मुख्य सामग्रीमा जानुहोस्
Thursday, 22 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

नेदरल्यान्ड्सका चार खेलाडीलाई जिस्काउनु अर्जेन्टिनालाई पर्यो भारी

Himali Patrika 1 मिनेट पढाइ

अर्जेन्टिना र नेदरल्यान्ड्बीचको नतिजा पेनाल्टी सुटआउटबाट आयो । अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–२ ले पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल स्थान बनायो । अर्जेन्टिनाबाट निर्णायक पेनाल्टी प्रहार गर्न आएका स्ट्राइकर लौटारो मार्टिनेजलाई नेदरल्यान्ड्सका चार खेलाडीले मानसिक रूपमा दबाब दिएका थिए । नेदरल्यान्ड्सका गोलरक्षक आन्द्रेअस नोपर्टले पनि मार्टिनेजलाई मानसिक रूपमा दबाब दिन खोजेका थिए ।

नेदरल्यान्ड्सका खेलाडीहरूले पेनाल्टी सुटआउटमा मार्टिनेजमाथि ‘माइन्ड गेम’ खेलेका हुन् । यस्तो किसिमको व्यवहार पेनाल्टी प्रहार गर्ने खेलाडीमाथि मानसिक दबाब बढ्न जान्छ । राम्रा खेलाडीले पनि पेनाल्टी मिस गर्न सक्छन् । नेदरल्यान्ड्सको प्रयास पनि मार्टिनेजलाई यस्तै गरेको थियो । सबै किसिमका दबाब छिचोल्दै मार्टिनेजले गोलरक्षक नोपर्टलाई विपरीत दिशामा डाइभ गराउँदै पेनाल्टीमा गोल गरे । उनको गोलसँगै अर्जेन्टिना अन्तिम चारमा पुग्यो ।

मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाका खेलाडी खुसीले रमाए । नेदरल्यान्ड्सका खेलाडी निराश भए । पेनाल्टी सुटआउटपछि अर्जेन्टिनाका रक्षक निकोलास ओटामेन्डीसहित अन्य खेलाडीले नेदरल्यान्ड्सका खेलाडीलाई जिस्क्याउँदै सेलेब्रेसन गरेका थिए । अर्जेन्टिनी खेलाडीले नेदरल्यान्ड्सका खेलाडीलाई जिस्क्याएको भिडियो फुटेज भाइरल बनेको छ ।

लियोनल मेसी कप्तानीमा रहेको अर्जेन्टिनाले खेल भावनाविपरीत जितको खुसी मनाएको भनी आलोचना भइरहेको छ । ओटामेन्डीले नेदरल्यान्ड्स खेलाडीहरूको व्यवहारअनुसारै आफूले प्रतिक्रिया दिएको बताएका छन् । ‘नेदरल्यानड्सका खेलाडीले हरेक पेनाल्टी प्रहार गर्दा हाम्रा एक खेलाडीमा केही भनिरहेका थिए, मैले उनीहरूलाई प्रत्युत्तर दिन नै यस्तो किसिमको खुसी मनाएको हुँ,’ ओटामेन्डीले भने ।

दोहाको लुसेल मैदानमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । जितनजिक पुगेको अर्जेन्टिना अन्तिम समयमा सम्हालिन सकेन । नेदरल्यान्ड्सले खेल सकिन एक मिनेटअघि २–२ को बराबरी गोल फर्कायो । प्रतिस्पर्धामा स्पेनिस रेफ्री म्याथ्यु एन्टोनियोले खेल नियन्त्रणमा राख्न एक रातो कार्डसहित १७ पहेँलो कार्ड देखाएका थिए । रोमाञ्चक र नाटकीय खेलमा मेसीले नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल र सहायक प्रशिक्षक एडगार डभिडसँग केही अपशब्द बोलेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।