१२ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा जर्मन समर्थकमा एक अलग अन्दाज देखियो । उनीहरु टिमका पूर्व मिडफिल्डर मेसुट ओजिलको स्केचसहित हातले मुख छोपेर उनीमाथि भएको रंगभेदी व्यवहारको विरोध गरिरहेका थिए ।
ओजिललाई हाल कतार विश्वकपमा जर्मनीका धेरै समर्थकहरुले सम्झिएका छन् ।जर्मन टिमले पनि उनीविरुद्ध भएको रंगभेदी व्यवहारको प्रतिकारस्वरुप ‘वान लभ’ आमब्यान्ड लगाउने घोषणा गरेको थियो । तर, फिफाले त्यस किसिमका कुनै पनि ब्यान्ड लगाउन नपाउने भने पछि खेलाडीले फिफाको विरोधमा प्रिम्याचमा हुने सामुहिक फोटोसुटमा पनि हातले मुख छोप्दै आएका छन् ।
त्यतिमात्रै होइन मेसुटमाथिको ‘अन्याय’को विरोधमा समर्थकको समूह पनि देखियो । जर्मन समर्थकले ओजिलको फोटोसहित हातले मुख छोप्दै प्रतिकारात्मक हाउभाउ देखाएका हुन् । ओजिलले आफ्नै देश जर्मनीमा पनि अनुचित व्यवहारको सामना गर्नुपरेको थियो ।
बुधबार जर्मन राष्ट्रिय फुटबल टिमको अफिसियल ट्वीटर ह्यान्डलबाट हातले मुख छोपेको फेटो सहित ‘यो कुनै राजनीतिक बयान दिनेबारे होइन । मानवअधिकार गैरवार्तालाप योग्य छन् । यसलाई सामान्य रुपमा लिनुपर्छ तर, अझै यसलाई त्यो तरिकाले लिइएको छैन । त्यसैले यो सन्देश हाम्रो लागि अझै पनि महत्वपूर्ण छ । हाम्रो अर्मब्यान्ड लगाउने निर्णय अस्वीकार गर्नु भनेको हाम्रो कुरालाई छेक्न खोज्नु सरह हो । हामी हाम्रो स्थानमा तटस्थ छौं ।’
मेसुट ओजिल, टर्किस मूलका जर्मन आप्रवासी हुन् । उनले जर्मन फुटबल महासंघ, समर्थक र सञ्चारमाध्यमबाट पनि निशाना ब्यहोर्नुपरेको थियो । सन् २०१८ को विश्वकपमा जर्मन टिम समूह चरणबाटै बाहिरिएपछि सबैभन्दा निशानामा परेका खेलाडी उनै ओजिल थिए । उनलाई टर्कीको नागरिकका रुपमा गैरजर्मन देखाउने प्रयास गरिएको थियो ।
उनलाई २०१८ मा जर्मन विश्वकपबाट बाहिर हुनुको कारण र रंगभेदी भएको आरोप लागेको थियो । जसका कारण उनले जर्मन टिमबाट सन्यास लिएका थिए ।उनले त्यतिबेला ट्वीटरमा लेखेका थिए, ‘हामीले खेल जित्दा म जर्मन हुन्थें, हारेको खण्डमा आप्रवासी र अनागरिक हुन्थेँ ।’उनी आफ्नो समयका उत्कृष्ट मिडफिल्डर हुन् । उनको आकास्मिक सन्यासले धेरैलाई स्तब्ध बनायो ।
‘म मन गरुङ्गो बनाइ धेरै सोचविचार गरेर यो निर्णय लिँदै छु । म अन्तर्राष्ट्रिय स्तरका लागि अब जर्मनको लागि खेल्ने छैन । जबकी टिममा मेरो लागि रंगभेदी र अनादरको भावनाले हेरिन्छ । म जर्मनको जर्सी निकै गर्वका साथ लगाउँथे तर अब लगाउने छैन, रंगवादी व्यवहार कहिल्यै पनि स्वीकार्य छैन,’ उनले ट्वीटरमा लेखेका थिए ।
२०१८ को विश्वकप अघि उनी र उनका अर्का टिममेट इल्के गुन्डोगानले टर्कीका राष्ट्रपतिसँग सँगै खिचेको तस्वीर सार्वजनिक भएको थियो । गुन्डोगान पनि टर्किस आप्रवासी हुन् । दुवैलाई त्यसपछि समर्थकले मजाक बनाएका थिए ।
ओजिललाई भने विश्वकप सकिएपछि अझ धेरै घृणा र हेययुक्त व्यवहार गर्न थालिएको थियो । जर्मन टिमका फुटबल म्यानेजर ओलिवर बिरहाफ र फुटबल महासंघका अध्यक्ष रेइनहार्ड ग्रिन्डेलले पनि उनीमाथि लागेको आरोपमा आगो लगाउने काम गरेका थिए । ओजिलसँगै दुर्व्यवहारको सामना गरेका गुण्डोगानले आइतबार स्पेनसँग १–१ बराबरी खेलेपछि आफूले फुटबललाई मात्र प्राथमिकतामा राख्ने बताए ।