१७ मंसिर, काठमाडौं । नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १-० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान समाप्त भएको छ ।
खेलको इन्जूरी समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई ठूलो जित दिलाएका हुन् । तर, गोलपछि जर्सी फुकालेका कारण उनले खेलको दोस्रो पहेलो कार्ड पाए र मैदान छाड्न बाध्य रहे ।
स्टार स्ट्राइकर ब्रायन एमबुएमोको साथमा क्यामरुनले खेलभर ब्राजिलमाथि दवाव राखेको थियो । तर, लिभरपुलका एलिसनको स्थानमा खेलेका म्यानचेस्टर सिटीका एडर्सनले शानदार बचार गरेका थिए । स्वीट्जरल्याण्डले सर्वियालाई पराजित गरेपछि जारी विश्वकपमा कुनै पनि अफ्रिकी टोलीले नकआउट चरणको यात्रा तय गर्न सकेनन् ।
यसअघि नै नकआउटमा स्थान सुरक्षित गरेको ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले अघिल्लो खेलको टिमबाट १० खेलाडी परिवर्तन गरेका थिए । खेलमा आर्सनलबाट खेल्ने गाव्रियल मार्टिनेलीले आफूलाई प्रमाणित गरेका छन् ।प्रतियोगिताको मुख्य दावेदार ब्राजिल समूह जी को विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । उसले क्वाटरफाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्नेछ ।
यस्तै, गएराति भएकाे खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेकाे छ । पराजित घाना समूह चरणबाट बाहिरिएकाे छ । उसले ३ खेलमा ३ अङ्क जोडेकाे थियाे। उरुग्वे समूह ‘एच’ काे तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण कोरियासँग गोल अन्तरमा पछि परेकाे उरुग्वे समान अङ्क जोडे पनि बाहिरिएको हो ।
यस्तै, गएराति भएकाे अर्काे खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएकाे छ । जितसँगै ३ खेलमा ६ अङ्क जोडेकाे स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेकाे छ । जितसँगै स्विट्जरल्यान्ड ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।