काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्।सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ।
फ्रान्सका केलियन एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको नाममा ४ गोल र २ असिस्ट छ।
यस्तै फ्रान्सकै ओलिभर जिरोडले पनि ४ गोल गरेका छन्। सेमिफाइनल पुगेको अर्को टोली मोरक्कोका सर्वाधिक गोल गर्ने खेलाडी रहेका युसेफ एन नेस्रीको नाममा २ गोल रहेको छ। शनिबार भएको खेलमा एमबाप्पेले गोल गर्न नसकेपछि तीन खेलाडीबीच बलियो प्रतिस्पर्धा देखिएको हो। जिरोडले गोल थप्दै एमबाप्पेसँगको अन्तर घटाए। यसअघि मेस्सीले पनि क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेका थिए।
फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको पहिलो खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै मोरक्को सेमिफाइनलमा पुगेको हो भने दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई फ्रान्सले २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो ।
साविक उपविजेता क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल पर्सि राति १२ : ४५ मा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल आगामी बुधवार राति १२ : ४५ मा हुनेछ । सेमिफाइनलमा विजेता बनेका दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । विश्वकप फुटबलको फाइनल खेल डिसेम्बर १८ मा राति ८ : ४५ बजे सुरु हुनेछ ।