बेञ्चमा राखेपछि टिम छोडेर कतारबाट फर्किन चाहन्थे रोनाल्डो

बेञ्चमा राखेपछि टिम छोडेर कतारबाट फर्किन चाहन्थे रोनाल्डो

स्विट्जरल्याण्डविरूद्ध सुरुवाती ११ मा आफूलाई समावेश नगराएको रिसमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको टोली छोडेर बाहिरिन चाहेको सनसनीखेज समाचार बेलायती मिडियाहरूले प्रकासित गरेका छन्।

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकरलाई प्रिक्वाटर फाइनलको खेलमा प्रशिक्षक फेर्नान्डो सान्तोसले प्लेइङ–११ बाट बाहिर राखेका थिए। विश्वकप प्रतियोगिता सुरु हुँदै गर्दा म्यानचेस्टरले उनीसँगको सम्झौंता रद्द गरेको थियो।

राम्रो फर्ममा नरहे पनि सान्तोसले समूह चरणको ३ खेलमा उनलाई मौका दिएका थिए। दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेलमा आफूलाई दोस्रो हाफपछि निकाल्ने प्रशिक्षकको निर्णयप्रति रोनाल्डोले असन्तुष्टी जनाएका थिए।

यही कुरालाई लिएर सान्तोस र उनीबीच मतभेद बढेको बताइएको छ। रोनाल्डोको व्यवहारबाट सान्तोस खुसी देखिदैनन्। रोनाल्डो पनि आफूलाई प्लेइङ–११ बाट बाहिर राख्ने प्रशिक्षकको निर्णयबाट खुसी छैनन्।

पोर्चुगलबाट प्रकासित रेकर्ड पत्रिकाको खबरलाई महत्व दिँदै बेलायती अखबारले स्विट्जरल्याण्डविरूद्धको खेलअघि रोनाल्डोले आफ्नो सामान प्याक गरेर निस्किन चाहेको बताएका छन्।

रेकर्ड पत्रिकाका अनुसार रोनाल्डोले बाँकीको खेलमा पनि टिममा आफ्नो स्थान सुरक्षित नभएको अनुभव गरेका छन्।तर, आफ्नै देशको पत्रिकामा प्रकासित समाचारको दावीलाई पोर्चुगिज फुटबल संघले अस्विकार गरेको छ। र उसले भनेको छ, ‘देशको सेवा गर्दै रोनाल्डोले राष्ट्रिय टोलीका लागि हरेक दिन अद्धित्तीय रेकर्ड बनाएका छन्। जसको सम्मान गरिनुपर्छ। यसले राष्ट्रिय टोलीप्रतिको उनको प्रतिबद्धतालाई निर्विवाद रूपमा प्रमाणित गरेको छ।’

स्विट्जरल्याण्डविरूद्धको खेल अगाडि प्रशिक्षक सान्तोसले रोनाल्डोलाई यसको जानकारी दिँदा उनी खुसी थिएनन्। पत्रिकाले भनेको छ– ‘त्यतिबेला रोनाल्डो सान्तोस नजिकै बसेका थिए र उनले आफूलाई प्लेइङ सेटमा नराख्ने निर्णयप्रति असन्तुष्ट रहेको बताए। अझ उनले आफूलाई प्लेइङमा नराख्ने भए आफ्नो सामानसहित कतार छोड्ने धम्की दिए।’

रोनाल्डोको धम्कीका बाबजुद सन्तोस आफ्नो निर्णयमा कायम रहेको र पछि रोनाल्डोले पनि परिस्थिति बुझेको बताइएको छ। ‘रोनाल्डो पहिले रिसमा थिए। पछि होसमा आए र उनले महत्व र आश्वकताले बुझे,’ रिपोर्टमा भनिएको छ।

रोनाल्डोलाई बेञ्चमा राखिएको खेलमा पोर्चुगल ६–१ गोलले विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेको थियो। उनको स्थानमा स्ट्राइकरको भूमिकामा पठाइएका गोन्सालो रामोसले ह्याट्रिक गोल गरेका थिए।