पहिलो हाफमै ब्राजिलले कोरियालाई ४ गोल हान्यो

पहिलो हाफमै ब्राजिलले कोरियालाई ४ गोल हान्यो

दोहा: पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत दक्षिण कोरियाविरुद्धको पहिलो हाफमा ४–० को अग्रता लिएको छ।

एसियाली मुलुकमाथि सुरुआतदेखि नै आक्रामक बनेको ब्राजिलले सातौं मिनेटमा अग्रता लिएको थियो। राफिन्हाले दायाँ तर्फबाट गरेको क्रसमा रिचार्लिसन र नेइमारले ट्याप इन गर्न नसक्दा बायाँतर्फ अन्मार्क्ड रहेका भिनिसियस जुनियरको खुट्टामा बल पुगेको थियो। भिनिसियस पेनाल्टी एरिया भित्रबाट सहज प्रहार गर्दै ब्राजिलको खाता खोलेका थिए।

वु योङ जुङले रिचार्लिसनलाई १८ यार्ड बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने मौका पाएको थियो। सोही पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले अग्रता २–० मा लम्ब्याएका थिए।

कोरियाली अट्याकर वाङ ही चानले १७औं मिनेमा पेनाल्टी एरिया बाहिरबाट गरेको सशक्त प्रहार ब्राजिलियन गोलकिपर एलिसन बेकरले पञ्च आउट गरिदिएका थिए। एलिसनले क्लियर गरेसँगै पाएको कर्नरमा कोरियाले आक्रामण बुन्न सकेन।

सम्हालिन नसकेको कोरियाली रक्षापंक्तिको बीचमा उत्कृष्ट ढङ्गले बल नियन्त्रणमा लिएर आफैँलो सिर्जना गरेको मौका रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गरे। पेनाल्टी एरिया अगाडि कप्तान टिएगो सिल्भालाई पास दिएर ६ यार्ड बक्समा रन बनाएका रिचार्लिसनले उत्कृष्ट फिनिस गरे।

बायाँतर्फबाट ३७औं मिनेटमा भिनिसियसले दिएको पासमा लुकास पाक्वेटाले भलीमार्फत ब्राजिलका लागि चौथो गोल गरेका थिए।

लिग चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को नतिजामा परातिज भए पनि ब्राजिल समूह ‘जी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको हो। समूह ‘एच’को अन्तिम खेलमा पोर्चुगललाई २–१ नतिजामा पराजित गर्दै तालिकाको दोस्रो स्थानमा रहेर १२ वर्षपछि अन्तिम १६ मा पुगेको हो।

चार वर्षअघि रुसमा समूह चरणबाटै बाहिरिएको कोरिया २००२ मा चौथो भएको थियो। सन् २०१० मा पनि प्रि–क्वार्टरफाइनलमा पुगेको कोरिया उरुग्वेसँग १–० को नतिजामा पराजित हुँदै बाहिरिएको थियो।

सन् २००२ मा जापान–कोरियामा विश्व विजेता बनेको ब्राजिल २००६ र २०१० मा क्वार्टरफाइनलमा पुगेर बाहिरिएको थियो। घरेलु मैदानमा २०१४ मा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग पराजित भएको ब्राजिल सन् २०१८ मा पनि क्वार्टरफाइनलमा पुगेर बेल्जियमसँग हारेको थियो।

यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। क्रोएसिया सोमबार नै भएको अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै अन्तिम आठमा पुगेको हो।