विश्व कीर्तिमानी करियरमा इतिहास रच्नबाट बन्चित भए रोनाल्डो

विश्व कीर्तिमानी करियरमा इतिहास रच्नबाट बन्चित भए रोनाल्डो

काठमाडौं। कतारमा जारी विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएसँगै पाँच पटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो खेलाडी जीवनमा विश्वकप उपाधिविहिन हुने पक्का भएको छ।

३७ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरिनसकेपनि आगामी विश्वकप उनले खेल्ने सम्भावना शुन्यजस्तै छ। शनिबार राति अफ्रिकी टोली मोरक्कोसँग १–० गोलले पराजित भएपछि रोनाल्डो भक्कानिएका थिए। उनी कसैसँग कुरा नगरी ड्रेसिङ रुमतर्फ लागेका थिए।

उनलाई प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफमा मात्र मैदान छिराएका थिए। मैदान छिरेलगत्तै पेपेले उनलाई कप्तानको आर्मब्यान्ड सुम्पिए पनि पोर्चुगलले पहिलो हाफमा १–० ले पछाडि परेको स्थिति उल्टाउन सकेन।

Europass CV in Nepal

लगातार कप्तानलाई बेन्चमा राख्ने सान्तोशको निर्णयले उनीहरुबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको आँकलन गरिएको छ। बेन्चमा सिमित हुन थालेपछि रोनाल्डोले म्यानचेस्टर युनाइटेडबारे आक्रामक अन्र्तवार्ता दिएका थिए।

सोही कारण विश्वकपको पूर्व सन्ध्यामा म्यान युनाइटेड रोनाल्डोसँग सम्झौता तोड्न राजी भएको थियो। विश्वकपको समूहगत चरणका सुरुवाती तीन खेलमा दास्रो हाफमा प्रतिस्थापन भएका रोनाल्डो प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डबिरुद्ध सुरुवाती–११ मा सिमित भएका थिए। सान्तोषले करियरको अन्त्यतिर आइपुगेका रोनाल्डोको सम्मान गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ।

कहिल्यै विश्वकप जित्न नसकेको पोर्चुगल रोनाल्डोको करियरमा सेमिफाइनलसम्म मात्र पुग्यो। सन् २००६ को विश्वकपमा पोर्चुगल अन्तिम चारसम्म पुगेको थियो। सन् २०१० र २०१८ मा प्रिक्वाटरफाइनलसम्म पुगेको थियो भने सन् २०१४ मा समूहगत चरणबाटै बाहिरिएको थियो।
रोनाल्डोले विश्वकप उपाधि जित्न नसकेपनि विश्वकपमा विश्वकीर्तिमान भने बनाउन सफल भए।

उनी लगातार पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी रहेका छन्। जारी विश्वकपमा एक गोल गरेका रोनाल्डोको विश्वकप गोल संख्या ८ रहेको छ। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् जुन कीर्तिमान तोडिन सक्ने सम्भावना अबका केही वर्षमा देखिँदैन। यस्तै युरोपियन च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।

क्लब करियरमा सात सयभन्दा बढी गोल गरेका रोनाल्डाले पोर्चुगलका लागि एक सय १८ गोल गरेका छन्। उनी क्लब र राष्ट्रका लागि समेत जोडेर करियरमा सबैभन्दा बढी गोल गर्ने विश्व कीर्तिमानी खेलाडी हुन्। यीबाहेक उनका नाममा अन्य केही लोभलाग्दा विश्व कीर्तिमानहरु प्नि रहेका छन्।

सर्वकालिन महान् खेलाडीको बहसमा रहने गरेका रोनाल्डो र उनका समकालिन लियोनल मेस्सीबीच को बढी उत्कृष्ट भन्ने विवाद वषौँदेखि चल्दै आएको छ। रोनाल्डोका कतिपय कीर्तिमानलाई उनीभन्दा दुई वर्ष कान्छा मेस्सीले पछ्याइरहेका छन्।

विश्वकप उपाधि जित्न नसकेका मेस्सीको टोली अर्जेन्टिना भने यसपटक सेमिफाइनल पुगिसकेको छ र पहिलोपटक उनी विश्वकप जित्ने सपना पुरा गर्न खोज्दैछन्। यता क्लबसमेत आफुसँग नरहेको अवस्थामा रोनाल्डो निकै संकटमा देखिन्छन्।

Europass CV in Nepal