ट्युनिसियाविरुद्ध भीएआरले देखायो अफसाइड, फ्रान्सेली फुटबल संघले दियो फिफामा उजुरी ! के हो भीएआर ?

ट्युनिसियाविरुद्ध भीएआरले देखायो अफसाइड, फ्रान्सेली फुटबल संघले दियो फिफामा उजुरी ! के हो भीएआर ?

काठमाडौं । फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो । उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १-० ले पराजित भएको थियो ।

एजुकेसन सिटी स्टेडियममा ट्युनिसिया विरुद्ध एक गोलले पछि परेको अवस्थामा ग्रिजमनले इन्जुरी टाइमको अन्तिम तथा आठौं मिनेटमा गोल गरेका थिए । तर रेफ्री म्याथ्वु कोङ्गरले भीएआरको सहयोगपछि उक्त गोललाई अफसाइड दिएका थिए । जसले गर्दा फ्रान्स पराजित भयो । चुवामेनीले बल क्रस गर्दा ग्रीजमन अफसाइडमा देखिएका थिए । तर बल आइसकेपछि उनी अनसाइडमा देखिएका थिए ।

एफएफएफले खेल सकिएको २४ घण्टा भित्रमा फिफामा उजुरी हाल्न पाउने जनाएको छ । यसबारे अन्य केही जानकारी भने आएको छैन । साविक विजेता फ्रान्सले सन् २०१४ मा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएयता विश्वकपमा पहिलो पटक पराजित भएको हो । हारका बावजुत पनि समूह ‘डी’ मा ६ अंक जोड्दै फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । फ्रान्सले अब समूह ‘सी’ को उपविजेता पोल्याण्डसँग खेल्नेछ ।

के हो भीएआर प्रविधि
विश्वकपका हरेक खेलका हरेक कुनामा नजर राख्न क्यामरा राखिएका छन्। फुटबलमा रेफ्रीको गलत निर्णयले उत्पन्न हुनसक्ने विवाद कम गर्न लागू गरिएको भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीमा त्यसमार्फत नै काम भइरहेको छ।

गएको रसिया विश्वकपदेखि नै भीएआर प्रविधि सुरु भएको भए पनि अहिले कतार विश्वकपसम्म त्यसको प्रयोग निकै परिष्कृत भइसकेको छ। जसले रेफ्रीको निर्णयमा पुनर्विचार गर्दै नतिजा उल्टिएका पनि छन्।

विश्वकपको सुरुवाती खेलमा नै आयोजक कतारविरुद्ध इक्वेडरका इनर भ्यालेन्सियाले सुरुवाती समयमा नै गोल गरेका थिए, जसलाई भीएआरको प्रयोगपछि ‘अफसाइड’ देखाइयो। विश्वकप दाबेदार टिमका रुपमा हेरिएको अर्जेन्टिनालाई साउदी अरबले मंगलबार २-१ गोलले हराउँदा पनि भीएआरको प्रयोग महत्वपूर्ण रह्यो। जसले भीएआरको प्रयोगले फुटबलमा यस प्रविधिको महत्व के हो भन्ने बुझाएको छ।

पछिल्लो पाँच वर्षयता नै विश्वका प्रतिष्ठित लिग फुटबलमा भइरहेको यसको प्रयोगले पनि भीएआरका विपक्षमा उठिरहेका आवाजहरू कमजोर हुँदै गइरहेका छन्। रसिया विश्वकपमा नै त्यसअघिको १३ पेनाल्टी गोलको कीर्तिमान तोडिँदै २९ पेनाल्टी भएका थिए। जसमा भीएआर महत्वपूर्ण सावित भएको थियो।

यो प्रविधिले फुटबल खेललाई आधारभूत रुपमा फरक पार्न सक्ने प्रमाणित भइरहेकै छ। यसले खेलमा रेफ्रीले गरेका केही महत्वपूर्ण निर्णयहरू उल्ट्याएर नतिजामा नै फरक पार्न सक्छ।

यसका समर्थकहरूले भीएआरले निर्णयहरू निष्पक्ष बनाउन सुनिश्चितता गर्ने र उत्कृष्ट टिमले जित्ने दावी गर्छन्। तर, यी समर्थकहरू यो प्रविधिको प्रयोगमा केही रेफ्रीहरू अझै पनि दुविधामा रहेको स्वीकार्छन्।

रसिया विश्वकपमा प्रयोग गरिएको प्रविधिबाट अघि बढ्दै कतार विश्वकपमा ‘सेमी अटोमेटेड अफसाइड’ प्रविधिको प्रयोगसमेत भइरहेको छ। जसले छिटो र सटिक ढंगले निर्णय लिन सहयोग गरिरहेको छ। जसका लागि छुट्टै १२ वटा क्यामराहरू मैदानमा जडान गरिएका छन्। जसले हरेक खेलाडीमाथि चनाखो निगरानी गरिरहेको हुन्छ। जसले निकै नै अप्ठ्यारो परिस्थितिमा पनि ‘अफसाइड’को निर्णयलाई सहज बनाइरहेको छ।

भीएआरले कसरी काम गर्छ?

खासमा यो एक थप रेफ्री हो जसले खेल हेरेर अफिसियलहरूलाई निर्णयमा सल्लाह दिन्छ। अभ्यासमा भने यो अलि जटिल हुन सक्छ।केही रेफ्रि भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा छानिन्छन्। खेल जहाँ भएपनि उनीहरू विशेष स्थानमा रेफ्रीले लगाउने कपडा लगाएर बसेका हुन्छन्, उनीहरूलाई देख्दा लाग्छ उनीहरू मैदानमा जतिखेर पनि प्रवेश गर्न सक्छन्। यीमध्ये एकजना प्रत्येक खेलको लागि चुनिन्छन् र उनीहरूको तीन सहयोगीसहितको टिम हुन्छ।

त्यहाँ उनीहरूले रंगशालाभित्रबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्, जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।

भीएआरले सबै खेल पूरै हेर्छन्। यदि उनीहरूले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। त्यसपछि रेफ्रीले आवश्यक ठानेमा उनी भीएआरसँग जोडिन सक्छन्। अथवा रेफ्रिले आफूले निर्णय दिइसकेपछि पनि केही दुविधा भएर भीएआरको सहयोग लिन चाहेमा लिन सक्छन्। यस्तोमा भीएआरले सल्लाह दिने मात्रै हो। यदि भीएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने मैदानमा रहेका रेफ्रीमै हुन्छ।