दोहा । खुट्टाको चोटका कारण साउदी अरेबियाका कप्तान सलमान अल-फराजले कतार विश्वकप २०२२ का बाँकी खेल गुमउने भएका छन ।समूह सी मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो । दोस्रो खेलमा भने साउदी अरेबियाले पोल्यान्डलाई नतिजा सुम्पिएको थियो ।
दुई खेलबाट तीन अंक जोडेको साउदी अरेबियाको समूह चरण पार गर्ने सम्भावना जीवितै छ । अन्तिम खेलमा साउदी अरेबियाले मेक्सिकोको सामना गर्दैछ । मेक्सिकोले भने दुई खेलमा मात्र एक अंक जोडेको छ । शीर्ष स्थानको पोल्यान्डको चार अंक छ भने अर्जेन्टिनाको दुई अंक छ । उनी अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका थिए । अल-फराजले चोटकै कारण पोल्यान्डविरुद्धको खेल गुमाएका थिए । उनले साउदी अरेबियाबाट ७१ खेल खेलेका छन् ।
पहिलो जितको खोजीमा घाना र दक्षिण कोरिया
घाना र दक्षिण कोरिया आज कतार विश्वकप २०२२ अन्तर्गत समूह एच को खेलमा आमने सामने हुँदैछन ।एजुकेश सिटी रंगशालामा हुने खेलमा घाना पहिलो खेलमा पोर्चुगलविरुद्ध गरेको प्रदर्शन कायम राख्दै अन्तिम १६ प्रवेशको ढोका खुला राख्न चाहन्छ । यद्धपी सो खेलमा घाना ३-२ ले निराश भएको थियो ।
यता दक्षिण कोरियाले भने दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो । सो खेलमा उल्लेख्य प्रदर्शन गर्न नसकेको दक्षिण कोरिया घानाविरुद्ध भने सुधारिएको प्रदर्शनसहित समूह चरण पार गर्ने सम्भावना कायम राख्न चाहन्छ ।
समूह एच मा तीन अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ । उरुग्वे र दक्षिण कोरियाको समान एक अंक छ भने घाना अंकविहिन छ ।समूहको अन्तिम खेलमा दक्षिण कोरियाले बलियो मानिएको पोर्चुगलको सामना गर्नेछ । त्यसैले घानाविरुद्धको हार वा बराबरीले दक्षिण कोरियाको नकआउट चरण प्रवेशको लक्ष्यमा धक्का लाग्नेछ ।
सन् २०१८ को विश्वकपमा पनि दक्षिण कोरियाको यात्रा समूह चरणमा सीमित भएको थियो । दक्षिण कोरियाले विश्वकपको पछिल्लो तीन खेलमा गोल खाता खोल्न सकेको छैन । दक्षिण कोरिया घानाविरुद्ध विश्वकपमा आफ्नो गोल खडेरी तोड्न चाहन्छ ।