मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

पेनाल्टी एरिया भित्रबाट मेसीको सुन्दर गोल जसले पुर्यायो अर्जेन्टिनालाई क्वार्टरफाइनलमा

Himali Patrika 1 मिनेट पढाइ

फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।

मेसीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गर्दै दुई पटकको च्याम्पियनलाई अग्रता दिलाएका थिए।आफ्नो करिअरको एक हजारौं खेल खेलिरहेका मेसीले विश्वकपको नकआउट चरणमा गरेको यो पहिलो गोल हो। अस्ट्रेलियन मिडफिल्डर नह्युल मोलिनालाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रि–किक पाएको थियो। सोही फ्रि–किकमा बनेको मुभमा मेसीले अर्जेन्टिनाका लागि ९४औं गोल गरे।

पेनाल्टी एरियाको दायाँतर्फबाट फ्रि–किक प्रहार गरेर १८ यार्ड बक्समा रन बनाएका मेसीलाई निकोलस ओटामेन्डीले असिस्ट दिएका थिए।सुरुआतदेखि नै संगठित रक्षात्मक शैली देखाएको अस्ट्रेलियाले अर्जेन्टिनालाई ओपन प्लेमा स्पष्ट मौका बनाउन भने दिएन। तर, ‘सेट पिस’मा मार्क गर्न नसक्दा सकरुज पहिलो हाफमा १–० ले पछाडि परेको थियो।

दोस्रो हाफमा थप आक्रमक बनेको अर्जेन्टिनाका लागि ५७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गरेका थिए। अस्ट्रेलियन गोलपिकर म्याथ्यु रायनले गरेको गल्तीको फाइदा उठाउँदै युवा फरवार्ड अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए।
क्र्याग गुडविनले ७७औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो। फर्नान्डेजको आत्मघाती गोलसँगै स्कोरलाइन २–१ मा छोट्याएको अस्ट्रेलियाका लागि अजिज बेहिचले उत्कृष्ट मौका सिर्जना गरेका थिए।

मैदानको करिब बीच भागबाट शानदार रन बनाएका बेहिचले पेनाल्टी एरिया भित्र पुर्र्याएर गरेको सशक्त प्रहारलाई अर्जेन्टाइन डिफेन्डर लिसान्ड्रो मार्टिनेजले असफल बनाएका थिए।

इन्जुरी समयमा कप्तान मेसीले दिएको सुन्दर पासमा अर्जेन्टाइन फरवार्ड लौटारो मार्टिनेज गोल गर्न असफल रहे। उनले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार रायनले असफल पारिदिएका थिए।

अर्जेन्टिना समूह ‘सी’को विजेता र अस्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा आइपुगेको थियो। आजको जितसँगै क्वार्टरफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँग खेल्ने छ। शनिबार नै भएको खेलमा अमेरिकालाई २–१ गोलको नतिजामा पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगिसकेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।