१४ मंसिर, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ ।मंगलबार इक्वेडरलाई २-१ ले पराजित गरेपछि सेनेगल ६ अंक जोड्दै समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्दा हालका प्रशिक्षक अलिओउ सिसेको रमाइलो संयोग जोडिएको छ ।सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भयो ।
सेनेगलको यो दुवै टिमको हिस्सा थिए अलिओउ सिसे ।सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर शनसनी मच्चाउँदै क्वाटरफाइनल सम्म पुग्दा सिसेले नै सेनेगलको कप्तानी गरेका थिए ।दुई दशकपछि सेनेगलले विश्वकपको समूह चरण पार गर्दा टच लाइनमा उनै सिसे प्रशिक्षकको भूमिकामा छन् ।
उनकै प्रशिक्षणमा सेनेगलले गत वर्ष अफ्रिकन कप अफ नेसन्सको उपाधि समेत जितेको थियो ।यस पटक सेनेगलका कप्तान तथा स्टार फरवार्ड साडियो माने विश्वकपको मुखैमा आएर घाइते हुँदा सेनेगललाई सुरुमै झड्का लागेको थियो ।
त्यसपछि पहिलो खेलमै सेनेगल नेदरल्याण्ड्ससँग पराजित भयो । तर, सिसेको टिमले त्यसपछि कमब्याक गर्यो । दोस्रो खेलमा कतारलाई ३-१ ले र तेस्रो तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले हरायो ।
सिसेले सेनेगललाई कप्तान र प्रशिक्षकको रुपमा पनि अफ्रिकन कपको फाइनलमा पुर्याएका थिए ।खेलाडीको रुपमा जित्न नसकेको अफ्रिकन कप उनले प्रशिक्षकको रुपमा जितेका थिए । अहिले उनी सेनगल फुटबलको लेजेण्डको रुपमा रहेका छन् ।
पूर्व मिडफिल्डर सिसेले खेलाडी हुँदा खासै सफलता पाउन सकेका थिएनन् । तर प्रशिक्षकका रुपमा भने उनले सेनेगललाई ठूलो उपलब्धि दिलाइसकेका छन् । साडियो माने र कालिडोउ कोउलीबेली जस्ता खेलाडीलाई उनले सही रुपमा सदुपयोग गर्दै आएका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलेका उनले प्रिमियर लिगमा बर्मिङहम सिटी र पोर्ट्समाउथबाट समेत खेलेका थिए । खेलाडी हुँदा आफ्नै कप्तानीमा सेनेगललाई क्वाटरफाइनल पुर्याएका सिसेसामू प्रशिक्षकको रुपमा अझै ठूलो सपलता ल्याउने चुनौती र अवसर दुवै छ ।