मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
खेलकुद

२० वर्षअघिको विश्वकपको झल्को, स्पेन र जर्मनीलाई ढालेर नकआउट चरणमा जापान

Himali Patrika 1 मिनेट पढाइ

दोहा। २० वर्षअघि एसियामै आयोजित विश्वकपको झल्को दिँदै जापान यसपटक नकआउट चरण पुगेको छ। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपमा २ एसियाली टोलीले शानदार प्रदर्शन गर्दै पहिलो चरणमा समूह विजेता बनेका थिए।

त्यतिबेला जापानले समुहमा दुई जित र एक बराबरी खेल्दै अपराजितसहित समूहको शीर्षस्थानमा रहेर अगाडि बढेको थियो। बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको जापानले त्यसपछि रुस र ट्युनिसियालाई हराएर समूहको शीर्षस्थानमा रहेको थियो। अर्को आयोजक दक्षिण कोरियाले पोल्यान्ड र पोर्चुगललाई हराएको थियो भने अमेरिकासँग बराबरी खेलेर समूह विजेता बनेको थियो।

विश्वकपमा एसियाली टोली समुह विजेता बनेको त्यो नै पहिलो र अन्तिम संस्करण थियो। तर कतारमा जारी विश्वकपमा जापानले अस्वभाविक नतिजा निकालिरहेको छ। दुई पूर्व विजेता रहेको समूहबाट विजेता बन्दै जापान नकआउट चरण पुगेको छ। ग्रुफ अफ डेथ मानिएको यो समुहमा जापानले पुर्व विजेता जर्मनी र स्पेन दुवैलाई पराजित ग¥यो। कोस्टारिकासँग भने पराजित भएको थियो।

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको थियो।। त्यसयताका हरेक संस्करणमा सहभागी हुँदै आएको छ। विश्वकपमा आफ्ना सात सहभागितामा जापान चौथोपटक नकआउट चरण पुगेको हो। जापानी टोली विश्वकपमा प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढेको भने इतिहास छैन। गत संस्करणमा पनि दोस्रो चरणसम्म पुगेको थियो।

जारी प्रतियोगितामा जापानका ३९ वर्षीय गोलकिपर ऐजी कावासिमाले शानदार प्रदर्शन गरिरहेका छन्।। कप्तान माया योसिदा र डिफेन्डर युतो नागातोमा सबैभन्दा अनुभवी सदस्य हुन्। जापानका वर्तमान टोलीमा कम्तिमा एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने यी दुई जना मात्र हुन्। २५ वा सोभन्दा कम उमेरका ११ जना टोलीमा छन्। यस्तै ३० वा सोभन्दा बढी उमेरका ८ जना छन्। जापानको अहिलेको टोलीमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीका रुपमा १७ गोल गरेका ताकुमी मिनामिनो हुन्। उनीपछि दोस्रो स्थानमा १२ गोलसहित कप्तान योसिदा रहेका छन्।

जापानले अब क्वाटरफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। पूर्व खेलाडी हाजिमे मोरियासुको प्रशिक्षणमा जापान रहेका छन्। जापानका लागि ३५ अन्तर्राष्ट्रिय खेल पनि खेलेका मोरियासु सन् २०१८ यता राष्ट्रिय टोलीको प्रशिक्षक रहेका छन्।

उनले खेलाडीका रुपमा सन् १९९२ मा एसिया कपमा फाइनलसम्मको यात्रा तय गरेका थिए। प्रशिक्षकका रुपमा उनले तीनपटक जे लिगको उपाधि जितेका छन् भने तीन वर्षअघि जापानलाई एसिया कपको फाइनलसम्म पुर्‍याएका थिए। यस्तै चार वर्षअघि आयोजित एसियन गेम्समा जापानलाई फुटबलको रजत पदक जिताएका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।