के पोर्चुगलका गोन्कालो रामोस क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्थापन गर्नसक्लान ?

के  पोर्चुगलका गोन्कालो रामोस क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्थापन गर्नसक्लान ?

दोहा । पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल सुरु हुनुअघि क्रिस्टियानो रोनाल्डो बेन्चमा बसेको चर्चा थियो। तर, खेल सकिँदा सबै चर्चा गोन्कालो रामोसमा केन्द्रित भयो।पोर्चुगल र अन्तर्राष्ट्रिय फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो लक्षित क्यामेरा तैनाथ थिए। समूह चरणको अन्तिम खेलमा सब्स्टिच्युट हुँदा प्रशिक्षक फर्नान्डो सान्तोसप्रति असन्तुष्ट देखिएका रोनाल्डो स्विट्जरल्यान्डविरुद्ध पहिलो रोजाइमा परेनन्।

पोर्चुगलको बेन्च फोटोग्राफरले घेरिएको थियो। रोनाल्डोको आक्रोस र असन्तुष्टि पोखिएको तस्बिर कैद गर्न भेला भएका फोटोग्राफर पोर्चुगिज बेन्चको वरिपरी थिए। रोनाल्डोबाट प्रतिक्रियाको अपेक्षा उनीहरूमा थियो। किनभने उनी सन् २००८ पछि पहिलो पटक मुख्य प्रतियोगितामा बेन्चमा सीमित भएका थिए।

तर, खेल अगाडि बढ्दै जाँदा मैदानमा भएका फोटोग्राफरको मात्रै होइन, विश्वभर प्रत्यक्ष हेरिरहेका दर्शकको ध्यान २१ वर्षीय फरवार्ड गोन्कालो रामोसतर्फ मोडियो। रोनाल्डोको स्थान लिएका रामोसले जारी विश्पकपमा पहिलो ह्यािट्रकसमेत गरे। सबैको ध्यान पनि उनी तिरै मोडियो।

Europass CV in Nepal

विश्वकपमा सम्झिन लायक जित
रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेका प्रशिक्षक सान्तोसले यति उत्कृष्ट परिणामको अपेक्षा पक्कै गरेका थिएनन्। पोर्चुगलले हासिल गरेको ६–१ गोलको जित त छँदै छ, तर पहिलो पटक अपेक्षासहित मैदानमा उतारिएका रामोसले पनि तीन गोल गर्दै करियरकै उत्कृष्ट रात बनाए।

सन् १९६२ मा हंगेरीका फ्लोरियन अल्बर्टपछि विश्वकपमा ह्याट्रिक गर्ने रामोस सबैभन्दा युवा खेलाडी हुन्। बेन्फिाकाका फरवार्ड रामोसले २१ वर्ष एक सय ९१ दिनमा ह्याट्रिक गरेका हुन्। इङ्ल्यान्डका पूर्व खेलाडी ग्यारी लिन्करले विश्वकै उत्कृष्टमध्ये एक खेलाडीलाई प्रतिस्थापन गरेको दबाबमा ह्याट्रिक गरेका रामोसका लागि अविश्वसनीय रात भएको बताए।

व्यावसायिक क्लबमा उच्च लयमा रहेका रामोसले १७औं मिनेटमा पहिलो गोल गरेका थिए। रामोसले गोल गर्नुअघि एक पटक मात्रै बल छोएका थिए। पेनाल्टी एरियाको कठिन कुनामा बल नियन्त्रणमा लिएका रामोसले सशक्त प्रहारसँगै अविस्वसनीय गोल
गरेका थिए।

उनले दोस्रो हाफको सुरुवातमै व्यक्तिगत दोस्रो गोल गरेका थिए। डिएगो डालोटले ६७औं मिनेटमा दिएको क्रसलाई चतुर्याइंपूर्वक गोलमा परिणत गर्दै विश्वकपको पहिलो ह्याट्रिक पूरा गरे। त्यसअघि उनले नै दिएको पासमा राफेल गुरेरोले उत्कृष्ट गोल गरेका थिए। रामोसले ७४औं मिनेटमा सब्स्टिच्युट हुनुअघि सर्वाधिक (६) प्रहार गरेका थिए। तीमध्ये पाँच प्रहार फ्रेममा राख्न सफल भए। उनले स्विट्जरल्यान्डको पेनाल्टी बक्समा ६ पटक बल छुँदा तीन गोल गरे। उनी सब्स्टिच्युट भएसँगै इङ्ल्यान्डका पूर्व गोलरक्षक रोब ग्रिनले मुक्तकण्ठले प्रशंसा गरेका थिए। ‘रामोसको प्रदर्शन सनसनीपूर्ण रह्यो’, उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेका छन्, ‘जारी विश्वकपकै उत्कृष्ट प्रदर्शन थियो। सबै पक्षबाट उत्कृष्ट।’