दोहा। कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका लागि रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका थिए ।
विश्वकपको यात्रा समाप्तिसँगै १४ खेलाडी आइतबार लिस्बन फर्केको पोर्चुगल फुटबल संघले जनाएको छ । रोनाल्डोलगायत अन्य १० खेलाडी तत्कालै पोर्चुगल नफर्कने संघले जनाएको छ ।तत्कालै घर नफर्केका अन्य १० खेलाडी विभिन्न क्लबमा आबद्ध छन् । तर, रोनाल्डोको हकमा फरक छ । उनी अहिले बेरोजगार छन् ।
गत महिना रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीचको सम्झौता भंग भएको थियो । सम्झौता तोडिएपछि रोनाल्डो स्वतन्त्र छन् । क्लबस्तरीय ड्युटी गर्नुनपर्ने भएकाले रोनाल्डोले केही दिन दोहामै बिताउने एजेन्सीहरूले जनाएका छन् । विश्वकपको समाप्तिसँगै पोर्चुगल नफर्केका अरू १० खेलाडी आ–आफ्नो क्लबमा आबद्ध हुनेछन् ।
अहिले बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेस, डिओगो डालोट, रुवेन नाभेस, रई प्याट्रिसिओ, राफेल गुएरेरियो, राफेल लिआ, जाओ क्यान्सेलो तथा माहेल्स नुनेस कतारमै छन् । रोनाल्डोले आगामी योजना बनाएका छैनन् । केही अरबी क्लबले रोनाल्डोलाई आबद्ध गर्ने समाचार नआएको होइन । तर, रोनाल्डो अरबी मुलुकभन्दा पनि युरोपकै राम्रो क्लबबाट खेल्न चाहन्छन् ।
मोरक्कोसँग स्तब्ध हुँदा पोर्चुगलका कप्तान रोनाल्डो निकै भावुक बने । हारलाई स्वीकार गर्न नसक्दा उनले खेल समाप्तिपछि कसैसँग बोल्न उचित मानेनन् । उनी एक्लै रंगशालाको टर्नलमा हिँडे । ड्रेसिङ रुमतर्फ गइरहँदा रोनाल्डो भक्कानिएर रोएका थिए । रोनाल्डोले आफ्नो राष्ट्र र करिअरकै सबैभन्दा ठूलो सपना र उपाधि दिलाउन नसकेको प्रतिक्रिया दिएका छन् ।
दुवैमा आफू चुकेको र असफलता हात पारेको उनले विश्लेषण गरेका छन् । पोर्चुगल पराजित भएको एक दिनपछि रोनाल्डोले आइतबार सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । मैले करिअरमा धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, पोर्चुगलका लागि विश्वकप जित्ने सबैभन्दा ठूलो सपना थियो,’ रोनाल्डो भन्छन्, ‘सपना पूरा गर्न म धेरैपटक लडेँ, एकपटक नभएर पाँचपटकसम्म लडेको खेलाडी हुँ ।’ रोनाल्डोले राष्ट्रिय टोलीबाट सन्न्यास तत्कालै नलिने बताएका छन् । ‘सबैले सन्न्यासको कुरा गरिरहेका छन्, तर म सन्न्यास लिन्नँ,’ उनले भने ।