अरेबिया २ खेलमा ३ अंकसहितनै तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै मेक्सिकोको २ खेलमा १ अंक छ र समुहमा अन्तिममा रहेको छ । अब यस समुहबाट नकआउट चरणमा जानका लागि अन्तिम खेको नतिजा पर्खिनुपर्ने भएको छ । अन्तिमखेलमा अर्जेन्टिनाले पोल्याण्डको सामना गर्ने छ भने साउदी अरेबियाले मेक्सिकोको सामना गर्ने छ । खेलमा प्लेयर अफ द म्याच चुनिएका मेस्सीले लुसेल रंगशालामा जितपछि पत्रकार सम्मेलनमा यसो भने ।
प्रश्न : प्रशिक्षक स्कालोनीले पनि खेलअघि टोली केहि हतोत्साहित भएको बताएका थिए । पहिलो खेलको नतिजापछि दोस्रो खेलको तयारीमा अवस्था कस्तो थियो ?
मेस्सी : साउदीविरुद्ध खेलमा अनपेक्षित हार थियो । हामी सबै त्यसबाट निकै निराश थियौं । हामी फेरी अवसर निकाल्न चाहन्थ्यौं । त्यसका लागि आजको खेल निकै महत्त्वपूर्ण थियो । आजको खेलमा राम्रो नतिजा नआएको भए सबै सम्भावना बन्द हुन्थ्यो ।
आज जित हासिल गरेमात्र अर्को अवसर आउने थियो । त्यसैले हामी सबैमा केहि दबाब थियो । खेल हाम्रो पक्षमा ल्याउने सबै जिम्मेवारी हामी माथि थियो । र त्यसमा अन्तत: सफल पनि भयौं ।
प्रश्न : मेक्सिकोका प्रशिक्षक मार्टिनोले अर्जेन्टिनालाई खेल्न सहज हुने छैन भनेका थिए । यहाँको विचारमा खेल कस्तो रहयो ?
मेस्सी : मलाई लाग्छ पहिलो हाफमा मलाई निकै कठिन थियो । हामीलाई जित अति आवश्यक थियो । मेक्सिकोले हामीलाई बल खेल्न दिइरहेको थिएन । यस्तो अवस्था आउँछ भन्ने थाहा थियो र दोस्रो हाफमा हामी फर्कनुको विकल्प थिएन ।
दोस्रो हाफमा बल खेल्ने अवसर पाउन थालेपछि हामीले आफ्नो खेल खेल्न थाल्यौं । खुला ठाउँ भेट्न थालेपछि हाम्रो रणनीति प्रयोग गर्न सहज भयो । त्यसपछि गोल निस्केसँगै आफ्नो पकडमा खेल आयो ।
दोस्रो गोल निस्केपछि जित आइसकेको थियो । हामीलाई जित आवश्यक थियो, त्यो दबाबले पनि पहिलो हाफ राम्रो भएन । हाफ टाइममा खुलेर खेल्न र केहि संयमित हुने सल्लाह भएको थियो । मानसिक रुपमा शान्त रहन पनि यो जित निकै महत्त्वपूर्ण छ । पोल्याण्डविरुद्ध खेलको रणनीति बनाउन पनि आजको जित चाहिने थियो ।
प्रश्न : पहिलो हाफ र दोस्रो हाफमा के फरक भयो? र एन्जोको बारेमा बताइदिनुहोस ।
मेस्सी : हामी यो खेलबाट के चाहन्थ्यौं भन्नेमा प्रष्ट थियौं । तर सुरुवातमा हामी हतार गरिरहेको महसुस भएको थियो । बल आउनेबितिक्कै खेल्ने भएकाले पनि गल्ती भइरहेको थियो । त्यसैले दोस्रो हाफमा संयमित भएर खेल्न भन्यौं ।
एन्जो निकै राम्रा खेलाडी हुन् । हामी दैनिक प्रशिक्षणमा उनलाई नजिकबाट बुझेका छौं । क्लब फुटबलमा उनले च्याम्पियन्स लिग खेलेका छन् । उनी युवा छन् र अन्य खेलाडीजस्तै हाम्रो लागि महत्त्वपूर्ण भूमिकामा छन् ।